नीति अनुसन्धान प्रतिष्ठान अन्तर्गतको प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका वरिष्ठ विधागत विज्ञहरूसँग बैठक सम्पन्न
नीति अनुसन्धान प्रतिष्ठानको प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्र (केन्द्र ४) ले केन्द्रका विधागत वरिष्ठ विज्ञहरूसँग २०८२ चैत १९ गते बैठक आयोजना गर्यो । प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको अध्यक्षतामा भएको उक्त बैठकमा चार जना वरिष्ठ विज्ञहरू: डा. दिनेशराज भुजू, डा. देवेन्द्र गौचन, श्री बटुकृष्ण उप्रेती र डा. संगिता कौशल मिश्र (अनलाइन मार्फत) सहित प्रतिष्ठानका प्रबन्धक, श्री लक्ष्मण प्रसाद भट्टराई; वरिष्ठ अनुसन्धानकर्ताद्वय डा. हरि शर्मा न्यौपाने र डा. दीपक कुमार खड्का तथा केन्द्रका अनुसन्धाताहरू, डा. सुवास अधिकारी, रीजा मानन्धर र सुलक्षा भण्डारीको उपस्थिति रहेको थियो । यस बैठकको मुख्य एजेन्डा केन्द्र अन्तर्गतका कार्यक्रमहरूका बारेमा वरिष्ठ विज्ञहरूमाझ जानकारी तथा केन्द्र र प्रतिष्ठानका लागि आगामी दिनका लागि कार्यदिशा सम्बन्धमा विज्ञहरूद्वारा पृष्ठपोषण लिनु रहेको थियो ।
बैठकको सुरुआतमा प्रतिष्ठानका कार्यकारी अध्यक्षले आमन्त्रित वरिष्ठ विधागत विज्ञहरूलाई बैठकको एजेन्डा तथा प्रतिष्ठानको भावी कार्यदिशासम्बन्धी सम्भावित रणनीतिक टिप्पणी राख्दै विज्ञहरूलाई पनि सोही विषयमा पृष्ठपोषण गर्नुहुन आग्रह गर्नुभयो ।
बैठकको एजेन्डाअनुरूप, प्रतिष्ठानको संरचनाका बारेमा जानकारी केन्द्रका अनुसन्धानकर्ता डा. सुवास अधिकारीले छोटो प्रस्तुतीकरण मार्फत गर्नुभयो भने केन्द्र प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपानेले आ.व. २०८२/८३ मा सम्पन्न भइरहेका अनुसन्धानका विषयहरू तथा नेपालको कृषि क्षेत्रको प्रतिस्पर्धी क्षमतासम्बन्धी चालु अनुसन्धानका प्रारम्भिक नतिजाहरू प्रस्तुतीकरण मार्फत जानकारी गराउनुभयो ।
बैठकमा अनुसन्धान विभाग प्रमुख, डा. दीपक कुमार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रतिष्ठानसँगको अपेक्षाअनुरूप नयाँ गठित सरकारको १०० बुँदे कार्यदिशालाई कार्यान्वयन सहयोगका लागि प्रमाण नक्शाङ्कन (evidence mapping) को कार्यहरू भइरहेको जानकारी गराउँदै नीति प्रयोगशालाको रूपमा प्रतिष्ठानको भूमिकाका बारेमा विज्ञहरूलाई सुझाव दिनुहुन आग्रह गर्नुभयो भने कार्यालय प्रबन्धक लक्ष्मण प्रसाद भट्टराईले प्रतिष्ठानले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्था तथा विश्वविद्यालयहरूसँगको सहकार्य तथा प्रतिष्ठानसँग जोडिनु भएका विज्ञहरूबाट लिन सकिने विज्ञताका सम्भावना बारेमा पनि छलफल गर्न आग्रह गर्नुभयो।
भौतिक रूपमा बैठकमा उपस्थित सबै विज्ञहरूले अनुसन्धानका विभिन्न विषय, कार्यानुभव तथा प्रतिष्ठानका लागि उपयुक्त कार्यदिशाका बारेमा प्रकाश पार्नुभयो । डा. दिनेशराज भुजूले कृषि सम्बद्ध परियोजनामा टिप्पणी दिँदै नेपाली जनताको भावनालाई नीतिगत तहमा समेटी सो अनुरूप भाष्य निर्माण गर्दै नेपाली कृषि बजार प्रवर्द्धन गर्न सकिने सुझाव दिनुभयो । यसका साथै, प्रतिष्ठानले नीति निर्माण तहमा प्रविधिको उच्चतम प्रयोगलाई आत्मसात् गर्दै नीति अनुसन्धानहरूमा विश्वविद्यालयमा रहेका अनुसन्धानकर्मी तथा विज्ञहरूलाई सक्दो उपयोग गरी समन्वयकारी भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । वहाँले प्रत्येक विश्वविद्यालयमा नीति प्रयोगशाला (policy lab) अनिवार्य गरी सो प्रयोगशालाहरूको सुदृढ विकासका लागि प्रतिष्ठानले समन्वयकारी भूमिका निर्वाह गर्न सकिने धारणा पनि व्यक्त गर्नुभयो ।
