नीति अनुसन्धान प्रतिष्ठान र चीनको सिचुआन विश्वविद्यालयका प्राज्ञहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

None

नीति अनुसन्धान प्रतिष्ठान र चीनको सिचुआन विश्वविद्यालयका प्राज्ञहरू डा. काओ लियाङ (Gao Liang) र डा. चङ शिआङयु (Zeng Xiangyu) बिच प्रतिष्ठानको नीति संवाद सभाहलमा २०८३ वैशाख १६ गते एक अन्तरक्रिया कार्यक्रम  सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल-चीन सम्बन्धका बहुआयामिक पक्षहरूबारे चर्चा भएको थियो। चिनियाँ प्राज्ञहरूले चीन नेपालसँग सधैँ बलियो सम्बन्ध कायम राख्न तथा सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका थिए भने प्रतिष्ठानको तर्फबाट पनि दुई देशबिचको घनिष्ठ सम्बन्ध र सहकार्यका नवीन क्षेत्रहरूबारे सहभागीहरूले चर्चा गर्नुभएको थियो।

 प्रतिष्ठानका अनुसन्धानकर्ता डा. हरि प्रकाश चन्दले कार्यक्रमको सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानको तर्फबाट कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्यसहित नेपाल-चीन सम्बन्धका ऐतिहासिक सेतुहरूको विषय स्मरण गर्दै नेपाल र चीन सदाबहार मित्र तथा छिमेकी देशहरू रहेको कुरामा जोड दिनुभएको थियो। नेपाल-चीनबिचको दौत्य सम्बन्ध सन् १९५५ मा सुरु भएको भए तापनि यो सम्बन्ध दुई हजार वर्ष पुरानो रहेको कुरा उहाँले उल्लेख गर्नुभयो। परिवर्तित अवस्थामा दुई देशबिचको सम्बन्ध यसको ऐतिहासिक जगलाई ध्यानमा राखेर अघि बढाउन सकिने विचार व्यक्त गर्नुभयो। त्यसैगरी,  प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले प्रतिष्ठानको संक्षिप्त प्रस्तुतीकरण दिनुका साथै नीति अनुसन्धानमा प्रतिष्ठानका अभ्यासहरूबारे जानकारी गराउनुभएको थियो।

सिचुआन विश्वविद्यालयका तर्फबाट सहप्राध्यापक तथा विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका अन्तर्राष्ट्रिय संयोजक डा. चङ शिआङयु (Zeng Xiangyu) ले चिनियाँ विश्वविद्यालयहरूमा भइरहेका अनुसन्धान अभ्यासहरू, नेपाल र चीनका साझा राष्ट्रिय हितसँग मेल खाने विषयहरूको अध्ययन लगायतका विषयमा प्रकाश पार्नुभयो। त्यसपश्चात्  सोही विश्वविद्यालयका सहप्राध्यापक तथा नेपाल अध्ययन केन्द्रका उपनिर्देशक डा. काओ लियाङ (Gao Liang) ले चीनको पूर्वी तटीय क्षेत्रको तुलनामा तिब्बत लगायतका पश्चिमी र दक्षिणी क्षेत्रहरू विकास निर्माणका कार्यमा पछाडि परेको तथ्य उल्लेख गर्दै चीन सरकारले अहिले यी क्षेत्रहरूलाई विकास र लगानीको उच्च प्राथमिकतामा राखेको बताउनुभयो। आफ्नो सिमाना नजिकका क्षेत्रहरूमा भइरहेको ठुलो आर्थिक र प्राविधिक लगानीबाट नेपालले पनि विभिन्न अवसरहरू प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो।

