नीति अनुसन्धान प्रतिष्ठानले बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको अझ सशक्त उपस्थितिका लागि अपनाउनुपर्ने रणनीतिहरूसम्बन्धी एक सार्वजनिक नीति संवाद सम्पन्न गर्यो । प्रतिष्ठानको परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रबाट सञ्चालन भइरहेको अनुसन्धान परियोजनाका लागि गुणात्मक तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न संस्थाहरूबाट अन्तर्राष्ट्रिय मञ्चमा पुगी शिक्षा, कृषि, मानव अधिकार, शान्ति व्यवस्था आदि क्षेत्रमा महत्त्वपूर्ण अनुभव सङ्कलन गरेका नेपाली नागरिकहरूको सञ्जालको रूपमा रहेको बहुपक्षीय सङ्गठनका पेशाकर्मीको रूपमा नेपालमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो । परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रका अनुसन्धानकर्ता डा. हरि प्रकाश चन्दले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
स्वागत मन्तव्यका क्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले अन्तर्राष्ट्रिय मञ्चहरूमा विशेषगरी शक्तिशाली राष्ट्र कै भूमिका मुख्य देखिने भन्दै नेपालको अवस्था कस्तो रहेको छ भन्ने जिज्ञासा प्रस्तुत गर्नुभयो । त्यसैगरी, बहुपक्षीय संस्थाहरूका पूर्व अन्तर्राष्ट्रिय पेशाकर्मी (Former International Professionals of Multilateral Organizations – Nepal) की महासचिव सम्झना श्रेष्ठले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै विज्ञहरूको पूर्वअनुभव र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई संयोजन गर्न यस संवादलाई अत्यन्त महत्त्वपूर्ण ठानिएको बताउनुभयो ।
परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रका प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले प्रारम्भिक प्रस्तुतीकरण मार्फत छलफलका विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । उहाँले नेपालले परम्परागत रुपमै बहुपक्षीयता, न्यायपूर्ण र समानतामा आधारित विश्वव्यवस्थाको पक्षमा आफ्नो अडान कायम राख्दै आएको विषयमा जोड दिनुभयो ।
डा. अधिकारीको प्रस्तुतिमा निम्नलिखित कारणहरूले बहुपक्षीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा सशक्त भूमिकाको आवश्यकता हुन्छ भन्ने उल्लेख थियो :
* राष्ट्रिय हितहरूको रक्षा गर्न र राष्ट्रिय आवश्यकताहरूको पूर्तिको लागि बहुपक्षीय सहयोगको अपरिहार्यता हुनु,
* विश्वपरिवेशमा एकपक्षीयता (unilateralism) एवम् गुटगत प्राथमिकताले गर्दा विकासोन्मुख राष्ट्रहरू सीमान्तकृत हुँदै जाने खतरा रहेको, र
* बहुपक्षीयताको रक्षा र राष्ट्रिय हितको मूलप्रवाहीकरणको लागि पनि सशक्त भूमिका आवश्यक हुनु ।
प्रस्तुतिपश्चात् संवादमा छलफलका लागि प्रस्तुत गरिएका मुख्य प्रश्नहरू यस प्रकार रहेका थिए :
* नेपालको बहुपक्षीय कूटनीतिको अवस्था कस्तो रहेको छ ?
* अझ धेरै बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूको नेतृत्वदायी/कार्यकारी पदमा पुग्न नेपालले के-कस्ता रणनीतिहरू अपनाउनु पर्ला ?
* नेपाल सदस्य भएका वा नेतृत्व/कार्यकारी तहमा पुगेका बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा अझ सशक्त भूमिका कसरी खेल्न सकिएला ?
नेपाल पनि केही संस्थाहरूमा नेतृत्वदायी स्थानमा रहेको पाइन्छ र अन्तर्राष्ट्रिय स्तरका संघसंस्थाहरूमा नेपालले सहभागिता पनि जनाएको छ । यद्यपि, सहभागिताले मात्रै सशक्त उपस्थिति भएको मान्न सकिन्न भन्ने सहभागीहरूको धारणा रहेको थियो । छलफलका क्रममा बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूका नेतृत्वदायी/कार्यकारी भूमिकामा पुगेर र आफू संलग्न भएका निकायहरूमा सक्रिय र सशक्त भूमिका निर्वाह गरेर नेपालले बहुपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको अझ सशक्त उपस्थिति प्रदर्शन गर्न सक्ने विषयमा जोड दिइएको थियो ।
संवैधानिक दिशानिर्देश, संयुक्त राष्ट्रसंघको वडापत्र, विश्वशान्ति तथा अन्तर्राष्ट्रिय कानुन; नेपालको भूराजनीतिक अवस्थिति तथा सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षाजस्ता महत्त्वपूर्ण पक्षहरू; र नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगको अपरिहार्यतालाई मध्यनजर गर्दै बहुपक्षीयता नेपालको परराष्ट्र नीतिको मेरुदण्ड रहेकोमा सबै सहभागीहरूको एकमत थियो ।
अन्तर्राष्ट्रिय मञ्चमा कुनै विशिष्ट स्थानमा पुगेका व्यक्तिहरूले नेपालको प्रतिनिधित्व गर्नुभन्दा पनि आफ्नो दक्षता प्रदर्शन गर्दै सम्बन्धित संस्था र त्यसको उद्देश्यप्रति जिम्मेवार हुनुपर्ने, यदि सरकार सक्रिय भएर ती व्यक्तिहरूको ज्ञान, सिप र अनुभव उपयोग गर्ने मार्ग पहिल्याउन सक्छ भने मात्र उहाँहरूले नेपालको प्रतिनिधित्व गर्न सक्ने र राष्ट्रिय हितको विषय के हो, र कुन क्षेत्रमा हामीले बहुपक्षीय मञ्चबाट लाभ लिन सक्छौँ भन्ने प्रश्न गम्भीर रूपमा लिनुपर्नेमा पनि छलफल भएको थियो । यसका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा रहनुभएका व्यक्तित्वहरू जबाफदेही हुनुपर्ने र ती व्यक्तित्वहरूको पहिचान र अभिलेखीकरण गरी सम्बन्धित मुद्दामा उहाँहरूलाई परिचालन गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने विषयमा पनि सहभागीहरूको राय रहेको थियो ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा अझ सशक्त उपस्थितिका लागि नेपालीहरूको सदाचार, प्रतिस्पर्धी क्षमता, र अन्तरव्यक्ति तथा अन्तरदेशीय सञ्चार महत्त्वपूर्ण हुने विषय उठान गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो ।
आमन्त्रित सहभागीहरू (बहुपक्षीय संस्थाका पूर्व अन्तर्राष्ट्रिय पेशाकर्मीहरू)
१. भाइ राजा पाण्डे (संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग, शरणार्थी मामिला)
२. भारती सापकोटा (विश्व खाद्य कार्यक्रम)
३. भीम उदास (विश्व खाद्य कार्यक्रम)
४. विजय कर्माचार्य (संयुक्त राष्ट्र सङ्घीय मानव बस्ती कार्यक्रम)
५. विजय राजभण्डारी (संयुक्त राष्ट्र सङ्घीय बाल कोष)
६. विश्व पराजुली (विश्व खाद्य कार्यक्रम)
७. हरि कृष्ण बास्कोटा (संयुक्त राष्ट्र सङ्घीय बाल कोष)
८. कृष्ण पहारी (विश्व खाद्य कार्यक्रम)
९. नरेन्द्र श्रेष्ठ (संयुक्त राष्ट्र सङ्घीय बाल कोष)
१०. राजेश न्यौपाने (रुवाण्डाका लागि संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण)
११. सम्झना श्रेष्ठ (एसियाली विकास बैंक)
१२. शिव लाल शर्मा भूसाल (संयुक्त राष्ट्र सङ्घीय बाल कोष)
१३. उदय रेग्मी (अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रेसेन्ट सोसाइटीहरूको महासंघ)
१४. शान्ति रिजाल काफ्ले (संयुक्त राष्ट्र सङ्घीय बाल कोष)
१५. श्याम थापा (विश्व स्वास्थ्य सङ्गठन)
नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट सहभागीहरू
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
९. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१०. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
११. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१२. डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
१३. डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
१४. गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
१५. सोनिया बस्याल (विश्लेषक)
१६. सुधीर श्रेष्ठ (विश्लेषक)
१७. सञ्जु कुमारी सरबरिया (वरिष्ठ सहायक)
१८. पर्वत भट्टराई (वरिष्ठ सहायक)
१९. रोजिन राई (इन्टर्न)
२०. कुसुम ढुंगाना (इन्टर्न)
२१. सुलक्षा भण्डारी (इन्टर्न)
२२. सुसन तामाङ (इन्टर्न)