राष्ट्रिय हवाई नीतिको मस्यौदा, २०८३ मा पृष्ठपोषणका लागि सरोकारवालाहरूसँग नीति संवाद सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार पारिएको राष्ट्रिय हवाई नीतिको मस्यौदा, २०८३ मा राय तथा सुझावका लागि एक सार्वजनिक नीति संवाद कार्यक्रम आयोजना गर्‍यो । प्रतिष्ठानका सहअनुसन्धानकर्ता गोपाल आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विषयसँग सम्बन्धित सरकारी कार्यालयका नीतिगत तहमा काम गर्ने कर्मचारीहरू, अनुसन्धानकर्ता, विषय विज्ञहरू, तथा वायुयान कम्पनीका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मण प्रसाद भट्टराईले नीति मस्यौदामा पृष्ठपोषण प्रदान गर्दा प्रतिष्ठानले अपनाउने विधिमाथि प्रकाश पार्नुभयो । प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा अनुसन्धान विभागका प्रमुख डा. दीपक कुमार खड्काले नीतिको सन्दर्भबारे प्रस्तुतीकरण गर्ने क्रममा नीति निर्माण प्रक्रियामा नीति चक्र र पृष्ठभूमिपत्रको अपरिहार्यतासम्बन्धी सङ्क्षिप्त जानकारी प्रदान गर्नुभयो । डा. खड्काले राष्ट्रिय हवाई नीति २०८३ (मस्यौदा) का अन्तर्वस्तु (परिचय, नीति संरचना, नीति कार्यान्वयनसम्बन्धी प्रावधान), नीति विश्लेषणतर्फ अपनाइने विधि (अन्तरसम्बन्धित नीतिगत दस्ताबेजको समीक्षा, मिडिया विश्लेषण, अन्य देशमा भएका प्रयासहरू), उपयोग गरिने सूचना/जानकारीका स्रोत, क्रियाकलापको कार्यान्वयनयोग्यता आकलन फ्रेमवर्क आदि बारे उल्लेख गर्नुभयो ।

सहभागीहरूले विशेष गरी कर तथा भन्सार महसुल छुट, निजी क्षेत्रको सहभागिता, विदेशी लगानी खुला गर्ने, हवाई उद्योगको परिकल्पना गर्दा जोडिएर आउने कार्यान्वयनको पक्ष, पर्यटन तथा अन्तर्राष्ट्रिय व्यापारमा उड्डयन क्षेत्रसँगको सहकार्य आदिजस्ता नीतिगत प्रावधानमा टिप्पणी गर्नुभएको थियो । विमानस्थल र वायुयानको लाभप्रदता; पूर्वाधारको क्षमताको तुलनामा उपभोग दर तथा प्रवृत्ति; जनशक्ति, सेवा प्रवाह र पूर्वाधारको अडिट; द्विपक्षीय सम्झौतामा पारस्परिकताको सुनिश्चितता लगायतका विषयमा वायुयान कम्पनी तथा सेवा प्रदायकहरूले विभिन्न धारणा प्रस्तुत गर्नुभएको थियो ।