अन्तरक्रिया कार्यक्रमको छलफल सत्रमा उठेका जिज्ञासाहरूलाई सम्बोधन गर्ने क्रममा डा. काओ लियाङ (Gao Liang) ले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चीन नजिकबाट जानकार रहेको र निर्वाचनपश्चात् बनेको सरकारसँग मैत्रीपूर्ण सहकार्य हुनेमा चिनियाँ पक्ष विश्वस्त रहेको बताउनुभयो। डा. चङ शिआङयु (Zeng Xiangyu) ले भाषासँग सिङ्गो मुलुकको सभ्यता, इतिहास र पहिचान जोडिएको हुनाले चीनले अङ्ग्रेजी भाषाको विश्वव्यापकताबारे पूर्ण जानकार हुँदाहुँदै पनि आफ्ना अधिकांश प्राज्ञिक लेख, रचना र साहित्यहरू चिनियाँ भाषामै प्रकाशित गर्दै आएको बताउनुभयो। पछिल्लो समयमा चीनका विभिन्न विश्वविद्यालयहरूले विज्ञान-प्रविधि लगायत विभिन्न सङ्कायहरूमा विदेशी तथा छिमेकी मुलुकका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएकाले नेपाली विद्यार्थीहरू पनि त्यसबाट लाभान्वित भइरहेका विषयलाई पनि उठान गर्नुभयो। सिचुआन विश्वविद्यालयका  प्राज्ञहरूले नीति अनुसन्धान प्रतिष्ठानसँग आगामी दिनहरूमा थप सहकार्य र साझेदारी गर्न उत्सुक रहेको विषय पनि राख्नुभयो।  कार्यक्रमको अन्त्यमा प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागका विभागीय प्रमुख डा. मोहन कुमार शर्माले कार्यक्रम समयसापेक्ष र अर्थपूर्ण भएको बताउँदै अतिथि एवं सम्पूर्ण सहभागीहरूलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो।

सिचुआन विश्वविद्यालयका तर्फबाट सहभागीहरू

१. डा. जेङ सियाङयु — सहप्राध्यापक तथा दक्षिण एसियाली अध्ययन केन्द्रका अन्तर्राष्ट्रिय संयोजक एवं हिन्द महासागर अध्ययन केन्द्रका निर्देशक, सिचुआन विश्वविद्यालय
२. डा. गाओ लियाङ — सहप्राध्यापक तथा उपनिर्देशक, नेपाल अध्ययन केन्द्र, सिचुआन विश्वविद्यालय

प्रतिष्ठानको तर्फबाट उपस्थिति

१. श्री लक्ष्मण प्रसाद भट्टराई — कार्यालय प्रबन्धक
२. डा. दीपक कुमार खड्का — वरिष्ठ अनुसन्धानकर्ता
३. डा. कल्पना खनाल — वरिष्ठ अनुसन्धानकर्ता
४. डा. मोहन कुमार शर्मा — वरिष्ठ अनुसन्धानकर्ता
५. डा. गिरिराज शर्मा — अनुसन्धानकर्ता
६. डा. हरि प्रकाश चन्द — अनुसन्धानकर्ता
७. डा. सुवास अधिकारी — अनुसन्धानकर्ता
८. डा. प्रदीप पन्थी — अनुसन्धानकर्ता
९. डा. झम कुमार विश्वकर्मा — सहअनुसन्धानकर्ता
१०. डा. महेश्वर गिरी — सहअनुसन्धानकर्ता
११. गोपाल आचार्य — सहअनुसन्धानकर्ता
१२. दिपेन्द्र प्रसाद पन्त — सहअनुसन्धानकर्ता
१३. रीजा मानन्धर — सहअनुसन्धानकर्ता
१४. प्राञ्जल रिजाल — विश्लेषक
१५. सुधीर श्रेष्ठ — विश्लेषक
१६. मनिष चन्द्र राई — वरिष्ठ सहायक
१७. रोजिन राई — प्रशिक्षार्थी
१८. सृष्टिका न्यौपाने — प्रशिक्षार्थी
१९. सन्दु सुवेदी — प्रशिक्षार्थी

यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला।