नीति अनुसन्धान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

Policy Research Institute and Tribhuvan University Signed an MoU

नीति अनुसन्धान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय बीच २०७७ साल चैत महिनाको २५ गते  दिर्घकालीन सहकार्यका लागि पाँच वर्षसम्म रहने गरी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो  । आ-आफ्ना आधारभूत मान्यताहरू (त्रिभुवन विश्वविद्यालयको हकमा गुणात्मक शिक्षा र अनुसन्धान मार्फत उच्च-ज्ञान र सीपयुक्त मानव संसाधन उत्पादन गर्ने र नीति अनुसन्धान प्रतिष्ठानको हकमा अनुसन्धानमा आधारित प्रमाणबाट सार्वजनिक नीति सुधार र नवप्रवर्तन  गर्ने) मा प्रतिवद्ध भई दुई संस्थाहरू नीति अनुसन्धान, सार्वजनिक नीति संवादका लागि प्राज्ञिकसंवाद, अनुसन्धान क्षमता विकास, अनुसन्धान मानक र आचारको अभिवृद्धि, प्राज्ञिक अनुसन्धान र शैक्षिक कार्यक्रमलाई नीति अनुसन्धानसँग जोड्ने लगायतका विषयहरूमा सहकार्य गर्न  सहमत भएको हो ।

उक्त समझदारी अनुसार पारस्परिक रुपमा निर्धारण गरिने कार्यविधिको  आधारमा विश्वविद्यालय, मातहतका केन्द्रीय विभाग, कलेज तथा अनुसन्धान केन्द्र तहहरूमा सहकार्य हुनेछ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा र रजिस्ट्रार प्रा. डा. पेशल दाहालको उपस्थितिमा उक्त विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. शिवलाल भुषाल र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीद्वारा उक्त समझदारीपत्रमा त्रिवि उपकुलपतिको कार्यालय कीर्तिपुरमा हस्ताक्षर भएको थियो ।  त्रिविका तर्फबाट त्रिवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. उमेश कुमार मण्डल, त्रिवि अन्तराष्ट्रिय  सम्बन्ध तथा कुटनीति विभागका प्रा. डा.  खड्ग के.सी. र त्रिवि सुचना तथा जनसम्पर्क विभाग प्रमुख श्री योगेन्द प्रसाद दाहाल को उपस्थिति थियो भने नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खडका, वरिष्ठ अनुसन्धानकर्ताहरू डा. मुक्ति राम रिजाल, डा. खगनाथ अधिकारी, डा. हरि शर्मा न्यौपाने, कार्यालय प्रवन्धक श्री लक्ष्मण प्रसाद भट्टराई र प्रतिष्ठानको पुस्तकालयका श्री विमल शर्माको उपस्थिति थियो ।