वित्तीय सङ्घीयतासम्बन्धी विशेष प्रवचनको आयोजना

December 22, 2022

मिति: २०७९ पुस ७ (२२ डिसेम्बर २०२२)

स्थान: नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय

२०७९ पुस ७ गते नीति अनुसन्धान प्रतिष्ठानले “नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको अवस्था, अवसर र चुनौतीहरू” शीर्षकमा नीति प्रवचनको आयोजना गर्‍यो l नीतिगत महत्त्वका अहम् सवालमा केन्द्रित रही आयोजना गरिने नीति प्रवचन शृङ्खलाअन्तर्गत आयोजित यो छैटौँ नीति प्रवचनको प्रस्तोता राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष माननीय बालानन्द पौडेल हुनुहुन्थ्यो l

आफ्नो प्रस्तुतिमा माननीय पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय संरचना र यसका घटकहरूबिचमा संविधानले परिकल्पना गरेको स्रोतको वितरण र बाँडफाँडको अवस्था र अपेक्षाको चर्चा गर्नुभयो l उहाँले आफ्नो प्रस्तुतिमा वित्तीय सङ्घीयताका आयाम र आधारहरू; राजस्वको स्रोत र वितरण; अनुदानका प्रकार र प्रक्रिया; आन्तरिक ऋणका सीमा; र, प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी र त्यसको वितरणको अवस्था र परिदृश्यको चर्चा गर्नुभयो l प्रस्तुतिमा वित्तीय सङ्घीयताको अहिलेसम्मको अनुभव, सम्बोधन हुन बाँकी सवालहरू र तिनको निदानका उपायहरूका बारेमा पनि चर्चा गरिएको थियो l             

नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा विष्णु राज उप्रेतीको अध्यक्षता र सञ्चालनमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अनुसन्धाताहरू, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य डा. जुद्ध गुरुङ र वित्तीय सङ्घीयताका बारेमा रुचि राख्ने केही व्यक्तित्वहरूको उपस्थिति रहेको थियो l