“नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीको कुशलता एवं प्रभावकारिता: कार्यसम्पादनको समीक्षा र दिशानिर्देश” विषयमा नीति संवाद कार्यक्रम

January 18, 2024

माघ ५, २०८०

नीति अनुसन्धान प्रतिष्ठानले, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा  “नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीको कुशलता एवं प्रभावकारिता: कार्यसम्पादनको समीक्षा र दिशानिर्देश” विषयमा अध्ययनको थालनी गरेको छ। कोभिड-१९ को महामारीले विश्वकै अर्थतन्त्रमा सृजना गरेको उतारचढाव, भूराजनीतिक द्वन्द्व र अन्य बाह्य र आन्तरिक कारणहरूले गर्दा नेपालको अहिलेको अर्थतन्त्रमा देखिएको अस्थिरतासँगै नेपालको सार्वजनिक खर्च प्रणालीमा रहेका कमजोरीहरूको बारेमा अध्ययन आवश्यक रहेको छ। नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीको कुशलता एवं प्रभावकारिताको विभिन्न आयामहरूलाई विस्तृत रूपमा केलाउने यस अध्ययनको उद्देश्य रहेको छ। यस अध्ययनका लागि डा. डिल्लीराज खनाल, डा. कल्पना खनाल र श्री प्राञ्जल रिजाल सम्मिलित अध्ययन समूहको गठन भएको छ। अध्ययनको क्रममा अध्ययन समूहले ध्यान दिनुपर्ने पक्ष, समावेश गरिनुपर्ने महत्त्वपूर्ण आयामहरू, आवश्यक स्रोत सामग्रीहरूको उपलब्धताबारे संसदीय समिति (सार्वजनिक लेखा समिति, अर्थ समिति, पूर्वाधार विकास समिति) का माननीय सदस्यहरू, सरकारी निकायमा रहनुभएका पदाधिकारीहरू, नेपाल सरकारका सेवा निवृत्त कर्मचारीहरू, प्राज्ञिक व्यक्तिहरू र अन्य विषय विज्ञहरूबाट राय एवं सुझावहरू प्राप्त गर्न यस अन्तरक्रिया कार्यक्रम आयोजना गरियो।

यस कार्यक्रमको सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनालले गर्नुभयो र स्वागत मन्तव्य कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराईले दिनुभयो। वरिष्ठ अर्थशास्त्री डा. डिल्ली राज खनालज्यूले यस अध्ययनको कार्य योजना, औचित्य, उद्देश्य र अध्ययन विधिको बारेमा पावरपोइन्ट प्रस्तुति दिनुभयो। यस अध्ययनलाई अझ प्रभावकारी एवं दरिलो बनाउन विज्ञहरूले विभिन्न कोणबाट राय सुझाव दिनुभयो ।

अन्तरक्रियाको क्रममा उजागर भएका मुख्य विषयहरू यस प्रकार रहेका छन् :

– सरकारको पुँजीगत खर्च कमजोर हुनुमा सरकारी निकायहरूको खर्च गर्ने क्षमता एवं खर्च भएको रकम समेत कम प्रभावकारी योजनाहरूमा हुने गरेको विषयमा अध्ययनले ध्यान दिनुपर्ने,

–  पूर्व अनुसन्धान एवं तयारी नभएका र कार्यविधि नै स्पष्ट नभएका परियोजनाहरूमा रकम विनियोजन एवं कमजोर कार्य सम्पादन क्षमताले गर्दा सार्वजनिक खर्चमा ह्रास आएको पक्षलाई ख्याल गर्नुपर्ने,

– व्यक्तिगत स्वार्थमा निहित योजना छनोट प्रक्रिया र बजेटको खण्डीकरणको समस्यालाई यस अध्ययनले ध्यानपूर्वक खोज गर्नुपर्ने,

– विकास परियोजनाहरूको अव्यवस्थित कार्यान्वयन र निकै कमजोर निरीक्षण एवं मूल्याङ्कन प्रक्रिया र त्यसका नीतिगत पक्षहरूलाई अनुसन्धानले ध्यान दिनुपर्ने,

– तथ्याङ्कमा आधारित वैज्ञानिक बजेट तर्जुमा प्रणालीको विकास गरी Technical efficiency, Allocative efficiency र Resource use efficiency को सुनिश्चितताको विषयमा खोज गर्नुपर्ने,

– यस अध्ययनमा अहिले प्रचलनमा रहेका नीति, कानुन र संविधानको समीक्षा गरी नीतिगत कमजोरीहरू प्रस्ट गरिनुपर्ने,

– सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरू बिचको कमजोर समन्वय र सामञ्जस्यका कारकहरूको अध्ययन गरी सार्वजनिक खर्च प्रणालीलाई सुदृढ बनाउने तरिकाहरूको अध्ययन हुनुपर्ने,

– नेपाल सरकारका निकायहरूमा कार्यरत कर्मचारीहरूको अव्यवस्थित सरुवाको कारणबाट अहिलेको परियोजना एवं कार्यक्रमहरू प्रभावकारी ढङ्गमा कार्यान्वयन नभएको र यस प्रणालीलाई निरुत्साहित गर्ने नीतिगत समाधान अध्ययनले उजागर गर्नुपर्ने,

 – नेपाल सरकारको कमजोर राजस्व सङ्कलन प्रणालीको पक्षहरूको अनुसन्धान गरिनुपर्ने,

– “योजना बैङ्क” को अवधारणाको कमजोर कार्यान्वयनले गर्दा सार्वजनिक खर्च प्रणालीमा आएको ह्रास र यससँग सम्बन्धित पक्षहरूको अध्ययन गरिनुपर्ने,

– साथै, छलफलको क्रममा विज्ञहरूले यस अध्ययनका लागि उपयोगी रहने अध्ययन विधिहरूबारे थप सुझाव दिनुभयो।

उपस्थिति:

               माननीय सन्तोष चालिसे (सभापति, अर्थ समिति, संसदीय समिति)

               माननीय राजेन्द्र कुमार के.सी. (सदस्य, सार्वजनिक लेखा समिति, संसदीय समिति)

               माननीय विना लामा (सदस्य, पूर्वाधार विकास समिति, संसदीय समिति)

               डा. गोविन्द प्रसाद शर्मा (सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

               डा. डिल्ली राज खनाल (वरिष्ठ अर्थशास्त्री)

               श्री थान प्रसाद पंज्ञानी (सह-महालेखा नियन्त्रक, महालेखा नियन्त्रकको कार्यालय)

               श्री पदम राज पौडेल (उप-महालेखा परीक्षक, महालेखा परीक्षकको कार्यालय)

               डा. चन्द्रमणि अधिकारी (पूर्व सदस्य, राष्ट्रिय योजना आयोग)

               श्री रामेश्वर खनाल (पूर्व सचिव, नेपाल सरकार)

               श्री दुर्गानिधि शर्मा (पूर्वसचिव, नेपाल सरकार)

               डा. तीर्थ राज ढकाल (पूर्वसचिव, नेपाल सरकार)

               श्री बाबुराम सुवेदी (सहसचिव, अर्थ मन्त्रालय)

               श्री लोक बहादुर खत्री (निर्देशक, राष्ट्रिय तथ्याङ्क कार्यालय)

               श्री उमेश विन्दु श्रेष्ठ (सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)

               श्री प्रभात कुमार झा (उप-महानिर्देशक, सडक विभाग)

               श्री लक्ष्मी पाण्डेय गौतम (कार्यक्रम निर्देशक, राष्ट्रिय योजना आयोग)

               श्री लक्ष्मी घिमिरे (कार्यक्रम निर्देशक, राष्ट्रिय योजना आयोग)

               श्री कमल प्रसाद भट्टराई (सह-सचिव, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)

               श्री रामबाबु नेपाल (उपाध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद्)

               श्री बालकृष्ण प्रसाईं (अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद्)

               श्री सुर्य प्रसाद उपाध्याय (उप-सचिव, शहरी विकास मन्त्रालय)

               श्री लेखनाथ पोखरेल (सल्लाहकार, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल)

नीति अनुसन्धान प्रतिष्ठान:

               श्री लक्ष्मण प्रसाद भट्टरार्इ

               डा. कल्पना खनाल

               डा. मुक्तिराम रिजाल

               श्री प्राञ्जल रिजाल

               श्री राजेन्द्र सेन्चुरी

               श्री दिजा बस्ताकोटी

               श्री नारायण अधिकारी

               डा.दीपक कुमार खड्का

               श्री कन्चन गौतम

               डा.अशोक पाण्डे

               डा.गिरिराज शर्मा

               श्री विराज ढुंगाना

               डा.मन्दिरा लामिछाने धिमाल

               श्री ज्योति लुइँटेल

               श्री अस्मिता रिजाल

               श्री सन्जोग सिंह कडायत

               श्री उर्मिला कोजु

               श्री कुशल थपलिया