नीति अनुसन्धान प्रतिष्ठान र सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाबिच अन्तरक्रिया बैठक सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठान र सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाबिच २०८३ वैशाख २३ गते एक अन्तरक्रिया आयोजना सम्पन्न भयो । बैठकमा प्रतिष्ठानका तर्फबाट कार्यालय प्रबन्धक, विभागीय प्रमुख, तथा केन्द्र प्रमुखहरूसहित आठ जनाको उपस्थिति रहेको थियो भने सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाका तर्फबाट कार्यकारी निर्देशकसहित ६ जना सदस्यहरूको उपस्थिति रहेको थियो । सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था र यसले गरेका अनुसन्धानहरूका बारेमा जानकारी गराउने; नीति अनुसन्धान प्रतिष्ठानको संरचना, कार्यशैली र सरकारसँगको सम्बन्धमा जानकारी गराउने, र सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था तथा नीति अनुसन्धान प्रतिष्ठानबिच सम्भाव्य सहकार्यको बारेमा र भविष्यमा गर्न सकिने साझेदारीका विषयमा छलफल गर्ने उद्देश्यले उक्त बैठक आयोजना गरिएको थियो ।

बैठकमा सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाका कार्यकारी निर्देशक प्रा. डा. दीर्घजीवी घिमिरेले संस्थाको स्थापना, लक्ष्य, उद्देश्य, कार्य क्षेत्रहरू तथा ३० वर्षको अनुसन्धान अनुभवका बारेमा प्रस्तुतीकरण मार्फत जानकारी दिनुभयो । यसैगरी, प्रतिष्ठानको संरचना तथा कार्यक्षेत्र लगायतका विषयमा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काले प्रस्तुतीकरण गर्नुभयो । बैठकमा सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाले ३० वर्षको अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई नीतिगत स्वरूपमा ढाल्न सम्भावित उपायहरू र नीति निर्माताहरूलाई प्रतिष्ठान मार्फत र स्वयम् सुसूचित गर्न सकिने उपायहरूका बारेमा पनि छलफल भयो ।

बैठकमा सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाको सन् १९९५ देखि चलिआएको परियोजना "Chitwan Valley Family Study (CVFS)" र सम्बद्ध अन्य परियोजनाहरूबाट प्राप्त तथ्याङ्क तथा प्रकाशनहरूलाई नीतिगत सन्देशका रूपमा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव दिन सकिने विषयमा सुझावहरू आएका थिए । त्यसैगरी, अनुसन्धानहरूले दिने संदेशहरू नीति निर्माताले बुझ्ने भाषामा तयार गर्न आवश्यक विशेष जनशक्तिको भूमिका र सो विषयका लागि नीति एकाइ खडा गर्न सकिने सम्भावनामा प्रतिष्ठानको भूमिका; नीतिगत तथा संस्थागत ‘ग्रे’ प्रतिवेदनहरूको डेटाबेसको व्यवस्थापनको सम्भावना; नेपाल सार्वजनिक नीति समीक्षा (NPPR) जर्नलमा नीतिगत लेखहरूमा योगदान गर्न सकिने विषयका साथै प्रतिष्ठानको नीति संवादमा संलग्नता लगायतका विभिन्न आयामहरूबारे बैठकमा चर्चा भएको थियो ।

 

सामाजिक तथा वातावरणीय अनुसन्धान संस्थाको तर्फबाट उपस्थिति

१. प्रा. डा. दीर्घजीवी घिमिरे
२. प्रा. डा. योगेन्द्र गुरुङ
३. डा. मीता शैँजु प्रधान
४. इन्द्र चौधरी
५. हार्दिक सापकोटा
६. प्रेम प्रकाश पण्डित

नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट उपस्थिति

१. श्री लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
६. रीजा मानन्धर (सहअनुसन्धानकर्ता)
७. सुलक्षा भण्डारी (प्रशिक्षार्थी)
८. मनिशचन्द्र राई (प्रशिक्षार्थी)

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।