प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

‘नेपालको अन्तर्राष्ट्रिय नीतिका अन्तर्वस्तुहरू’ सम्बन्धी प्रवचन

‘नेपालको अन्तर्राष्ट्रिय नीतिका अन्तर्वस्तुहरू’ सम्बन्धी प्रवचन

बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक तथा प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला अध्ययन केन्द्रका वरिष्ठ विधागत विज्ञ समूहका सल्लाहकार डा. सूर्य प्रसाद सुवेदी नेपालमा रहनु भएको अवसरमा नेपालको परराष्ट्र नीतिलाई अझ उन्नत र प्रभावकारी बनाउन के गर्नु पर्ला भन्ने जिज्ञासाको वरिपरि रही नीति अनुसन्धान प्रतिष्ठानले  एक प्रवचन कार्यक्रमको आयोजना गर्‍यो । प्रवचनमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णु राज उप्रेतीको अध्यक्षता र सहजीकरणमा आयोजित प्रवचनमा प्रा. डा. सुवेदीले आफ्नो विशिष्ट अवस्थिति (भूराजनीतिक अवस्थिति) र विशेषज्ञताको समेतलाई ख्याल गरी विश्वलाई नेपालले दिन सक्ने खास वस्तु/योगदान (युनिक सेलिङ्ग  पोइन्ट) के हुन सक्छ त्यसको निर्क्योल र निर्धारण गरी त्यसैको आधारमा परराष्ट्र नीति बनाइनु र सोहीअनुसार सञ्चालन गरिनु उपयुक्त हुने बताउनु भयो l तुलनात्मक रूपमा सानो र अल्पविकसित राष्ट्र भएकोले अन्तर्राष्ट्रिय क्षेत्रमा खासै केही गर्न नसक्ने मानसिकता (स्मल स्टेट सिनड्रोम) त्यागी नेपालले अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व लिन सक्ने क्षेत्र पहिचान गरी सोहीअनुसारको दक्षता र विशेषज्ञता विकास गर्नु अपरिहार्य रहेकोमा उहाँको जोड थियो l

डा.सुवेदीका अनुसार नेपालले आफ्नो युनिक सेलिङ्ग पोइन्टहरू निर्माण गर्न सक्ने दुई वटा क्षेत्रहरू छन् l ती मध्ये एक हो ‘क्षेत्रीय शान्ति अध्ययन केन्द्र’ को स्थापना र सञ्चालन l र, अर्को ‘स्थायी तटस्थता’ को नीतिको दृढ अनुसरण l क्षेत्रीय शान्ति अध्ययन केन्द्रले हिन्दु कुश क्षेत्रमा शान्ति प्रवर्द्धन गर्ने थिङ्क ट्याङ्कहरूको समूहको निर्माण गरी नेपाललाई शान्ति मध्यस्थकर्ता र शान्ति दूतको रूपमा चिनाउन सक्ने उहाँको मत थियो l यसका लागि नेपालले सानो, गरिब र दुई ढुङ्गा बिचको तरुल (पराश्रित) भएको मानसिकताबाट बाहिर निस्कन हिम्मत गर्नु पर्छ र नेपाली जनता र हिन्दु कुश हिमालय क्षेत्रका जनताको हितका लागि स्विजरल्याण्डले जस्तै स्थायी तटस्थताको नीति अपनाई दृढतापूर्वक उभिनु पर्छ, उहाँले जोड दिनु भयो l

प्रवचनपश्चात् प्रतिष्ठानका अनुसन्धानकर्ता र प्राध्यापक सुवेदीबिच नेपालको अन्तर्राष्ट्रिय कूटनीतिका विविध आयाम र विषयमा अन्तरक्रिया भएको थियो ।