जलवायु परिवर्तनसम्बन्धी प्रवचन आयोजना

November 2, 2021

२०७८ कार्तिक १६ गते नीति अनुसन्धान प्रतिष्ठानले जलवायु परिवर्तनको विगतको अवस्था, भविष्य र  नेपालको चासो सम्बन्धी एक प्रवचन कार्यक्रमको आयोजना गर्‍यो । एसिएन इन्ष्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डका प्राध्यापक शोभाकर ढकालबाट दिइएको सो प्रवचनमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्राध्यापक ढकालले हरितगृह ग्यास उत्सर्जनको विश्व तहको वर्तमान अवस्था, जलवायु सम्झौताहरू, जलवायु सम्बन्धी पेरिस सम्झौताको लक्ष्यसँग सम्बन्धित प्रतिवद्धता र तदनुरूपका कार्यबिचको अन्तर तथा जलवायु परिवर्तन संवाद र अभ्यासमा नेपालको दृष्टिकोण लगायतका विषयहरूमा आधारित भई प्रस्तुति गर्नुभएको थियो । आफ्ना प्रस्तुतिमा प्राध्यापक ढकालले वैश्विक औसत तापक्रम पूर्व औद्योगिक काल (सन् १८५० – १९००) पश्चात् १.०९ डिग्री सेल्सियसले वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै सन् १९७० पश्चात् वैश्विक तापक्रम वृद्धिदर थप तीब्र हुदै आएको तथा विगत दुई हजार वर्षमा तापक्रम वृद्धि अभूतपूर्वरूपमा हुँदै आएको बताउनु भएको थियो । सन् १९९० को दशकमा विकसित मुलुकहरूले करिव ६० प्रतिशत हरितगृह ग्यास उत्सर्जन गरेकोमा हाल विकासशील देशहरूले करिव ६५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गर्ने गरेको विवरण प्रस्तुत गर्दै सन् १९६० को दशक पछि जलवायु परिवर्तनको असर थप व्यापक, तीब्र र घनीभूत हुँदै आएको उहाँले बताउनुभयो ।

यदि विश्वस्तरमा नै तत्काल हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण तर्फ ठोस कदम नचाल्ने हो भने उत्सर्जन न्यूनीकरण गर्ने वैश्विक लक्ष्य पूरा गर्नेतर्फ कठिनाई हुने उहाँको ठम्याई रहेको थियो । जलवायु परिवर्तन समस्या सम्बन्धमा नेपालको प्रतिवद्धता र कार्यान्वयन अवस्था माथि समेत टिप्पणी गर्दै प्राध्यापक ढकालले पेरिस सम्झौता कार्यान्वयनको सन्दर्भमा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि देशहरूले गरेका प्रतिवद्धता र थालेका उपायहरू (राष्ट्रिय रूपमा निर्धारित योगदान) अपर्याप्त भएको बताउनु भयो ।  नेपालले हरितगृह ग्यास उत्सर्जन घटाउने समष्ठिगत लक्ष्य नराखेको तर विद्युतमा आधारित उर्जाको प्रवर्द्धन गर्ने र वनको क्षेत्रफल ४५ प्रतिशत पुर्याउने जस्ता क्षेत्रगत र क्रियाकलापगत लक्ष्यहरू मात्र राखेको बताउँदै यस्ता उपायहरू आफैंमा राम्रा देखिए पनि समष्टिगत राष्ट्रिय लक्ष्य नभएमा राष्ट्रिय मार्गदर्शन प्राप्त नहुने उहाँको भनाइ थियो ।

प्रवचन पश्चात प्रतिष्ठानका अनुसन्धानकर्ता र प्राध्यापक ढकालकाबिच जलवायु परिवर्तनका विविध पक्षहरूमा अन्तरक्रिया भएको थियो ।