नीति अनुसन्धान प्रतिष्ठान विकास समिति

नीति अनुसन्धान प्रतिष्ठानको सञ्चालन कार्यकारी अध्यक्ष र चार जना अन्य सदस्य रहने पाँच सदस्यीय नीति अनुसन्धान प्रतिष्ठान विकास समितिबाट हुन्छ । वैज्ञानिक अनुसन्धान, रणनीतिक नेतृत्व र सामाजिक रुपान्तरणमा विशेष योगदान दिएका राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट नेपाल सरकारले समावेसी किसिमले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका अध्यक्ष र सदस्यहरूको नियुक्ति गर्दछ ।  

विकास समितिले विशेषज्ञ समूहको रूपमा नेपालले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य गर्दछ। मुलुकमा आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनु पर्ने नीति र उपायका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने, निजामती वा सार्वजनिक सेवालाई थप प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी कारबाहीको लागि सम्बन्धित मन्त्रालय पठाउने प्रतिष्ठानका अन्य कार्यहरू हुन्  ।