प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठानको टोलीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको भ्रमण गरी अनुसन्धान सहकार्यको लागि छलफल गर्‍यो ।

नीति अनुसन्धान प्रतिष्ठानको टोलीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको भ्रमण गरी अनुसन्धान सहकार्यको लागि छलफल गर्‍यो ।

आज नीति अनुसन्धान प्रतिष्ठान (नीअप्र) को अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खडकाको नेतृत्वमा प्रतिष्ठानका अनुसन्धानकर्ताहरू डा. सर्मिला तन्डुकार, डा. बिक्रम आचार्य, डा. सबिन बसी, श्री अशोक पाण्डे, र पुस्तकालय व्यवस्थापन संयोजक श्री बिमलचन्द्र शर्मा सहितको टोलीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नेविप्रप्र) मा उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ र अन्य पदाधिकारीहरूसँग भेट गरी दुई संस्थाहरूबिच संस्थागत सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्न छलफल गर्‍यो । नेविप्रप्र अन्य पदाधिकारीमा प्रतिष्ठानका सचिव डा. महेश कुमार अधिकारी, वरिष्ठ प्रविधिविज्ञ तथा प्रवक्ता डा. सुरेश कुमार ढुङ्गेल, योजना तथा मूल्याङ्कन शाखा प्रमुख नीशा राणा, तथा प्रवर्द्धन शाखा प्रमुख लुना वज्र हुनुहुन्थ्यो ।

दुई संस्थाका टोलीले कसरी नेपालको विज्ञान र प्रविधिको सर्वोच्च संस्थाको रूपमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, र नीति प्रक्रियामा विशेषज्ञता र व्यापक किसिमको नीति कार्यक्षेत्र भएको संस्थाको रूपमा नीति अनुसन्धान प्रतिष्ठानले सँगसँगै काम गरेर अनुसन्धान, नीति संवाद र पैरवीद्वारा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको प्रवर्द्धन गर्ने प्रयासमा परिपूरकता हासिल गराउन सक्छन् भन्ने विषयमा छलफल गरे । उपकुलपति डा. श्रेष्ठले आपसी संस्थागत सान्दर्भिकता र क्षमता भएका कार्यमा सहकार्य गर्न पाउनु हर्षको कुरा भएको र यसलाई सहयोग गर्ने बताउनुभयो । दुवै संस्थाहरूले नीति अनुसन्धान प्रतिष्ठानको पाँच-वर्षे रणनीतिक योजनामा भएको र यो वर्ष सञ्चालन गर्न योजना बनाएको परियोजना ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रणाली सूचीकरणको राष्ट्रिय रूपरेखा सम्बन्धी अध्ययन’ मा सहकार्य गर्न आवश्यकता अनुसार सँयुक्त अनुसन्धान टोली र निर्देशक समिति बनाउन सहमति जनाएका छन् । दुई संस्थाहरूले सूचना विनिमय गर्न र एक अर्काको क्रियाकलापमा योगदान पुर्‍याई आपसी सहयोग र परिपूरकता हासिल गर्ने सम्बन्धमा पनि छलफल गर्‍यो ।