पोखरा विश्वविद्यालयका जनस्वास्थ्य स्नातकोत्तर विद्यार्थीहरूको नीति अनुसन्धान प्रतिष्ठान भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
साउन २५, २०८३
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेसज (School of Health and Allied Science) पोखरा, कास्कीमा सञ्चालित स्नातकोत्तर तहको जनस्वास्थ्य शिक्षा कार्यक्रम तेस्रो सेमेस्टरमा अध्ययनरत २० जना विद्यार्थी र प्राध्यापकहरूको टोलीले पाठ्यक्रममा आधारित अवलोकन तथा अन्तरक्रियाका लागि नीति अनुसन्धान प्रतिष्ठानको भ्रमण सम्पन्न गर्यो ।
भ्रमणका क्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण प्रसाद भट्टराईले विद्यार्थी तथा प्राध्यापकहरूको टोलीलाई स्वागत गर्दै जनस्वास्थ्यको महत्त्वबारे आफ्ना धारणा राख्नुभयो । उहाँले जनस्वास्थ्यको मुख्य उद्देश्य रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने वातावरण र स्वास्थ्य प्रणालीको विकास गर्नु रहेको बताउनुभयो । नेपालजस्तो देशमा उपचारात्मक सेवासँगै रोगको रोकथाम, स्वास्थ्य प्रवर्धन र जनस्वास्थ्य प्रणालीको सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजालले नीति अनुसन्धान प्रतिष्ठानको स्थापना, संरचना, कार्यक्षेत्र र भूमिकाबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले प्रतिष्ठानको कानुनी आधार, नेपालको संविधान अनुसारका मौलिक हक तथा राज्यका नीतिहरू, राष्ट्रिय नीति निर्माण प्रक्रिया, नीति अनुसन्धान तथा विश्लेषणका प्रक्रियाका विषयमा जानकारी गराउनुभयो । प्रस्तुतीकरणका क्रममा प्रतिष्ठानका विभिन्न अनुसन्धान तथा नीति कार्य, नीति अनुसन्धान निर्देशिका, अनुसन्धान उपलब्धिहरू, नीति अनुसन्धान शृङ्खला, नेपाल सरकारबाट प्राप्त नीति मस्यौदामा गरिने पृष्ठपोषण तथा सार्वजनिक नीति निर्माण चक्रबारे पनि जानकारी दिइएको थियो । साथै, प्रमाणमा आधारित नीति निर्माणमा नीति अनुसन्धान प्रतिष्ठानको भूमिकाबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
प्रस्तुतीकरणपछि भएको अन्तरक्रियामा प्रतिष्ठानको संरचना, कार्यक्षेत्र र भूमिका, नेपालमा प्रमाणमा आधारित नीति निर्माणको अवस्था तथा नीति विश्लेषण र अनुसन्धानका विभिन्न पक्षबारे छलफल भयो । विद्यार्थीहरूले प्रमाणमा आधारित नीति कसरी निर्माण हुन्छ, नेपालमा नीति निर्माण तथा कार्यान्वयनको प्रक्रिया कस्तो छ र अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीति निर्माणमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीहरूले नीति अनुसन्धान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगका लागि गरेको अध्ययन लगायतका विभिन्न अनुसन्धान कार्यबारे पनि चासो राख्दै प्रश्न गरेका थिए । अन्तरक्रियाका क्रममा जनस्वास्थ्य र नीति निर्माणबिचको सम्बन्ध तथा जनस्वास्थ्यका विभिन्न विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका अनुसन्धानकर्ता अशोक पाण्डेले गर्नुभएको थियो । उहाँले विद्यार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया गर्दै उनीहरूका जिज्ञासा र सिकाइलाई नीति अनुसन्धान तथा जनस्वास्थ्यका विभिन्न पक्षसँग जोडेर छलफल गर्नुभएको थियो । पोखरा विश्वविद्यालयका सहप्राध्यापकहरूले यस्ता भ्रमण तथा अन्तरक्रियाले विद्यार्थीलाई कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा बुझ्न सहयोग पुर्याउने बताउनुभयो । उहाँहरूले शैक्षिक संस्था, विद्यार्थी र नीति अनुसन्धान प्रतिष्ठानबिच ज्ञान, अनुभव तथा सिकाइ आदान-प्रदानले प्रमाणमा आधारित नीति निर्माणको अभ्यासलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उपस्थिति
नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट
लक्ष्मण प्रसाद भट्टराई (कार्यकारी निर्देशक)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता )
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
मणिश चन्द्र राई (वरिष्ठ सहायक)
सुसन तामाङ (इन्टर्न)
पोखरा विश्वविद्यालयको तर्फबाट
डमरु प्रसाद पनेरु (सह-प्राध्यापक)
चिरन्जीवी अधिकारी (उप-प्राध्यापक)
सदिक्षा भट्टराई (विद्यार्थी)
लक्ष्मी बिस्ट (विद्यार्थी)
सङ्गीता पराजुली (विद्यार्थी)
सोनिया पराजुली (विद्यार्थी)
लक्की देवकोटा (विद्यार्थी)
रितेश यादव (विद्यार्थी)
प्रवेश पौडेल (विद्यार्थी)
सुनिल सम्राट खनाल (विद्यार्थी)
सुशील पौडेल (विद्यार्थी)
देव चन्द्र थापा (विद्यार्थी)
नमुना सुबेदी (विद्यार्थी)
सम्झना पौडेल (विद्यार्थी)
अर्चना साह (विद्यार्थी)
रेबिका सापकोटा (विद्यार्थी)
ज्योति कुइँकेल (विद्यार्थी)
सुनिल देवकोटा (विद्यार्थी)