“नेपालमा विश्वविद्यालय शासकीय प्रणालीको सुधार: आवश्यकता र आगामी बाटो” विषयक सार्वजनिक नीति संवाद सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले "नेपालमा विश्वविद्यालय शासकीय प्रणालीको सुधारको आवश्यकता र आगामी बाटो" विषयमा सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ । मुलुकमा उच्च शिक्षाको गुणस्तर, अनुसन्धान क्षमता, संस्थागत स्वायत्तता, र उत्तरदायित्वका विषयमा बढ्दो बहस र नेपालका विश्वविद्यालयहरू स्रोत-न्यूनता र राजनीतिक हस्तक्षेपका कारण आफ्नो मूल उद्देश्यमा नतिजामुखी बन्न नसकिरहेको पछिल्लो सन्दर्भमा प्रतिष्ठानले यो संवाद आयोजना गरेको हो । उक्त कार्यक्रममा शिक्षाविद्हरू; विश्वविद्यालयहरूका पूर्व तथा वर्तमान पदाधिकारीहरू; राजनीतिक दलका प्रतिनिधिहरू; विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधिहरू; सङ्घीय तथा प्रदेश शिक्षा मन्त्रालयका अधिकारीहरू; र अनुसन्धानकर्ताहरू लगायतका उच्च शिक्षाको क्षेत्रका विज्ञ सरोकारवालाहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिष्ठानका सहअनुसन्धानकर्ता गोपाल आचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले सहभागीहरूलाई कार्यक्रममा स्वागत गर्दै नीति संवाद कार्यक्रमको आवश्यकता र प्रयोजनबारे जानकारीसहित आफ्नो मन्तव्य राखी औपचारिक सुरुआत गर्नुभएको थियो । त्यसपश्चात् प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले "विश्वविद्यालय शासकीय प्रणालीको सुधारका लागि केही सन्दर्भहरू" विषयमा दिनुभएको प्रस्तुतीकरणमा नेपालको उच्च शिक्षासम्बन्धी मूल नीतिहरू, ‘उच्च शिक्षा विधेयक २०८० (मस्यौदा)’ र ‘उच्च शिक्षण संस्थाको आधार र मापदण्ड मस्यौदा विधेयक, २०८१’ को तुलनात्मक समीक्षा र ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ ले गरेको सिफारिसको समीक्षात्मक प्रस्तुतीकरण गर्दै विश्वविद्यालय शासकीय प्रणाली सम्बन्धमा सुधारका आवश्यकताबारे चर्चा गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा विश्वविद्यालय शासकीय स्वरूप र व्यवस्थापनका अन्तर्राष्ट्रिय मानक र प्रवृत्तिको बारेमा पनि चर्चा गरिएको थियो ।

प्रस्तुतीकरणपश्चात्को अन्तरक्रियाको क्रममा वर्तमान विश्वविद्यालय शासकीय प्रणालीमा देखिएका संरचनागत कमजोरी; निर्णय प्रक्रियामा अपारदर्शिता र जवाफदेहिताको अभाव; नेतृत्व चयनमा राजनीतिक प्रभाव; शिक्षक कर्मचारी र विद्यार्थी वर्गमा रहेको दलीय राजनीतिको असर; शिक्षण-सिकाइको गुणस्तर र अनुसन्धानलाई अपेक्षित प्राथमिकता दिन नसक्नुजस्ता समस्या र चुनौतीहरूबारे गहन छलफल गरिएको थियो । सहभागीहरूले विश्वविद्यालयलाई ज्ञान उत्पादन, नवप्रवर्तन र राष्ट्रिय विकासका प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्न शासकीय संरचनामा विश्व परिवेश र समयानुकूल सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । साथै, विश्वविद्यालयहरूको स्वायत्तता र शैक्षिक स्वतन्त्रता सुनिश्चित गर्दै नेतृत्व छनोटमा योग्यता र प्रतिस्पर्धालाई आधार बनाउने; शासन संरचनालाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउने, तथा सरकार र विश्वविद्यालयबिच सन्तुलित तथा सहकार्यपूर्ण सम्बन्ध विकास गर्ने उपायहरूमा सहभागी विज्ञहरूले विशेष जोड दिनुभएको थियो । 

