डा. दिनेश भट्टराई

सन् १९५३ मा अर्घाखाँची जिल्लामा जन्मनु भएका डा. भट्टराईले जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, बाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ भने वनारस हिन्दु विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह र नेदरल्यान्ड्सको Institute of Social Studies बाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमाको तह समेत पूरा गर्नुभएको छ ।

सन् १९८३ मा नेपालको परराष्ट्र मन्त्रालयमा सेवा थाल्नुभएका डा. भट्टराई सन् १९९१ देखि सन् १९९४ सम्म नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रथम सचिव (राजनीतिक मामिला) र सन् १९९८ देखि २००३ सम्म वाशिंगटन डीसी स्थित नेपाली राजदूतावासमा नियोग उपप्रमुख भई काम गर्नु भएको छ । सन् २००९ मा डा. भट्टराईले जेनेभास्थित संयुक्त राष्ट्र संघको लागि राजदूत/आवासीय प्रतिनिधिका साथै स्वीस कन्फेडेरेशन, इटाली र क्रोएशियाका लागि राजदूत भई काम गर्नुभएको थियो । जेनेभामा रहँदा उहाँले सन् २००९ देखि २०१२ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गतको अतिकम विकसित राष्ट्र समूहको नेतृत्व गर्नुभएको थियो ।

डा. भट्टराई सन् २०१४ देखि २०१५ र सन् २०१७ देखि २०१८ सम्म नेपालका प्रधानमन्त्रीहरूको परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्थ्यो ।

श्री केदारभक्त श्रेष्ठ

श्री केदारभक्त श्रेष्ठ सन् १९३८ मा काठमाडौँमा जन्मनु भएका श्री श्रेष्ठले सन् १९५९ मा University of Bombay बाट राजनीतिशास्त्र र अन्तराष्ट्रिय मामिलामा स्नातकोत्तर र सन् १९५५ मा नेपालको त्रिचन्द्र कलेजबाट स्नातक तह पूरा गर्नुभएको छ ।

सन् १९६४ मा नेपालको निजामती सेवाको परराष्ट्र मन्त्रालय अन्तर्गत प्रवेश गर्नु भएका श्री श्रेष्ठले सन् १९९७ देखि २००२ सम्म यूरोपियन यूनियन र बेल्जियम, नेदरल्यान्ड्स तथा लग्जेम्वर्गका लागि र सन् २००४ देखि २००६ सम्म संयुक्त राज्य अमेरिकाका लागि राजदूत भई काम गर्नु भएको छ । उहाँको पहिलो नियुक्ति सन् १९६५ मा जर्मनीको बन (Bonn) मा स्थापना हुन लागेको नेपाली राजदुतावासमा भएको थियो भने सन् १९७३ देखि १९७७ सम्म उहाँले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा प्रथम सचिव र सन् १९८० देखि सन् १९८४ सम्म संयुक्त राज्य अमेरिकाकाको वाशिंगटनस्थित नेपाली राजदूतावासमा नियोग उपप्रमुख तथा काउन्सेलर भई कार्य गर्नुभएको छ । मन्त्रालयमा रहँदा उहाँले विभिन्न विभाग प्रमुख तथा उत्तर-पूर्वी तथा दक्षिण-पूर्वी एसिया डिभिजनहरूको प्रमुख भई काम गर्नु भएको थियो । उहाँ सन् १९८७ देखि १९९२ सम्म सार्क सचिवालयमा नेपालको तर्फबाट सह-सचिव तहको पहिलो निर्देशक र सन् १९९४ देखि १९९७ सम्म परराष्ट्र सचिव हुनुहुन्थ्यो ।

प्रा. सुर्यप्रसाद सुवेदी

प्रा. सर्य प्रसाद सुवेदी लन्डनस्थित Three Stone Chambers, Lincoln’s Inn मा वरिष्टर, University of Leeds मा अन्तराष्ट्रिय कानूनका प्राध्यापक र University of Oxford मा अतिथि प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ अन्तराष्ट्रिय कानूनका ज्ञाता मध्येका एक हुनुहुन्छ भने उहाँसँग अन्तराष्ट्रिय व्यापार र लगानी, जमिन तथा सामुद्रिक क्षेत्रको अन्तराष्ट्रिय सीमाना, अन्तराष्ट्रिय मानव अधिकार कानून लगायतका विषयमा विशेष ज्ञान र क्षमता रहेको छ । प्राध्यापन, अनुसन्धान र वकालत मार्फत तथा नीति निर्माण गर्ने तथा सल्लाह दिने  उच्च तहका विभिन्न जिम्वेवारी तथा पदहरूमा  रही उहाँले यस क्षेत्रका आफ्नो विज्ञता प्रमाणित गर्नु भएको छ । उहाँले विश्वका विभिन्न देशका सरकारहरूलाई अन्तराष्ट्रिय कानूनी विषयमा सल्लाह दिने र ती विषय र मुद्धाहरूमा उनीहरूका कानूनी सल्लाहकारका रूपमा अन्तराष्ट्रिय न्यायलयमा प्रतिनिधित्व गर्नुभएको छ । अन्तराष्ट्रिय कानूनमा उहाँका धेरै लेख, रचना र पुस्तकहरू प्रकाशित छन् ।

अन्तराष्ट्रिय कानूनको विकासमा उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै University of Oxford ले सन् २०१९ मा उहाँलाई Doctor of Civil Law (DCL) उपाधि प्रदान गरेको छ । प्रा. सुवेदीले सन् १९९३ मा अन्तराष्ट्रिय कानूनमा पुरस्कार सहितको विद्यावारिधि उपाधि हासिल गर्नुभएको थियो, सन् २०११ मा the Institut de Droit International (Institute of International Law) मा निर्वाचित हुनुभएको थियो भने सन् २०१५ मा सो इन्स्टिच्युटको Titular Member हुनुभएको थियो । सन् २००९ देखि २००१५ सम्म प्राध्यापक सुवेदीले कम्बोडियामा मानव अधिकारका लागि संयुक्त राष्ट्र संघीय विशेष समाधीक्षक भई कार्य गर्नुभएको छ । उहाँ विश्व आर्थिक मंचको लगानी नीति सम्बन्धमा बनेको कार्यदलको सदस्य समेत हुनुहुन्छ ।