September 1, 2024
२०८१ भदौ १६
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न उच्च शैक्षिक संस्थाहरूमा कानून सङ्कायमा अध्ययनरत विद्यार्थीहरूका लागि सार्वजनिक नीतिका विविध आयामहरू र कानून निर्माण प्रक्रियाका व्यावहारिक पक्षहरूबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कानून विषयका विद्यार्थीहरूको सामाजिक संस्था युथ फर लिगल अवेरनेसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सहयोगी संस्थामा आवद्ध सहित त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध विभिन्न उच्च शैक्षिक संस्थाहरूमा कानून विषयमा अध्ययनरत ३९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतिष्ठानकी विश्लेषक रीजा मानन्धरले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै प्रतिष्ठानका कार्यालय प्रवन्धक लक्ष्मण प्रसाद भट्टराईले सार्वजनिक नीति र कानूनका क्षेत्रमा युवा विद्यार्थीहरूको आकर्षण र चासो मुलुकको विकासका सन्दर्भमा सकारात्मक कुरा भएको बताउनु भयो। कार्यक्रमको आयोजनामा सहजीकरण र सहयोग गरेको विद्यार्थीहरूको संस्था युथ फर लिगल अवेरनेसका अध्यक्ष दिवस राज पौडेलले कार्यक्रमको सान्दर्भिकता र औचित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट तीनवटा विषयगत प्रस्तुतीकरण गरिएको थियो । पहिलो प्रस्तुतिका क्रममा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपानेले सहभागीहरूलाई नीति अनुसन्धान प्रतिष्ठानको संक्षिप्त परिचय, प्रतिष्ठानको कार्यादेश र प्रतिष्ठानले गर्ने मुख्य कार्यहरूबारे जानकारी गराउनु भयो । प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्रका प्रमुख समेत रहनुभएका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले सार्वजनिक नीति र नेपालमा नीति निर्माण प्रक्रियाका बारेमा प्रस्तुति गर्नुभयो । यसै गरी, प्रतिष्ठानको शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्रका प्रमुख समेत रहनुभएका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजालले नेपालमा कानून निर्माण प्रक्रिया र यसमा देखिएका समस्याका बारेमा विवेचनात्मक प्रस्तुति गर्नु भएको थियो ।
प्रस्तुतीकरण पश्चात सहभागी विद्यार्थीहरूले प्रतिष्ठानको कार्यादेश, अध्ययनको दायरा, डिजिटल पुस्तकालय, जर्नल प्रकाशन आदि विषयमा जिज्ञासा प्रकट गरेका थिए । साथै नीति तथा कानूनका प्रक्रियागत र समसामयिक विषयहरू, नीति निर्माणका समस्याहरू तथा कार्यान्वयनको स्थिति र यस पक्षमा प्रतिष्ठानको भूमिकाबारे पनि विद्यार्थीहरूले गरेका प्रश्नहरूको सम्बन्धित प्रस्तोताहरूले जवाफ दिनुभयो । कार्यक्रमको अन्त्यमा बोल्दै सहयोगी संस्था युथ फर लिगल अवेरनेसका अध्यक्ष दिवस राज पौडेलले प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले सार्वजनिक नीतिका विविध पक्षहरू र नेपालमा कानून निर्माण प्रक्रियाका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूबारे थप ज्ञान हासिल गरेको र नीति अनुसन्धान प्रतिष्ठान र यसका कार्यक्रमका बारेमा पनि प्रष्ट हुने मौका मिलेको बताउदैं कार्यक्रमको आयोजनाका लागि प्रतिष्ठानलाई र सहभागिताका लागि सबै विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सहभागी विद्यार्थीहरू
नीति अनुसन्धान प्रतिष्ठान