प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले कार्यक्रमको समापन गर्ने क्रममा यस नीति संवादले नेपालको उच्च शिक्षा क्षेत्रलाई थप सक्षम, विश्वसनीय र प्रतिस्पर्धी बनाउन विश्वविद्यालय शासन सुधार अपरिहार्य रहेको र यसको सुरुआत विश्वविद्यालयलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गर्नुपर्ने निष्कर्षलाई उजागर गरेको र सहभागी सम्पूर्णलाई उहाँहरूको महत्त्वपूर्ण राय, सुझाव र उपस्थितिका लागी आभार व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरू 

१. प्रा. डा. हृदयरत्न बज्राचार्य, प्राविधिक सल्लाहकार, विश्वविद्यालय अनुदान आयोग तथा पूर्वउपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालय
२. प्रा. डा. तीर्थराज खनिया, पूर्वउपकुलपति, त्रिभुवन विश्वविद्यालय
३. प्रा. डा. प्रेम नारायण अर्याल, पूर्वउपकुलपति, पोखरा विश्वविद्यालय
४. प्रा. डा. नन्द बहादुर सिंह, पूर्वउपकुलपति, मध्यपश्चिम विश्वविद्यालय
५. प्रा. डा. अर्जुन कार्की, उपकुलपति, नेपाल विश्वविद्यालय
६. प्रा. डा. सूर्यराज आचार्य, रजिष्ट्रार, नेपाल विश्वविद्यालय
७. प्रा. डा. विद्यानाथ कोइराला, शिक्षाविद्
८. श्री अमर बिष्ट, अनुसन्धानकर्ता, नेपाल विकास अनुसन्धान प्रतिष्ठान
९. श्री नरेश खत्री, वरिष्ठ उप-प्राध्यापक, ख्वप कलेज अफ इन्जिनियरिङ
१०. श्री नरोत्तम अर्याल, अध्यक्ष, किंग्स कलेज
११. श्री धीरज भट्ट, अनुसन्धान सहायक, वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय
१२. श्री दामोदर सुवेदी, अतिरिक्त प्रदेश सचिव, गण्डकी प्रदेश
१३. श्री उद्धव प्रसाद रिजाल, प्रदेश सचिव, कोशी प्रदेश
१४. श्री परशुराम तिवारी, उपसचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
१५. श्री मणिराम गैरे, अनुसन्धानकर्ता, काठमाडौँ विश्वविद्यालय तथा प्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी
१६. श्री कृष्ण हरि पौडेल, उप-प्रमुख, केन्द्रीय शिक्षा विभाग, राष्ट्रिय स्वतन्त्र पार्टी
१७. श्री मनरूपा पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी
१८. श्री सरोजराज गोसाई, केन्द्रीय सदस्य, नेपाल मजदुर किसान पार्टी
१९. श्री नारायण खनाल, केन्द्रीय सदस्य, नेपाली कम्युनिष्ट पार्टी
२०. श्री उज्वल रिजाल

नीति अनुसन्धान प्रतिष्ठानका सहभागीहरू 

१. प्रा. डा. लेखनाथ शर्मा, कार्यकारी अध्यक्ष
२. श्री लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
३. डा. मुक्तिराम रिजाल, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
६. डा. गिरीराज शर्मा, अनुसन्धानकर्ता
७. डा. प्रदीप पन्थी, अनुसन्धानकर्ता
८. श्री अशोक पाण्डे, अनुसन्धानकर्ता
९. डा. मनिता कुसी, सहअनुसन्धानकर्ता
१०. श्री गोपाल आचार्य, सहअनुसन्धानकर्ता
११. डा. महेश्वर गिरी, सहअनुसन्धानकर्ता
१२. श्री रीजा मानन्धर, सहअनुसन्धानकर्ता
१३. डा. देजिना थापा, विश्लेषक
१४. श्री मिलन श्रेष्ठ, वरिष्ठ सहायक