नीति अनुसन्धान प्रतिष्ठान र विश्व बैङ्क (नेपाल) का प्रतिनिधिहरूबिच नेपालको सार्वजनिक वित्तबारे अन्तरक्रिया सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठान र विश्व बैङ्कका प्रतिनिधिहरूबिच प्रतिष्ठानको सभाहलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा विश्व बैङ्कले सुरु गर्न लागेको 'नेपालको सार्वजनिक वित्तसम्बन्धी समीक्षा अध्ययन' को रूपरेखा र सम्भावित विषयवस्तुका बारेमा छलफल गरीएको थियो ।

प्रतिष्ठानका सह-अनुसन्धानकर्ता डा. महेश्वर गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको औपचारिक शुभारम्भ प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख एवम् कार्यालय प्रबन्धक श्री लक्ष्मणप्रसाद भट्टराईको स्वागत मन्तव्यबाट भएको थियो । त्यसपश्चात्, विश्व बैङ्कका प्रतिनिधिहरूले समीक्षा अध्ययनको वर्तमान अवस्था र यसमा समेटिने सम्भावित विषयवस्तुहरूको विवरण प्रस्तुत गर्नुभएको थियो ।

विश्व बैङ्कका वरिष्ठ राष्ट्रगत अर्थविद् डा. अब्दुल मिजियावाले बृहत् वित्त अर्थतन्त्र अन्तर्गत समावेश गरिने विषयहरूबारे प्रकाश पार्नुभयो । उहाँले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा वित्त नीतिले कसरी लक्षित उद्देश्य हासिल गर्न मद्दत गर्दछ र यसका मुख्य अवरोधहरू के-कस्ता छन् भन्ने विषयलाई अध्ययनले समेट्ने जानकारी दिनुभयो । यसैगरी, प्रमुख राष्ट्रगत अर्थविद् श्री अरविन्द नायरले नेपालले भोगेका राजस्वसम्बन्धी चुनौतीहरूलाई पनि अध्ययनमा समावेश गरिने बताउनुभयो । प्रस्तुतिकै क्रममा सार्वजनिक क्षेत्र विज्ञ डा. योशिहिरो साइटोले नेपालमा पुँजीगत खर्च किन कम भइरहेको छ र यससँग सम्बन्धित संरचनात्मक चुनौतीहरू के हुन् भन्ने विविध पक्षहरूलाई अध्ययनले समेट्ने जानकारी गराउनुभयो ।

विश्व बैङ्क टोलीको प्रस्तुतिपश्चात्, प्रतिष्ठानका अनुसन्धानकर्ताहरू डा. निरन्जन देवकोटा र डा. प्रदीप पन्थीले आफ्ना सुझावहरू राख्नुभएको थियो । डा. देवकोटाले प्रतिष्ठानले भर्खरै सम्पन्न गरेको र प्रकाशनको अन्तिम चरणमा रहेको 'सार्वजनिक खर्चबारेको अध्ययन' का विषयवस्तु र उक्त अध्ययनले सिफारिस गरेका नीतिगत सुझावहरू साझा गर्नुभयो । त्यस्तै, डा. पन्थीले जलवायु वित्त, विनिमय दरमा हुने उतारचढावका कारण सिर्जित चुनौती, विद्युत् प्रसारण लाइन र ग्रिडको विस्तार, वित्तीय सङ्घीयताका साथै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मानव पुँजी विकासमा गरिने सार्वजनिक लगानीको प्रतिफलबारे विविध विषयगत सुझावहरू समावेश गर्न आग्रह गर्नुभयो ।

प्रस्तुतिपश्चात् अन्तरक्रिया तथा खुला छलफल सत्र सञ्चालन भएको थियो, जहाँ प्रतिष्ठानका अन्य अनुसन्धानकर्ताहरूले थप सुझाव तथा जिज्ञासाहरू राख्नुभएको थियो । प्रश्नोत्तर सत्रमा उठेका जिज्ञासाहरूको सम्बोधन गर्ने क्रममा विश्व बैङ्कका श्री अरविन्द नायरले अध्ययनको लक्ष्य र सीमाबारे थप प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा विश्व बैङ्कको तर्फबाट अर्थविद् प्रवीन डङ्गोल र प्रतिष्ठानको तर्फबाट अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सहभागीहरू

विश्व बैङ्कको तर्फबाट

१. डा.अरविन्द नायर (प्रमुख राष्ट्रगत अर्थविद्, नेपाल र श्रीलङ्का)
२. डा. अब्दुल मिजियावा (वरिष्ठ राष्ट्रगत अर्थविद्)
३. डा. नयनकृष्ण जोशी (वरिष्ठ राष्ट्रगत अर्थविद्)
४. डा. योशिहिरो साइतो (सार्वजनिक क्षेत्र विज्ञ)
५. ओजश्वी पाण्डे (सार्वजनिक क्षेत्र विज्ञ)
६. प्रवीन डङ्गोल (अर्थविद्)

नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट

१. लक्ष्मणप्रसाद भट्टराई (निमित्त कार्यालय प्रमुख)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
५. डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
६. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
७. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
८. डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता)
९. डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
१०. गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
११. प्राञ्जल रिजाल (विश्लेषक)
१२. सोनिया बस्याल (विश्लेषक)
१३. सुधीर श्रेष्ठ (विश्लेषक)
१४. देजिना थापा (विश्लेषक)
१५. सीता गैरे (लेखा अधिकृत)
१६. मणिस चन्द्र राई (वरिष्ठ सहायक)
१७. गीता न्यौपाने (वरिष्ठ सहायक)
१८. सुसन तामाङ (प्रशिक्षार्थी)
१९. सृष्टिका न्यौपाने (प्रशिक्षार्थी)
२०. सुलक्षा भण्डारी (प्रशिक्षार्थी)
२१. राजु अधिकारी (प्रशिक्षार्थी)