logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा औद्योगिक विकासका लागि रणनीतिक दिशा पहिल्याउन नीति अध्ययनको सिलसिलामा स्थलगत अध्ययन भ्रमणहरू सम्पन्न गर्‍यो

नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा औद्योगिक विकासका लागि रणनीतिक दिशा पहिल्याउन नीति अध्ययनको सिलसिलामा स्थलगत अध्ययन भ्रमणहरू सम्पन्न गर्‍यो

नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा औद्योगिक विकासका लागि रणनीतिक दिशा पहिल्याउन नीति अध्ययनको सिलसिलामा स्थलगत अध्ययन भ्रमणहरू सम्पन्न गर्‍यो

 May 16, 2025

२०८२ वैशाख १४ देखि जेठ २
समेटिएका जिल्लाहरू: सिन्धुली, धनुषा, मोरङ, सुनसरी, झापा, इलाम, काठमाडौँ र ललितपुर

नीति अनुसन्धान प्रतिष्ठानद्वारा “नेपालमा औद्योगिक विकासका लागि रणनीतिक दिशा” शीर्षकमा एक अध्ययन परियोजना सञ्चालन भइरहेको छ। कृषि तथा गैर-काष्ठ वन पैदावार प्रशोधन उद्योग, हस्तकला क्षेत्र र खानी तथा काठमा आधारित प्राकृतिक स्रोत सम्बन्धी उद्योगहरूलाई प्राथमिकता क्षेत्रको रूपमा राखी नेपालको औद्योगिक विकासका लागि रणनीतिक दिशानिर्देश तय गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ।

यस अध्ययन अन्तर्गत प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्रका अनुसन्धानकर्ताहरूले बागमती, मधेश र कोशी प्रदेशमा अध्ययन भ्रमणका कार्य सम्पन्न गर्नुभएको छ। यस अध्ययन भ्रमणअन्तर्गत सिन्धुली, धनुषा, मोरङ, सुनसरी, झापा, इलाम, काठमाडौँ र ललितपुर जिल्लाका विभिन्न नगरपालिकाहरू समेटिएका थिए।

अनुसन्धान टोलीद्वारा संघीय, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरू, उद्योग विशेषज्ञहरू, किसानहरू, उद्यमीहरू र सहकारीका प्रतिनिधिहरूसँग व्यापक रूपमा छलफल तथा अन्तरक्रिया गरियो। अध्येताहरूले २८ जना प्रमुख सूचनादाताहरूसँग अन्तर्वार्ता र ११ वटा लक्षित समूह छलफलहरू आयोजना गर्नुभयो, जसमा कुल २११ जनाको सहभागिता रह्यो।

अध्ययन भ्रमणका मुख्य गतिविधिहरू:

सिन्धुलीमा, खनियाखर्कस्थित सामुदायिक वन कार्यालयमा जुनार (सिट्रस) प्रशोधन उद्योगहरूको सम्भावना र समस्याहरूका विषयमा जुनार किसान, प्रशोधनकर्ता र सहकारीहरूसँग छलफल गरियो।

धनुषामा, जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा आयोजित अन्तरक्रियात्मक सत्रमा मिथिला कला उद्योग प्रवर्द्धनमा केन्द्रित भएर छलफल गरियो। महिला उद्यमी, कलाकार, पत्रकार, र प्राध्यापकहरूले बजार पहुँच, संस्थागत समर्थन र बौद्धिक सम्पत्ति संरक्षणसँग सम्बन्धित चुनौतीहरू प्रस्तुत गरे।

सुनसरीमा, तरहरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कृषि वैज्ञानिकहरूसँग बालीमा आधारित उद्योगहरूबारे र पशु विज्ञहरूसँग मासुमा आधारित प्रशोधन उद्योगहरूको सम्भाव्यताबारे पृथक् छलफल गरियो।

मोरङको विराटनगरमा ‘मोरङ उद्योग वाणिज्य संघ’का पदाधिकारीहरूसँग औद्योगिक चुनौतीहरूको बारेमा अन्तर्क्रिया गरियो। यसै गरी, पूर्वाञ्चल विश्वविद्यालयमा थप छलफलका कार्यक्रमहरू आयोजना गरियो, जहाँ शैक्षिक क्षेत्रले कसरी औद्योगिक विकास र दक्ष जनशक्ति उत्पादनमा योगदान गर्न सक्छ भन्ने विषयमा छलफल भयो।

झापाको बिर्तामोडस्थित झापा जिल्ला सहकारी संघमा सहकारी प्रतिनिधिहरूसँग कृषि-औद्योगिक प्रवर्द्धनमा सहकारीहरूको भूमिका र चुनौतीहरूबारे संवाद गरियो। अन्तरक्रियाका साथै, सुपारी र बाँसमा आधारित हस्तकला उद्योगमा संलग्न स्थानीय उद्यमीहरूको व्यवसायको समेत अवलोकन गरियो।

इलामको फिक्कलस्थित सूर्योदय नगरपालिकामा नगर कार्यपालिका अधिकारीहरूसँग र सहकारी प्रतिनिधिहरूसँग चिया र अलैँचीमा आधारित कृषि-प्रशोधन उद्योगहरूको प्रवर्द्धनमा स्थानीय प्रयास र संस्थागत समन्वयका बारेमा लक्षित छलफल कार्यक्रम आयोजना गरियो।

काठमाडौँस्थित खानी तथा भूगर्भ विभागमा प्राविधिक र प्रशासनिक कर्मचारीहरूसँग खनिजमा आधारित उद्योगहरूको सम्भावना र नियामक अड्चनहरूको अन्वेषण गर्न परामर्श बैठक आयोजना गरियो।

