नेपालमा विद्युतीय सवारी साधनका अवसर र चुनौतीहरू विषयक प्रस्तुति

नेपालमा विद्युतीय सवारी साधनका अवसर र चुनौतीहरू विषयक प्रस्तुति

नीति अनुसन्धान प्रतिष्ठानले २०८२ चैत २३ गते (सोमबार) नारायणहिटी, काठमाडौँस्थित प्रतिष्ठानको बोर्ड हलमा “नेपालमा ईभी (EV) का अवसर र चुनौतीहरू” विषयक प्रस्तुतीकरण आयोजना गर्‍यो। उक्त प्रस्तुतीकरण प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्रले गर्दै आएको “नेपालमा विद्युतीय सवारी साधनको नीतिगत वातावरण, अवसर र कार्यान्वयनका चुनौतीहरू” सँग सम्बन्धित अनुसन्धानको अंशको रूपमा अटोमोबाइल सेवा व्यवस्थापन र विद्युतीय सवारी प्रणालीमा २० वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुभएका अटोमोबाइल तथा ईभी विज्ञ ई. प्रेमलाल तामाङले दिनुभएको थियो ।

प्रतिष्ठानका सहअनुसन्धानकर्ता डा. महेश्वर गिरीले सहभागी र अतिथि वक्तालाई स्वागत गर्दै हाल भइरहेको अध्ययनको उद्देश्यबारे संक्षिप्त जानकारी दिनुभयो । ई. प्रेमलाल तामाङले विद्युतीय सवारी  प्रणाली तथा अटोमोबाइल प्रविधिमा दक्षता प्रयोग गर्दै नेपाल जीवाश्म इन्धनमा आधारित यातायात प्रणालीबाट विद्युतीय गतिशीलतातर्फ रूपान्तरण गर्नुपर्ने महत्त्वपूर्ण चरणमा रहेको विषयमा विस्तृत प्रस्तुति दिनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रयोग विस्तारले पेट्रोलियम पदार्थको आयात घटाउन, समष्टिगत आर्थिक स्थायित्व सुदृढ गर्न तथा वातावरणीय दिगोपनामा योगदान पुर्‍याउन सक्ने कुरामा जोड दिनुभयो । उहाँले हालका वित्तीय तथा गैरवित्तीय प्रोत्साहनहरूले प्रारम्भिक विस्तारमा सहयोग गरेको भए तापनि यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउन स्पष्ट, सुसङ्गत तथा दीर्घकालीन नीतिगत ढाँचा आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रस्तुतीकरणमा उहाँले चार्जिङ पूर्वाधार, सुरक्षा मापदण्ड र जोखिम व्यवस्थापनमा रहेका प्रमुख नीतिगत तथा नियामक रिक्तताहरूलाई औंल्याउनुभयो । उहाँले चार्जिङ स्टेसनहरूको बढ्दो सङ्ख्याका बाबजुद पनि विस्तृत निर्देशिका, सुरक्षा प्रोटोकल र मानकीकृत प्रक्रियाहरूको अभाव एक मुख्य चिन्ताको विषय बनेको अवस्था रहेको  जसमा कमजोर कार्यान्वयन र छरिएका संस्थागत जिम्मेवारीहरूले थप जटिलता थपेका विषय चर्चा गर्नुभयो । न्यूनतम प्राविधिक मापदण्ड र प्रमाणीकरण संयन्त्रको आवश्यकताका साथै विशेष गरी बिक्रीपछिको सेवा (after-sales services), उत्पादनको गुणस्तर र उपभोक्ता संरक्षणमा बजार नियमनलाई सुदृढ बनाउनुपर्ने कुरामा प्रस्तुतीकरणमा जोड दिइएको थियो । पर्यावरणीय मुद्दाहरू, विशेष गरी ब्याट्री विसर्जन र पुन:प्रयोगलाई पनि उल्लेख गर्दै स्पष्ट नियामक ढाँचाको आवश्यकतामा प्रस्तुतीकरणको जोड रहेको थियो । प्रस्तुतीकरण नेपालमा विद्युतीय सवारी साधन अपनाउनलाई अगाडि बढाउने नीतिगत प्राथमिकता र रणनीतिहरूका बारेमा अन्तरक्रियात्मक छलफलका साथ समापन भएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा केन्द्र प्रमुख डा. कल्पना खनालले प्रस्तुतीकरणका मुख्य निष्कर्षहरूलाई संक्षेपमा प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत निष्कर्षहरू प्रतिष्ठानको चालु अनुसन्धान र नीतिगत पैरवीका लागि अत्यन्त सान्दर्भिक रहेको कुरामा जोड दिनुभयो । समग्रमा, उक्त प्रस्तुतीकरणले महत्त्वपूर्ण तथ्य र नवीन दृष्टिकोणहरू उजागर गर्दै नीति अनुसन्धान प्रतिष्ठानको हाल भइरहेको अध्ययनलाई थप परिष्कृत बनाउनुका साथै नेपालमा दिगो र प्रभावकारी विद्युतीय गतिशीलता (electric mobility) सुनिश्चित गर्न प्रमाणमा आधारित नीतिगत सुझावहरू निर्माणमा ठोस सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सहभागीहरू

१. इ. प्रेमलाल तामाङ, EV विशेषज्ञ
२. अनिता भण्डारी, ग्लोबल ओएसिस इन्जिनियरिङ कन्सल्टेन्सी

नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट सहभागीहरू

१. लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
२. डा. कल्पना खनाल, वरिष्ठ अनुसन्धानकर्ता
३. डा. प्रदीप पन्थी, अनुसन्धानकर्ता
४. डा. महेश्वर गिरी, सहअनुसन्धानकर्ता
५. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
६. डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
७. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
८. रीजा मानन्धर, सहअनुसन्धानकर्ता
९. सतीश सापकोटा, पूर्व इन्टर्न
१०. सन्दु सुबेदी, इन्टर्न
११. सुलक्षा भण्डारी, इन्टर्न

यस कार्यक्रमको फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नु होला।