logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को माध्यमबाट दिगो विकास लक्ष ६ को स्थानीयकरण सम्बन्धी नीति प्रवचनको आयोजना

राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को माध्यमबाट दिगो विकास लक्ष ६ को स्थानीयकरण सम्बन्धी नीति प्रवचनको आयोजना

पौष २६, २०७९ (जनवरी १०, २०२३) का दिन नीति अनुसन्धान संस्थान, नारायणहिटी को सभाकक्षमा नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर डा. रजित ओझाले “राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को प्रयोगको माध्यमबाट दिगो विकास लक्ष ६ को स्थानीयकरण” सम्बन्धी नीति प्रवचन दिनुभयो l प्रतिष्ठानका अनुसन्धाताहरूको उपस्थित रहेको उक्त प्रवचनमा देहायका विषयहरू समावेश गरिएका थिए:
- नेपालमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणालीको सञ्चालन र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य, अधिकार र दायित्व
- राष्ट्रिय खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को आवश्यकता, विकास र कार्य
- दिगो विकास लक्ष्य ६ (सबैको निम्ति खानेपानी तथा सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन) सुनिश्चित गर्न आवश्यक खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यदिशाको महत्त्व 
- खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी योजना निर्माण, योजनाको कार्यान्वयनका लागि क्षमता विकास तथा स्रोत परिचालन, योजना कार्यान्वयनको प्रभावकारिताको, अनुगमन, मूल्याङ्कन तथा रिपोर्टिङ 

प्रस्तुतिका क्रममा डा ओझाले लगानी, पूर्वाधार, खानेपानी, सरसफाइ तथा स्वच्छता गतिविधिको स्थानीयकरण गर्नु स्थानीय सरकारका लागि चुनौतीपूर्ण रहेको बताउँदै स्थानीय स्तरमा खानेपानी,  सरसफाइ तथा स्वच्छतासम्बन्धी  उपयुक्त योजना निर्माण गर्नका लागि आवश्यक हुने सूचना तथा सामग्री उपलब्ध गराउन राष्ट्रिय खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली विकसित गरिएको जानकारी दिनुभयो ।

जनसङ्ख्या, पूर्वाधारको अवस्था तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाको माग र आपूर्तिको आधारमा समावेशी तथा लैङ्गिक समानता प्रत्याभूत गर्ने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य योजना तयार गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली पोर्टलले उक्त कार्य योजना निर्माणका लागी चाहिने आधारभूत सूचना-सामग्री  उपलब्ध गराई स्थानीय सरकारहरूलाई सहयोग गरिरहेको जानकारी दिनुभयो l खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणालीले स्थानीय सरकारलाई दिगो विकास लक्ष्य (६) सँग जोडिन तथा सो लक्ष्यसँग सम्बन्धित प्रगतिको अनुगमन, मूल्याङ्कन तथा रिपोर्टिङमा पनि सहयोग पुर्‍याउने बताउनुभयो ।

प्रस्तुतिपछि डा ओझा र प्रतिष्ठानका अनुसन्धाताबिच खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणालीका प्राविधिक पक्ष र यसले सुशासनमा पुर्‍याउने योगदानका बारेमा अन्तरक्रियाको आयोजना गरिएको थियो l

कार्यक्रमका फोटोहरुका लागि यहाँ क्लिक गर्नुहोला