नीति अनुसन्धान प्रतिष्ठानले “नागरिक समाजसँगको सहकार्य” विषयमा रित्सुमेकान एशिया प्यासिफिक विश्वविद्यालय अन्तर्गतको कलेज अफ सस्टेनाबिलिटी एण्ड टुरिजमका उपप्राध्यापक डा. दिपेन्द्र के.सी. द्वारा प्रस्तुत एक नीति प्रवचन सम्पन्न गर्यो । विकास प्रशासनमा विद्यावारिधि गरेका डा. दिपेन्द्र गैरनाफामूलक संस्था प्रशासन, डिजिटल असमानता, र सामाजिक नवप्रवर्तनका विज्ञ हुनुहुन्छ । उक्त नीति प्रवचन सत्रको सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काले गर्नुभएको थियो ।
प्रस्तुतीकरणको क्रममा डा. के.सी. ले नागरिक समाज र सरकारबिच विकसित हुँदै आएको सम्बन्धलाई विशेष गरी नियमावली र वित्तीय व्यवस्थासँग सम्बन्धित पक्षहरूमा प्रकाश पार्नुभयो । उहाँले संवैधानिक अधिकार र दायित्वको सन्दर्भमा नागरिक समाजको भूमिका र नेपालको सोह्रौं योजना अन्तर्गत यसको विकास साझेदारको महत्त्वबारे चर्चा गर्नुभयो । उहाँले नागरिक समाजलाई सेवाप्रवाह र वकालतबाट प्रेरित क्षेत्रको रूपमा व्याख्या गर्दै यो क्षेत्र ऐतिहासिक रूपमा पूरक, सहयोगात्मक, र अन्तरविरोधात्मक दृष्टिकोण मार्फत राज्यसँग संलग्न भएको बताउनुभयो ।
डा. के.सी. ले समावेशीकरणको महत्वमा जोड दिंदै र नागरिक समाज समयसँगै एक छुट्टै क्षेत्रको रूपमा विकसित भएको प्रसङ्ग बताउँदै सामाज कल्याण परिषद्जस्ता संस्थागत संयन्त्र र एकद्वार नीति जस्ता नीति उपायहरूबारे आफ्ना धारणा व्यक्त गर्नुभयो । उहाँले गैरमुनाफामूलक कम्पनीहरूको भूमिका, नियमसम्बन्धी अस्पष्टता, नयाँ गैरसरकारी संस्थाहरूको प्रवेशका प्रवृत्ति र सञ्चालनका चुनौतीहरू लगायत नागरिक समाजले शासन तथा विकास प्रक्रियामा पारेको प्रभाव, देखाएको चासो र खेलेको भूमिकाबारे पनि व्याख्या गर्नुभयो ।
प्रस्तुतीकरणपश्चात्, प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले नागरिक समाजमा व्यक्तिको भूमिकाबारे छलफल गर्दै नागरिक सहभागिता र सूचना प्रसारणमा देखिन सक्ने कठोरता र पूर्वाग्रहको जोखिमका सन्दर्भमा प्रचारप्रसारका प्रभावहरूबारे प्रश्न गर्नुभएको थियो । उपयोगी नीति प्रवचन दिनुभएकोमा डा. दिपेन्द्र के.सी. प्रति आभार व्यक्त गर्दै र छलफलमा सहभागीहरूको सक्रिय सहभागिताको लागि धन्यवाद दिंदै डा. खड्काले नीति प्रवचनको समापन गर्नुभयो ।
नीति अनुसन्धान प्रतिष्ठानका सहभागीहरू
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
७. अशोक पाण्डे (अनुसन्धानकर्ता)
८. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
९. डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता)
१०. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
११. डा. सुभाष अधिकारी (अनुसन्धानकर्ता)
१२. डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
१३. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१४. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१५. सुबिन उलक (ग्राफिक डिजाइनर)
१६. रिजा मानन्धर (सहअनुसन्धानकर्ता)
१७. कृष्ण प्रसाद बि.क. (सहप्रबन्धक)
१८. डा. देजिना थापा (विश्लेषक)
१९. सञ्जु कुमारी सरवरिया (वरिष्ठ सहायक)
२०. गीता न्यौपाने (वरिष्ठ सहायक)
२१. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२२. मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
२३. रोजिन राई (इन्टर्न)
२४. सन्दु सुबेदी (इन्टर्न)
२५. कुसुम ढुंगाना (इन्टर्न)
२६. सुलक्ष्या भण्डारी (इन्टर्न)
२७. सुसन तामाङ (इन्टर्न)