नेपालमा कृषि नीति र अभ्यासहरूसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

January 8, 2023

मिति: २०७९ पुस २३-२४

मिति २०७९ पौष २३-२४ गते (तदनुसार जनवरी ६-७, २०२३ ) नेपाल सरकारको विज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान, काठमाडौँ र अमेरिकामा रहेका नेपाली कृषि विज्ञहरूको छाता सङ्गठन – नापा –  को संयुक्त आयोजनामा “Agricultural Policies and Practices in Nepal: Pathways for Transformation” विषयमा दुई दिने भर्चुअल (जुम) सङ्गोष्ठी (Symposium)  सम्पन्न भएको छ l उक्त सङ्गोष्ठीमा कृषि तथा पशु पक्षी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (त्रि.वि.), नेपाल कृषि सहकारी केन्द्रीय महासङ्घ लिमिटेड र सोसाइटी अफ एग्रिकल्चरल साइन्टिष्ट – नेपाल गरी ६ संस्थाहरूले सह-आयोजकको भूमिका निर्वाह गरेका थिए ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा  डा. उप्रेती र नापाका अध्यक्ष डा. प्रदीप वाग्लेले सहभागीहरू माझ स्वागत मन्तव्य राख्नु भएको थियो । नापा स्थापना दिवससमेतको अवसर पारेर आयोजित उक्त कार्यक्रममा नापाका निवर्तमान अध्यक्ष डा. मेधनाथ पराजुली र सल्लाहकार प्रा. गोपी उप्रेतीबाट कृषिका सुसेलीहरू नामक नापाको प्रकाशन विमोचन पनि भएको थियो l

उक्त उद्घाटन कार्यक्रममा क्यानबेरा विश्वविद्यालय, अस्ट्रेलियाका सह-प्राध्यापक डा. हेमन्त ओझाले Improving Agricultural and Natural Resources Management Policies and Critical Action Research विषयमा विशेष मन्तव्य (keynote speech) राख्नु भएको थियो l

उक्त सङ्गोष्ठीको उद्घाटन कार्यक्रमको समापनमा आफ्नो धारणा राख्दै नेपाल सरकार, कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नीति अनुसन्धान प्रतिष्ठान र नापाले कृषि क्षेत्रका नीति निर्माता, अनुसन्धानकर्ता, कृषि विश्वविद्यालय र नेपाल बाहिर रहेर कृषि क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाली विज्ञहरूलाई समेटेर कृषि नीति सम्बन्धी वृहत् गोष्ठी आयोजना गरेकोमा धन्यवाद दिँदै गोष्ठीमा समावेश भएमा विविध कार्यपत्रले नेपालमा कृषि क्षेत्रले अङ्गाल्नु गर्ने नीतिगत विषयलाई मार्गदर्शन गर्ने अपेक्षा राख्नुभएको      थियो l यसै गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मीले अनुसन्धानकर्ता, कृषि क्षेत्रको विकासमा संलग्न कृषि प्राविधिक तथा नीतिका अभ्यासकर्ता, कृषि सहकारी, विश्वका विभिन्न  विश्वविद्यालय तथा सङ्घ संस्थामा आबद्ध भएर योगदान गरी रहनुभएका कृषि विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता आदिको अनुभव साटासाट गर्ने र कृषि क्षेत्रका विभिन्न विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरू कृषि शिक्षा तथा अनुसन्धान कार्यमा फलदायी हुने धारणा व्यक्त गर्नु भएको थियो l