यसै गरी श्री बटुकृष्ण उप्रेतीले प्रतिष्ठानको कार्यदिशा यसले प्राप्त गर्ने बजेटले मुख्य निर्धारण हुने, यद्यपि, प्रतिष्ठानमा नै सयौँ अनुसन्धाताहरू भए तापनि पूर्ण नहुने हुँदा दिगो रूपमा प्रतिष्ठानलाई संस्थागत गर्न जनशक्ति सङ्ख्या मात्र बढाउने भन्दा विज्ञहरूका रोस्टर तयार पारी विज्ञहरूद्वारा अनुसन्धान गराउनुपर्ने सुझाव राख्नुभयो। यसका साथै, वातावरण प्रभाव मूल्याङ्कन अध्ययन (environmental impact assessment- EIA) का विज्ञ उप्रेतीले EIA अध्ययन र सम्बद्ध प्रक्रियामा भइरहेका विवादसम्बन्धी समस्याबारे चर्चा गर्नुभयो । उहाँले नेपालका लागि जलविद्युत आयोजनाहरूलाई cascade को रूपमा एकै नदीबाट धेरै आयोजनाहरू सञ्चालन गरी केही नदीहरूको मात्र ऊर्जा उत्पादनमा प्रयोग गर्न सकिने विषयमा पनि सुझावहरू राख्नुभयो ।
कृषि सम्बद्ध चालु परियोजनाकै विषयमा डा. देवेन्द्र गौचनले विशेष गरी धान बालीमा सरकारले दिने न्यूनतम समर्थन मूल्य भारत बजारबाट आयात हुने धानको मूल्यसँग प्रतिस्पर्धी नभएको, नेपाली चामल गुणस्तरीय हुँदा हुँदै पनि नवप्रवर्तनसहित बजारिकरण नगर्दा नेपाली कृषि उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसकेको तथा कृषि उत्पादनहरूको अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तर परीक्षण नेपालमा गर्न नसकिएको हुँदा अन्तर्राष्ट्रिय बजारमा माग भए पनि प्रभावकारी रूपमा निर्यात नसकेको लगायतका जानकारी दिनुभयो भने प्रतिष्ठाको आगामी कार्यदिशाका लागि डा. गौचनले पनि प्रतिष्ठानले समन्वय तथा सहकार्यमा विषयगत रूपमा विभिन्न अनुसन्धाताहरू तथा विज्ञहरूलाई समेटी अनुसन्धान कार्यहरू गर्नु उचित हुने सुझाव दिनुभयो।
अन्त्यमा बैठकको एजेन्डाहरूमा छलफलपश्चात् कार्यकारी अध्यक्ष प्रा. डा. शर्माले अनलाइन तथा भौतिक रूपमा बैठकमा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै बैठकको औपचारिक समापन गर्नुभयो ।
कार्यक्रममा उपस्थित प्रतिष्ठानका वरिष्ठ विधागत विज्ञहरू
१. डा. दिनेशराज भुजू, वरिष्ठ विधागत विज्ञ
२. डा. देवेन्द्र गौचन, वरिष्ठ विधागत विज्ञ
३. श्री बटुकृष्ण उप्रेती, वरिष्ठ विधागत विज्ञ
४. डा. संगिता कौशल मिश्र, वरिष्ठ विधागत विज्ञ (अनलाइन मार्फत)
प्रतिष्ठानको तर्फबाट
१. प्रा. डा. लेखनाथ शर्मा, कार्यकारी अध्यक्ष
२. श्री लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रबन्धक
३. डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता
४. डा. हरि शर्मा न्यौपाने, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. सुवास अधिकारी, अनुसन्धानकर्ता
६. रीजा मानन्धर, सहअनुसन्धानकर्ता
७. सुलक्षा भण्डारी, इन्टर्न