प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवस समारोह सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवस समारोह सम्पन्न

स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको सन्दर्भमा नीति अनुसन्धान प्रतिष्ठानले २०७८ साल असोज १० गते एक विशेष समारोहको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ  l कोभिड-१९ले सिर्जना गरेको असहज परिस्थिति र अन्य कारणले स्थापना कालदेखि नै स्थापना दिवस मनाउने प्रतिष्ठानको अभिलाषा पूरा हुन नसकेको अवस्थामा सो पहिलो कार्यक्रम आयोजना गरिएको हो l

सो अवसरमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायतका ६ वटा प्रकाशनहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरण, नीति सम्बन्धमा गोलमेच छलफललगायतका कार्यक्रमहरू सम्पन्न गरिए l

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. सुरेशराज शर्माले प्रतिष्ठानको बहुप्रतिक्षित प्रतिष्ठानको प्रमुख प्रकाशन ‘नेपाल पब्लिक पोलिसि रिभ्यु “ नामक जर्नलको पहिलो अङ्क सार्वजनिक गर्नुभएको थियो l अन्य प्रकाशनहरु प्रतिष्ठानका कार्यकारी अध्यक्ष तथा वार्षिकोत्सव समारोहका सभाध्यक्ष डा. विष्णु राज उप्रेती तथा कार्यक्रमको अतिथि प्रा. डा. मीना वैद्यले गर्नु संयुक्त रूपमा विमोचन गर्नुभएको हो l

नीति-निर्माणको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्ति(हरू) वा संस्थाबाट छनौट गरी नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा अनुसन्धान र अध्यापन मार्फत उल्लेख्य योगदान गर्दै आएको काठमाडौँ विश्वविद्यालयलाई सो अवसरमा ‘नीति सम्मान’ पुरस्कार प्रदान गरियो l  प्रतिष्ठानले प्रदान गरेको सम्मान र नगद पुरस्कार (रु. ५० हजार) स्वीकार गर्दै काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले प्रतिष्ठानले प्रदान गरेको ५० हजारमा रु. ५० लाख थपी काठमाडौँ विश्वविद्यालयमा नीति अनुसन्धानका लागि एउटा विशिष्ट कोष (इण्डाउमेन्ट फण्ड) स्थापना गर्ने घोषणा गर्नुभयो l नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. विष्णु राज उप्रेतीले प्रतिष्ठानले प्रदान गरेको  नीति सम्मानको तत्कालीन प्रभावको रूपमा घोषणा गरिएको यो कोष नेपालको नीति नव-प्रवर्तनमा कोसे ढुङ्गो साबित हुने कुरा व्यक्त गर्नुभयो l       

कार्यक्रमको अभिन्न अंगका रूपमा प्रतिष्ठानका कार्यकारी अध्यक्षको सहजीकरणमा गोलमेच छलफल/अन्तरक्रिया समेत सञ्चालन गरियो l भौतिक रूपमा र भर्चुअल रूपमा गरेर झन्डै दुईसय विज्ञ सहभागीहरूसँग देश र जनताप्रति प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा देखिएका नीतिगत समस्याहरूको बारेमा छलफल भएको थियो l अन्तरक्रियामा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले प्रतिष्ठान र विश्वविद्यालयबिच सहकार्य थप घनिभूत हुनुपर्ने औँल्याउनुभयो l मन्त्रालयहरूले अनुसन्धान गराउने कार्य प्रतिष्ठानजस्तो विषयविज्ञ संस्था र विश्वविद्यालयहरू जस्तो प्राज्ञिक संस्थालाई दिनुपर्ने र त्यसो गर्दा विज्ञ र प्राध्यापकहरू गैरसरकारी संस्थाहरूमा काम खोज्दै दौडिन नपर्ने भन्दै अहिलेको अवस्थाप्रति बास्कोटाले खिन्नता प्रकट गर्नुभयो l उहाँले अनुसन्धानको क्षेत्रमा राष्ट्रिय बजेटको ०.०४ प्रतिशत मात्रै छ, जुन देशको आवश्यकताको आधारमा अत्यन्तै न्यून हो l

कार्यक्रममा प्रमुख अतिथि डा. सुरेशराज शर्माले नीति अनुसन्धानको भविष्य उज्ज्वल रहेको र प्रतिष्ठानको कामको कारणले पनि देशको भविष्य उज्ज्वल रहेको जनाउनुभयो l उहाँले नीतिहरूमा पूर्वीय नीतिहरूको हाम्रा मौलिक ज्ञानगुनका कुरा पनि समावेश गर्नु पर्ने बताउनुभयो l साथै नीति लागू नहुने समस्यालाई न्यूनीकरण गर्न नीति कार्यान्वयनका लागि जिम्मेवार निकायले काम नगर्दा कारबाही हुनुपर्ने प्रणाली बसाउनु पर्ने बताउनुभयो l 

कार्यक्रममा डा सुनिल बाबु श्रेष्ठ, प्रा. डा. शरद वन्त, वन्दना राणा, डा. गोविन्द कुसुम, डा. खिमलाल देवकोटा, डा. बिमला राई पौड्याल, डा. नेत्रप्रसाद तिम्सिना, डा. महेश कुमार मास्के, डा. अर्जुन कार्की, डा. दुर्गा भट्टराई, डा. सुनिल बाबु श्रेष्ठ, कृष्ण ज्ञवाली, डा. विपिन अधिकारी, डा. सूर्यराज आचार्य, डा. रामबाबु नेपाल, डा. मानबहादुर बिश्वकर्मा, पूर्व रथी बालानन्द शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. लीला न्याईच्याई, डा. दिनेश भट्टराई, प्रा. डा. मीना वैद्य लगायतका आमन्त्रित पाहुनाहरूले प्रतिष्ठानलाई अनुसन्धानलगायत अन्य कार्यक्रम र कार्य-पद्धतिको बारेमा रचनात्मक सुझावहरू दिनुभयो l

नेपाल सरकारको नीति थिंक-ट्याङ्क (विशेषज्ञ समूह) को रूपमा २०७५ असोज १० मा स्थापित नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धान, नीति विश्लेषण, पुस्तकालय व्यवस्थापन तथा सूचना तथा ज्ञान व्यवस्थापन सम्बन्धी स्वदेश तथा विदेशमा उच्च शिक्षा तथा विशिष्टिकृत अनुभव सँगालेका विज्ञ अनुसन्धाताहरु कार्यरत छन् l प्रतिष्ठानले नेपाल सरकारले अपनाउने वा अपनाएको विभिन्न नीतिको अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधारका लागि नेपाल सरकार समक्ष सिफारिस गर्दछ l अनुसन्धानद्वारा सिर्जित तथ्य र ज्ञानको आधारमा  ज्ञान-सामग्री निर्माण गरी नीतिसँग सरोकार राख्ने अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी, शिक्षक, नीति निर्माता तथा सर्वसाधारणबिचको ज्ञानको प्रवाह गर्नु नीति प्रतिष्ठानको कामको अर्को महत्वपूर्ण पाटो हो l