यसै गरी उद्घाटन कार्यक्रमको समापनमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले कृषि नीति सम्बन्धी यस सङ्गोष्ठीमा कृषिसँग सम्बद्ध सबै पक्षहरू, नीति निर्माता, कृषि अनुसन्धानकर्ता, अभ्यासकर्ता, कृषि शिक्षामा संलग्न विश्वविद्यालयका प्राध्यापकहरू, कृषि सहकारी आदि पक्षको सहभागितामा नेपालको कृषि नीति कस्तो हुनुपर्छ र कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आफ्ना व्यवहारिक अनुभवहरू तथा नयाँ धारणा साटासाट गर्ने अवसर प्रदान गरेको अभिव्यक्ति राख्दै विश्वका विभिन्न क्षेत्रमा रहेर कृषि क्षेत्रको अनुसन्धान, कृषि शिक्षा तथा नीतिहरूको अभ्यासमा संलग्न रहनु भएका नेपाली विज्ञहरूको अनुभव समेत सिक्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै उहाँले गोष्ठीमा प्रस्तुत हुने अनुसन्धानमूलक लेख र कार्यपत्रहरूले कृषि क्षेत्रका विविध विषयमा कस्तो नीति हुनुपर्छ र कृषि क्षेत्रका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समग्र नेपालको कृषि क्षेत्रलाई मार्गदर्शन गर्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले गोष्ठीबाट प्राप्त कृषि क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू नीति निर्माताहरूका लागि उपयुक्त पृष्ठपोषण हुने विचार व्यक्त गर्नु भएको थियो l

कृषि नीति सम्बन्धी यस सङ्गोष्ठीको प्राविधिक सत्रमा विभिन्न विद्यागत क्षेत्रका ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए  l सङ्गोष्ठीको पहिलो सेसन  वातावरण, जलवायु परिवर्तन र जैविक (अर्ग्यानिक) कृषि विधा सम्बद्ध थियो, जसमा ५ वटा कार्यपत्रहरू प्रस्तुत भएका थिए l यसै गरी, दिगो कृषि र चक्रीय अर्थव्यवस्था (सर्कुलर इकोनोमी) विधा अन्तर्गत ४ वटा कार्यपत्र, प्लान्ट जेनेटिक्स/प्रजनन र पशु विकास विधामा ३ वटा कार्यपत्र, कृषि व्यवसाय, सहकारी र सञ्चार विधामा ५ वटा र खाद्य तथा पोषण सुरक्षा विधामा ५ वटा कार्यपत्र प्रस्तुत भएको थियो l यसका अतिरिक्त कृषि क्षेत्रको अनुसन्धान शिक्षा र प्रसार विधा अन्तरगत गत ७ वटा, नवप्रवर्धन प्रविधि र पूर्वाधार विकास नीति अन्तरगत ३ वटा र सुशासन – सेवा प्रवाह र मूल्याङ्कन विधा अन्तर्गत ४ वटा कार्यपत्र प्रस्तुत भएको थियो l

सङ्गोष्ठीको सञ्चालन नापाका तर्फबाट डा. बुद्धि ज्ञवालीले गर्नु भएको थियो भने डा. सुशील थापा, डा. कल्पना खनाल, डा. रामजी प्र. घिमिरे, डा. बुद्धि ज्ञवाली, डा. कृष्ण तिम्सिना, डा. अर्जुन कुमार श्रेष्ठ, महेश जोशी, डा. खुसीराम तिवारी र गोपाल आचार्यले विधागत सेसनहरूको सहजीकरण गर्नुभएको  थियो l

कार्यक्रमको समापनमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपानेले समग्र कार्यक्रमको संक्षिप्त विवेचना गर्दै कार्यक्रमका सह-आयोजक संस्थाहरू, प्रस्तुत कर्ता अनुसन्धानकर्ताहरू, सेसनका सहजकर्ताहरू र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै गोष्ठीमा प्रस्तुत भएमा सान्दर्भिक कार्यपत्रहरू नीति अनुसन्धान प्रतिष्ठानबाट प्रवर्धित नेपाल पब्लिक पोलिसी रिभ्यु नामक विज्ञ समीक्षित अनुसन्धानमूलक जर्नलमा विशेषाङ्कका रूपमा प्रकाशित गरिने प्रतिबद्धता जाहेर गर्नुभएको थियो l यसै गरी आगामी दिनमा पनि संस्थागत सहकार्यमा यसै गरी सार्वजनिक नीति सम्बन्धी अध्ययन, अनुसन्धान र अनुसन्धानमूलक लेखहरूको प्रकाशन तथा प्रबोधीकरण कार्यक्रमहरू हुने विश्वास प्रकट गर्नुभएको थियो ।