नीति अनुसन्धान प्रतिष्ठान र नेपाली एकेडेमिक्स इन अमेरिका (NACA) को सहकार्यमा “नीति प्रवर्द्धनका लागि गुणात्मक अनुसन्धान पद्धति तथा तथ्याङ्क विश्लेषण: कथाको महत्त्व” शीर्षकमा एक अन्तरक्रियात्मक कार्यशाला आयोजना गरियो।
कार्यशालाको सहजीकरण ओहायो स्टेट विश्वविद्यालयको सोसियल वर्क कलेजका सह-प्राध्यापक तथा नेपाली एकेडेमिक्स इन अमेरिकाका महासचिव डा. आरती मलेकुले गर्नुभएको थियो। विषयवस्तुको समृद्ध र सान्दर्भिक तवरले विश्लेषण गरी नीति निर्णयहरूमा प्रभाव पार्न र परिवर्तनलाई उत्प्रेरित गर्नका लागि गुणात्मक अनुसन्धानले पुर्याउन सक्ने योगदानको बारेमा छलफल गरी जानकारी प्रदान गर्नु यस कार्यशालाको मुख्य उद्देश्य रहेको थियो।
परिचय दिने क्रममा सहभागीहरूले गुणात्मक अनुसन्धान पद्धतिहरू अपनाउँदा अनुसन्धानकर्ताहरूको वैयक्तिक स्थिति, अनुभव र विचारहरूले पार्न सक्ने प्रभाव र प्राप्त नतिजाहरूको प्रमाणिकता सम्बन्धी आफ्ना प्रश्नहरू प्रस्तुत गर्नुभयो । डा. मलेकुले गुणात्मक तथ्याङ्क सङ्ख्याहरूभन्दा विस्तृत हुने र यसमा भावना मिसिएको हुने तर्क राख्दै सत्रको सुरुवात गर्नुभएको थियो । उद्देश्य, परिभाषा, नमुना विधि, तथ्याङ्कको प्रकृति र अनुसन्धानकर्ताको भूमिकाका आधारमा गुणात्मक र गणनात्मक अनुसन्धान बिचका भिन्नताहरूलाई स्पष्ट पारिएको थियो।
व्यक्तिका भोगाइ र अनुभवहरू समेट्न, पैरवीका लागि बलियो आधार निर्माण गर्न, र सहभागितामूलक दृष्टिकोणलाई समर्थन गर्न मद्दत पुर्याउँदै नीति अनुसन्धानमा गुणात्मक विधिहरूले कस्तो भूमिका खेल्छ भन्ने बारेमा महत्त्वपूर्ण छलफल भयो । कार्यशालामा निम्नलिखित शीर्षकहरू अन्तर्गत गुणात्मक अनुसन्धानका विभिन्न पक्षहरूलाई केलाउने प्रयास गरिएको थियो:
-गुणात्मक अनुसन्धान पद्धतिहरूको सङ्क्षिप्त जानकारी
-गुणात्मक अनुसन्धान विधि र प्रक्रिया
-अनुसन्धान नैतिकता
-गुणात्मक तथ्याङ्क विश्लेषण
-नीति अभ्यासमा गुणात्मक अनुसन्धानको प्रयोग: केस अध्ययन र उदाहरणहरू
डा. मलेकुले नृविज्ञान अनुसन्धान, प्रदत्त आधारित (grounded theory) अनुसन्धान, घटना क्रिया विज्ञान (phenomenological) अनुसन्धान, कार्यमूलक अनुसन्धान, कथात्मक अनुसन्धान र केस अध्ययन लगायत विभिन्न गुणात्मक पद्धतिहरू तथा नीति अनुसन्धानमा तिनको प्रयोगको बारेमा वर्णन गर्नुभयो। उहाँले विषयगत विश्लेषण (thematic analysis) को प्रारूप प्रस्तुत गर्दै गुणात्मक तथ्याङ्क विश्लेषण प्रक्रिया (ओपन कोडिंग, एक्सियल कोडिंग, सेलेक्टिभ कोडिंग र मेमो लेखन) को बारेमा चर्चा पनि गर्नुभयो । सार्वजनिक नीति संवादजस्ता कार्यक्रमबाट प्राप्त गुणात्मक तथ्याङ्कको प्रणालीबद्ध विश्लेषणको लागि कन्सेन्सस म्यापिङ, नीति कथनहरूको व्याख्या र व्यवहारउपयोगी नीति सङ्क्षेपको विकासजस्ता पद्धतिहरूको सिफारिस गरिएको थियो।
गुणात्मक अनुसन्धान पद्धतिहरूमा अनुभवजन्य सीप विकास गर्नको लागि कोडिङ अभ्यास गरेपश्चात् अनुसन्धान पद्धतिहरूको चयन, गुणात्मक अनुसन्धानमा दृढ समर्पणको आवश्यकता र अनुसन्धानकर्ताहरूले सामना गर्ने व्यावहारिक चुनौतीहरू बारे खुला छलफल गरियो।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू र अनुसन्धान फेलोहरूको उपस्थिति रहेको थियो। सबै सहभागीहरूले डा. मालेकुको अन्तर्दृष्टिपूर्ण प्रस्तुति र धेरै रोचक अभ्यास र अन्तरक्रियाको प्रशंसा गरे।
सहभागीहरू
१. डा. आरती मलेकु (सहप्रध्यापक, ओहायो स्टेट युनिभर्सिटी कलेज अफ सोसल वर्क)
२. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
३. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
४. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
९. डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
१०. डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता)
११. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
१२. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
१३. डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
१४. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१५. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१६. डा. प्रभात राज दाहाल (सहअनुसन्धानकर्ता)
१७. रिजा मानन्धर (विश्लेषक)
१८. सोनिया बस्याल (विश्लेषक)
१९. विमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
२०. कृष्ण प्रसाद बि.क. (सह-प्रबन्धक/शाखा अधिकृत)
२१. सञ्जु कुमारी सरवरिया (वरिष्ठ सहायक)
२२. किरण बिक (विद्यार्थी, काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्टस्)
२३. आयुष्का के.सी.(इन्टर्न)
२४. आशिष भण्डारी (इन्टर्न)
२५. कुमारी अलिका (इन्टर्न)
२६. जुना श्रेष्ठ (इन्टर्न)
२७. धिरज भट्ट (इन्टर्न)
२८. बलिहाङ लिम्बु (इन्टर्न)
२९. विजय कोइराला (इन्टर्न)
३०. स्नेही रिजाल (इन्टर्न)
३१. सतिस सापकोटा (इन्टर्न)