यसरी गरिएको विस्तृत अध्ययन भ्रमणले विविध परिदृश्यमा नेपालका सम्भावित औद्योगिक क्षेत्रहरूको प्रत्यक्ष अन्तर्दृष्टि प्रदान गर्‍यो। प्रमुख सूचनादातासँगको अन्तर्वार्ता र लक्षित समूह छलफलहरू मार्फत गरिएको व्यापक अन्तरक्रियाबाट कृषि, गैर-काष्ठ वन पैदावार, हस्तकला, र प्राकृतिक स्रोतमा आधारित उद्योगहरूमा रहेका चुनौतीहरू, अवसरहरू, र स्थानीय अवस्थाबारे वस्तुस्थिति बुझ्न सघाउ पुगेको छ। अध्ययनबाट सङ्कलित अनुभव र तथ्याङ्कहरू प्रमाणमा आधारित अनुसन्धान प्रतिवेदनमा समावेश हुनेछन् जसबाट नीतिगत सिफारिसहरू निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ। यस अध्ययनले नेपालका लागि दिगो र सबल औद्योगिक विकास रणनीति निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

लक्षित समूह छलफल आयोजना गरिएका स्थान र सहभागी संख्या:
सामुदायिक वनको कार्यालय, खनियाखर्क (१४ जना)
राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम (२६ जना)
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा (१४ जना)
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा (१४ जना)
मोरङ उद्योग वाणिज्य संघ, बिराटनगर (१० जना)
पूर्वाञ्चल विश्वविद्यालय, बिराटनगर (१३ जना)
पूर्वाञ्चल विश्वविद्यालय, बिराटनगर (२० जना)
झापा जिल्ला सहकारी संघ, बिर्तामोड (२६ जना)
सूर्योदय नगरपालिका, फिक्कल (२७ जना)
सूर्योदय नगरपालिका, फिक्कल (२६ जना)
खानी तथा भूगर्भ विभाग, काठमाडौँ  (२१ जना)

मुख्य सूचनादाता अन्तर्वार्ताको विवरण:
रुकुमाया थापा (कृषक/उद्यमी, खनियाखर्क, सिन्धुली)
सुनिल कुमार झा (वरिष्ठ अधिकृत, जनकपुर उपमहानगरपालिका)
जय कुमार घिमिरे (सचिव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश)
अजित कुमार महतो (अधिकृत, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश)
अविनव अन्शु (व्यवस्थापक, जनकपुर महिला विकास केन्द्र)
छठ्ठु प्रसाद गुप्ता (उद्यमी, विजय पेडा भण्डार, बर्माझिया, सप्तरी)
रामदेव मण्डल (कृषक: आँप, रूपनगर नगरपालिका-९, सप्तरी)
नारायण प्रसाद लामिछाने (प्रबन्धक, आर.के.जी. ग्रुप: अरिहन्त मल्टिपल फाइबर, विराटनगर, मोरङ)
उमेश खड्का (प्रवक्ता, जनता मल्टिपल क्याम्पस, सुनसरी)
मोहन पौडेल (अध्यक्ष, देवियान सामुदायिक वन उपभोक्ता समिति, मोरङ)
भीम बहादुर खतिवडा (प्रमुख कृषक: सुपारी, अर्जुनधार -१०, झापा)
हरिकृष्ण गुप्ता (व्यवसायी: सुपारी, अर्जुनधार -१०, झापा)
लिला कुमार खतिवडा (कृषक: सुपारी, अर्जुनधार -१०, झापा)
सुनील सिवाकोटी (व्यवस्थापक, सुन्दर आधुनिक कृषि संसार, विर्तामोड, झापा)
मनोहर कुमार प्रधान (उद्यमी, शुवम् वेत बाँस उद्योग, काँकडभिट्टा, झापा)
राजु सुनुवार (कृषक: चिया, अलैंची, अम्रिशो; फिक्कल, इलाम)
तुलु तामाङ (उद्यमी, लक्की डेरी प्रा. लि., फिक्कल, इलाम)
नवकुल शर्मा (भन्सार अधिकृत, पशुपतिनगर भन्सार कार्यालय, इलाम)
शिवलाल प्रधान (उद्यमी, कोसेली ललिपप उद्योग, फिक्कल, इलाम)
घनश्याम प्रसाई (उद्यमी, हिमालयन लश इन्ट्रीज प्रा. लि., बुधबारे, झापा)
उज्ज्वल अधिकारी (महारानीझोडा साईलेज उद्योग, महारानीझोडा, झापा)
गोमा देवी बिष्ट (उपाध्यक्ष, महारानीझोडा साना किसान कृषि सहकारी संस्था, महारानीझोडा, झापा)
निखिल कट्टेल (प्राविधिक, महारानीझोडा साना किसान कृषि सहकारी संस्था, महारानीझोडा, झापा)
सञ्चिता थापा मगर (सह-सचिव, सिन्धुली कला घर, सिन्धुलीगढी, सिन्धुली)
शंकर पाण्डे (अध्यक्ष, निर्यात व्यवसायी महासंघ, नेपाल, लाजिम्पाट, काठमाडौँ)
डा. जनक बहादुर चन्द (मुख्य कार्यकारी अधिकृत, धौवादी फलाम कम्पनी, लैनचौर, काठमाडौँ)
डा. गणेश ऐरे (उद्यमी, गणेश हेम्प प्रा. लि., बुढानीलकण्ठ, काठमाडौँ)
धर्मराज शाक्य (सचिव, हस्तकला महासंघ नेपाल, पाटन औद्योगिक क्षेत्र, ललितपुर)

अध्ययन भ्रमण टोली:
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
सतिस सापकोटा (इन्टर्न)