एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा प्रणालीको विकास सम्बन्धमा सार्वजनिक नीति संवाद सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठानले २०८३ जेठ ८ गते सामाजिक सुरक्षा प्रणालीको एकीकरण सम्बन्धमा प्रतिष्ठानले गर्दै आएको अध्ययनको प्रारम्भिक मस्यौदा प्रतिवेदनका निष्कर्ष र सिफारिसहरूलाई प्रमाणीकरण गर्ने उद्देश्यले एक नीति संवाद कार्यक्रम आयोजना गर्‍यो । उक्त नीति संवादमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका नेपाल सरकारका सङ्घीय मन्त्रालय र निकायहरू, नेपाल स्थित विकास साझेदारहरू, विषय-विज्ञहरूसहित अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरीराज शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सुरुआतमा प्रतिष्ठानका निमित्त प्रमुख तथा कार्यालय प्रबन्धक लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो भने प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा अनुसन्धान विभागका प्रमुख डा. दीपक कुमार खड्काले अनुसन्धान प्रतिवेदनको मुख्य विषयवस्तुमा केन्द्रित भई  प्रस्तुतीकरण दिनुभएको थियो । डा. खड्काले आफ्नो प्रस्तुतिमा नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको पृष्ठभूमि र विकासक्रम, एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० को समीक्षा, अन्तर्राष्ट्रिय सफल नमुनाहरू, सुधारका क्षेत्र र मार्गचित्र तथा आगामी दिनका लागि आवश्यक पूर्वाधार र जनशक्तिजस्ता पक्षहरूलाई समेट्दै थप छलफलको लागि पृष्ठभूमि प्रदान गर्नुभएको थियो ।

विषय विज्ञ र सरोकारवालाहरूले नेपालमा सामाजिक सुरक्षा प्रणालीको एकीकरण केवल प्रशासनिक सुधार मात्र नभई सामाजिक न्याय, समावेशी विकास, वित्तीय दिगोपन, सुशासन र नागरिकको जीवन सुरक्षासँग प्रत्यक्ष सम्बन्धित संरचनात्मक सुधार समेत भएकाले सोही अनुसार नीति तय गरिनुपर्नेमा जोड दिनुभयो । एकीकृत प्रणालीमार्फत राज्यले कोही पनि नागरिक सामाजिक संरक्षणबाट वञ्चित नहोस् भन्ने जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र लोककल्याणकारी राज्यको मूल उद्देश्यलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्नेमा अधिकांश सहभागीहरूले धारणा राखेका थिए ।

हाल नेपालमा विभिन्न ११ सङ्घीय मन्त्रालयहरू तथा अन्तर्गतका निकायहरूबाट चार प्रकारका सामाजिक सुरक्षा प्रणाली अन्तर्गतका ८७ कार्यक्रमहरू छरपस्ट रूपमा सञ्चालन भइरहेको अवस्थाले सुविधाको दोहोरोपन, असमानता, पारदर्शिताको कमी र स्रोतको अप्रभावकारी उपयोगजस्ता समस्या सिर्जना गरेको हुँदा एकीकृत सामाजिक सुरक्षा प्रणालीको आवश्यकता भएकोमा कार्यक्रममा सहभागीहरू सहमत थिए । यद्यपि, एकीकरणका लागि नीतिगत, प्राविधिक र व्यावहारिक पक्षमा बढी ध्यान दिनुपर्नेमा प्रायः सबैको जोड रहेको थियो । यसबाट सामाजिक सुरक्षा प्रणालीको एकीकरणको पछाडि नीतिगत, प्रशासनिक, आर्थिक, सामाजिक तथा प्राविधिक कारणहरू विद्यमान रहेको देखिएको छ ।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण उपस्थित अतिथिहरूलाई महत्त्वपूर्ण राय सुझावका लागि आभारसहित धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरीराज शर्माले आफ्नो सङ्क्षिप्त समापन मन्तव्य राख्नुभएको थियो ।

विषय विज्ञ तथा सरोकारवालाहरू

१. डा. रोशन कोजु, निर्देशक, सामाजिक सुरक्षा कोष
२. श्री रोहित रेग्मी, निर्देशक, सामाजिक सुरक्षा कोष
३. श्री सरिता पाण्डे, उपनिर्देशक, सामाजिक सुरक्षा कोष
४. श्री शोभा श्रेष्ठ सुबेदी, निमित्त महानिर्देशक, नागरिक लगानी कोष
५. श्री उमेश पनेरु, उपनिर्देशक,  नागरिक लगानी कोष
६. डा. दिलिपराज पौडेल, वरिष्ठ प्रबन्धक, कर्मचारी सञ्चय कोष
७. श्री वीरेन्द्र पौडेल, मुख्य प्रबन्धक, कर्मचारी सञ्चय कोष
८. श्री ध्रुव प्रसाद तिवारी, वरिष्ठ प्रबन्धक, कर्मचारी सञ्चय कोष
९. श्री गुरु प्रसाद पौडेल,  प्रवक्ता,  नेपाल राष्ट्र बैङ्क
१०. श्री शङ्कर हरि आचार्य, सचिव, राष्ट्रिय महिला आयोग
११. श्री उमाकान्त अधिकारी, उपसचिव, गृह मन्त्रालय
१२. श्री प्रेम कुमारी शर्मा, शाखा अधिकृत, शिक्षा तथा खेलकुद मन्त्रालय
१३. श्री ईश्वरी प्रसाद आचार्य, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला
१४. श्री श्याम सुन्दर यादव, उपसचिव, कृषि मन्त्रालय
१५. श्री लोकराज शर्मा, सूचना प्रविधि निर्देशक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
१६. श्री जुनु खड्का, शाखा अधिकृत, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
१७. श्री विकेश मल्ल, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य बीमा बोर्ड
१८. श्री तारा कुमारी कणेल,  राष्ट्रिय कार्यक्रम संयोजक, अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपाल
१९. श्री ज्योति पाण्डे, वरिष्ठ सामाजिक सुरक्षा विज्ञ,  विश्व बैङ्क नेपाल

नीति अनुसन्धान प्रतिष्ठान

१. लक्ष्मण प्रसाद भट्टराई, निमित्त कार्यालय प्रमुख / कार्यालय प्रबन्धक
२. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
३. डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. कल्पना खनाल, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
६. डा. गिरिराज शर्मा, अनुसन्धानकर्ता
७. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
८. डा. निरञ्जन देवकोटा, अनुसन्धानकर्ता
९. अशोक पाण्डे, अनुसन्धानकर्ता
१०. डा. महेश्वर गिरी, अनुसन्धानकर्ता
११. गोपाल आचार्य, सहअनुसन्धानकर्ता
१२. सुधीर श्रेष्ठ, विश्लेषक
१३. सोनिया बस्याल, विश्लेषक
१४. मनिष चन्द्र राई, वरिष्ठ सहायक
१५. कुसुम ढुङ्गाना, इन्टर्न
१६. सुलक्षा भण्डारी, इन्टर्न
१७. सृष्टिका न्यौपाने, इन्टर्न
१८. राजु अधिकारी, इन्टर्न

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।