विज्ञहरू | प्रोफाइल

डा. दिनेश भट्टराई
Biography

सन् १९५३ मा अर्घाखाँची जिल्लामा जन्मनु भएका डा. भट्टराईले जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, बाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ भने वनारस हिन्दु विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह र नेदरल्यान्ड्सको Institute of Social Studies बाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमाको तह समेत पूरा गर्नुभएको छ ।

सन् १९८३ मा नेपालको परराष्ट्र मन्त्रालयमा सेवा थाल्नुभएका डा. भट्टराई सन् १९९१ देखि सन् १९९४ सम्म नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रथम सचिव (राजनीतिक मामिला) र सन् १९९८ देखि २००३ सम्म वाशिंगटन डीसी स्थित नेपाली राजदूतावासमा नियोग उपप्रमुख भई काम गर्नु भएको छ । सन् २००९ मा डा. भट्टराईले जेनेभास्थित संयुक्त राष्ट्र संघको लागि राजदूत/आवासीय प्रतिनिधिका साथै स्वीस कन्फेडेरेशन, इटाली र क्रोएशियाका लागि राजदूत भई काम गर्नुभएको थियो । जेनेभामा रहँदा उहाँले सन् २००९ देखि २०१२ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गतको अतिकम विकसित राष्ट्र समूहको नेतृत्व गर्नुभएको थियो ।

डा. भट्टराई सन् २०१४ देखि २०१५ र सन् २०१७ देखि २०१८ सम्म नेपालका प्रधानमन्त्रीहरूको परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्थ्यो ।