प्रा. डा. नीर क्षेत्रीद्वारा “Beyond Digitalisation: From Policy to Reality – The Missing Foundations of Nepal’s AI Ambitions” विषयक नीति प्रवचन कार्यक्रम सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठानले २०८३ वैशाख ४ गते “Beyond Digitalisation: From Policy to Reality – The Missing Foundations of Nepal’s AI Ambitions” विषयमा प्रा. डा. नीर क्षेत्रीको नीति प्रवचन कार्यक्रम आयोजना गर्‍यो । प्रा. डा. क्षेत्री संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना विश्वविद्यालयमा व्यवस्थापन विषयका प्राध्यापक हुनुहुन्छ । प्रवचनमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिक्ररण प्रतिष्ठानका विश्लेषक प्राञ्जल रिजालले गर्नुभएको थियो ।

कार्यक्रमको सुरुआतमा प्रतिष्ठानका निमित्त प्रमुख तथा कार्यालय प्रबन्धक लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्य राख्नुभयो । उहाँले नेपाल सरकारको डिजीटल प्रणालीको प्रयोग र संस्थागत रूपान्तरण गर्ने आकाङ्क्षा माझ सोही विषयसम्बन्धी नीति प्रवचनले प्रतिष्ठानका अनुसन्धाताहरूलाई बदलिँदो परिवेशमा डिजिटल रूपान्तरणका नीतिगत आयामहरूको बारेमा थप ज्ञान हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त नीति प्रवचनमा प्रा. डा. नीर क्षेत्रीले प्रस्तुतीकरण मार्फत नेपालका वर्तमान डिजिटल नीतिहरू द्रुत रूपमा परिवर्तन भइरहेको विश्वव्यापी एआई (AI) परिवेशसँग मेल नहुनु र नीतिहरूले एआईलाई आधारभूत पूर्वाधारको रूपमा नभई अर्को एउटा आईटी (IT) क्षेत्रको रूपमा मात्र लिने गरेको अभ्यासबारे चर्चा गर्नुभयो । सरकारको दृष्टिकोण पुरानो र मानव-निर्देशित कार्यान्वयन मोडेलमै अड्किएको हुनाले आईटी सम्बन्धित कर्मचारीहरूको सङ्ख्या बढाउने; छुट्टै "नागरिक एपहरू" (Citizen Apps) निर्माण गर्ने र परम्परागत तहगत टेक हबहरू विस्तार गर्ने कुरालाई प्राथमिकता दिने विषय उजागर गर्नुभयो । यद्यपि, मन्त्रालयहरूबिचको समन्वय अभाव; अव्यवस्थित कागजी प्रणालीहरू; र डाटा अन्तरसञ्चालन (data interoperability) को कमीजस्ता आधारभूत समस्याहरू समाधान नगरीकन यी नीतिहरू देखावटी मात्र साबित हुनेबारेमा आफ्ना धाराणा राख्नुभयो । नेपालमा एआईसम्बन्धी महत्त्वाकाङ्क्षाको कमी मुख्य चुनौती नभई डाटा, सुशासन, र कार्यान्वयन संरचनामा रहेका गम्भीर अवरोधहरू हुन् भन्ने चर्चा गर्नुभयो ।

उहाँले प्रतिस्पर्धी रहिरहन, नेपालले स्वायत्त, एजेन्टिक एआई प्रणालीहरू (agentic AI systems) र सुरुदेखिनै एआईमा आधारित साना बहुराष्ट्रिय कम्पनीहरू ("born AI micromultinationals") द्वारा सञ्चालित नयाँ आर्थिक यथार्थतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । साथै, अहिलेको युगमा सफलताको मापन "इन्टेलिजेन्स डेन्सिटी" (Intelligence Density) र "प्रतिव्यक्ति राजस्व" (Revenue per Human) द्वारा गरिने हुँदा ठुलो सङ्ख्यामा मानव जनशक्ति बढाउनुको सट्टा बुद्धिमत्ताको परिचालन गर्ने साना र उच्च क्षमता भएका टोलीहरूबाट मूल्य सिर्जना गर्नुपर्ने राय प्रस्तुत गर्नुभयो । त्यसैले, नीति निर्माताहरूले प्रक्रियागत तहहरूलाई नियमन गर्ने कुराबाट पछि हटेर अन्तरसञ्चालनको क्षमता भएको राष्ट्रिय डाटा प्रणालीहरू, एआई-मैत्री सार्वजनिक पूर्वाधार, र छिटो तथा अनुकूलनयोग्य खरिद ढाँचाहरूमा लगानी गर्न आवश्यक रहेको र उच्च क्षमता भएका, एआई-नेटिभ उद्यमहरूलाई सक्षम बनाएर, नेपालले भौगोलिक अवरोधहरूलाई पार गर्न सक्ने र विश्वव्यापी एजेन्टिक अर्थतन्त्रमा पूर्ण रूपमा सहभागी हुन सक्ने बताउनुभयो ।

प्रस्तुतीकरण सत्रपछि प्रतिष्ठानका सहभागीहरूले प्रा. क्षेत्रीसँग उहाँको प्रस्तुतिका आधारमा अन्तरक्रिया गरेका थिए। सहभागीहरूले कृत्रिम बौद्धिकता (एआई) का कारण सिर्जना हुन सक्ने ज्ञानको क्षेत्रमा आउन सक्ने खाडल, नेपालको ढिलो डिजिटल रूपान्तरण प्रक्रिया, वर्तमान सरकारले डिजिटलाइजेशनमा दिएको प्राथमिकता, नीति अनुसन्धानमार्फत डिजिटलाइजेशन र एआईलाई पूर्वाधारका रूपमा व्यवस्थित गर्न प्रतिष्ठानको भूमिका, क्षेत्रगत प्रयोगका आधारमा एआईका व्यावहारिक उपयोग, तथा डिजिटलाइजेशन र एआईमा निर्भरतासँग सम्बन्धित नेपालको इन्टरनेट र जलविद्युत् पूर्वाधारबारे जिज्ञासा र चासो व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा. मोहन कुमार शर्माले प्राध्यापक नीर क्षेत्रीलाई आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रमका सहभागीहरू

१. श्री लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
२. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
३. डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. कल्पना खनाल, वरिष्ठ अनुसन्धानकर्ता
६. डा. प्रदीप पन्थी, अनुसन्धानकर्ता
७. डा. गिरिराज शर्मा, अनुसन्धानकर्ता
८. अशोक पाण्डे, अनुसन्धानकर्ता
९. डा. हरि प्रकाश चन्द, अनुसन्धानकर्ता
१०. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
११. डा. झमकुमार विश्वकर्मा, सहअनुसन्धानकर्ता
१२. डा. महेश्वर गिरी, सहअनुसन्धानकर्ता
१३. दिपेन्द्र प्रसाद पन्त, सहअनुसन्धानकर्ता
१४. प्राञ्जल रिजाल, विश्लेषक
१५. सोनिया बस्याल, विश्लेषक
१६. डा. देजिना थापा, विश्लेषक
१७. गीता न्यौपाने, वरिष्ठ सहायक
१८. सुविन उलक, वरिष्ठ सहायक
१९. सुलक्षा भण्डारी, अनुसन्धान इन्टर्न
२०. सन्दु सुबेदी, अनुसन्धान इन्टर्न
२१. श्रीस्टिका न्यौपाने, अनुसन्धान इन्टर्न
२२. कुसुम ढुङ्गाना, अनुसन्धान इन्टर्न

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।