समयको माग अनुसार उदारवाद र स्वस्थ प्रतिस्पर्धालाई पूर्णतया अवलम्बन गर्दै आधुनिक प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने नीति लिनुपर्नेमा सहभागीहरूको विशेष जोड रहेको थियो । केही विषयवस्तुहरू, जस्तै: अन्तर्राष्ट्रिय मापदण्ड, पूर्वाधार, भरपर्दो संयन्त्र, सुरक्षा कार्यक्रम आदिको बुझाइमा एकरूपता र स्पष्टता ल्याउन नीतिलाई थप विशिष्ट बनाउनुपर्ने उहाँहरूको तर्क रहेको थियो । अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूले नीति निर्माणको प्रक्रियामा विभिन्न चरणमा गहन अध्ययन, छलफल तथा परामर्श भएको विषयलाई बोध गर्दै प्राप्त सुझावहरूको थप समालोचना गरिनुपर्ने र अन्तरनीति तथा अन्तरमन्त्रालय समन्वयको पक्षमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट प्रतिनिधि गर्ने सहभागीहरूले नीति संवाद लगायत अध्ययन स्रोतहरूबाट नीति अनुसन्धान प्रतिष्ठानले तयार गर्ने पृष्ठपोषण प्रतिवेदनको आधारमा नीतिलाई अन्तिम रूप दिने आश्वासन व्यक्त गर्नुभएको थियो । नीति अनुसन्धान प्रतिष्ठानले प्रमाणमा-आधारित नीति निर्माणको अवधारणा अबलम्वन गर्दै हवाई नीति सान्दर्भिक प्रमाणहरू र नीति प्रक्रियाहरूको दस्तावेजीकरण गरिने “पृष्ठभूमि पत्र” र राष्ट्रिय हवाई नीतिको मस्यौदा, २०८३ को थप परिमार्जनको लागि सिफारिसहरूसहितको पृष्ठपोषण प्रतिवेदन तयार गर्ने योजना बनाएको छ।

आमन्त्रित सहभागीहरू

१. सागर पोखरेल, शाखा अधिकृत, (अर्थ मन्त्रालय)
२. सुवर्ण राज भट्टराई (सी.ए.टी.सी.अ. (इन्जिनियर), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
३. तनुजा पोखरेल (सी. सी. ई. (एरोनोटिकल), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय)
४. मुकेश डंगोल (महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण)
५. ऋचा शर्मा (निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण)
६. डोलेश्वर कोइराला (उप-महाप्रबन्धक (प्राविधिक), नेपाल वायुसेवा निगम)
७. गोविन्द राज आचार्य (उपसचिव, अर्थ मन्त्रालय)
८. प्रेम प्रसाद न्यौपाने (उप-सचिव, रक्षा मन्त्रालय)
९. लोकहरी कडेल (उप-सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय)
१०. प्रताप जंग पाण्डे (अध्यक्ष, वायुसेवा सञ्चालक संघ, नेपाल)
११. कमलेश कुमार बर्मा (विशेषज्ञ)
१२. सुबर्ण खरेल (प्रबन्धक, बुद्ध एयर प्रा.लि.)
१३. सुभाष सापकोटा (प्रमुख कार्यकारी अधिकृत, यती एयरलाइन्स)
१४. कप्तान सिद्धार्थ जे. गुरुङ (सिम्रिक एयर)
१५. मुरलीधर जोशी (प्रमुख कार्यकारी अधिकृत, सिम्रिक एयर)
१६. हरि भक्त श्रेष्ठ (कार्यकारी उपाध्यक्ष, बिबि एयरवेज)
१७. दिल बहादुर वली (महाप्रबन्धक, माउन्टेन हेलिकोप्टर प्रा.लि.)
१८. राजु न्यौपाने (सुरक्षा प्रबन्धक, बेसक्याम्प हेलिकोप्टर प्रा.लि.)
१९. नोवल कुमार राजलवट (लेखा प्रबन्धक, प्रभु हेलिकप्टर)
२०. सरोज बोलाछे (प्रमुख वित्तीय अधिकृत, सीता एयर लिमिटेड)

नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट सहभागीहरू

१. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
७. अशोक पाण्डे (अनुसन्धानकर्ता)
८. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
९. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१०. डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
११. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१२. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१३. सोनिया बस्याल (विश्लेषक)
१४. प्राञ्जल रिजाल (विश्लेषक)
१५. सुधिर श्रेष्ठ (विश्लेषक)
१६. पर्वत भट्टराई (वरिष्ठ सहायक)
१७. मणिस चन्द्र राई (वरिष्ठ सहायक)
१८. सृष्टिका न्यौपाने (इन्टर्न)
१९. सुसन तामाङ (इन्टर्न)
२०. सन्दु सुवेदी (इन्टर्न)
२१. कुसुम ढुङ्गाना (इन्टर्न)
२२. सुलक्षा भण्डारी (इन्टर्न)
२३. राजु अधिकारी (इन्टर्न)

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।