जनकपुर र पोखरामा नेपालको निर्वाचन प्रणालीसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम सम्पन्न
जनकपुर र पोखरामा नेपालको निर्वाचन प्रणालीसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम सम्पन्न
८ पुष, २०७८
जनकपुर र पोखरामा नेपालको निर्वाचन प्रणालीसम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम सम्पन्न
December 23, 2021
मिति र स्थान: (पौष ४, २०७८ जनकपुर र पौष ८, २०७८ पोखरा)
कार्यक्रमको उद्देश्य:
निर्वाचन आयोगको अनुरोध अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पससँगको सहकार्यमा निर्वाचन प्रणाली सुधार गर्ने उद्देश्य राखी नीति अनुसन्धान प्रतिष्ठानको अगुवाइमा भइरहेको अध्ययनको प्रयोजनको लागि प्रदेश तहमा रहेका राजनीतिक दल र निर्वाचन सम्बन्धी विज्ञहरुको विचार सङ्कलन गर्ने उद्देश्यले निम्न प्रश्नहरूमा आधारित भई सो सार्वजनिक संवाद आयोजना भएको थियो ।
संघ र प्रदेशमा हाल अवलम्बन गरिएको निर्वाचन प्रणाली उम्मेदवार, राजनीतिक दल, निर्वाचन आयोग तथा सुरक्षा व्यवस्थापनका हिसाबले समेत महँगो भएको भन्ने व्यापक गुनासो आइरहेको परिप्रेक्ष्यमा यसको सुधारका उपायहरू के हुन सक्छन्?
निर्वाचन प्रणाली समानुपातिक तथा समावेशी हुन नसकेको भन्ने चुनौतीलाई सम्बोधन गर्ने उपाय के हुन सक्छन्?
निर्वाचन प्रणालीले शासकीय स्थिरता सुनिश्चित गर्न नसकेका कारण विधिको शासन, सुशासन र विकासमा समेत चुनौती आएकोले सोको सम्बोधन कसरी गर्न सकिन्छ ?
स्थानीय तह निर्वाचनमा दलगत प्रतिस्पर्धाका कारण स्थानीय जनमत विभाजित भई सहभागितामूलक लोकतन्त्र र विकासमा बाधा पुगेको भन्ने गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ?
कार्यक्रमहरूमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी, लोकतन्त्र र सुशासनको क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि, जिल्ला निर्वाचन अधिकारी, नेपाल बार एसोसियसनका पदाधिकारी, निर्वाचन विषयको जानकार, नेपाल पत्रकार महासंघका तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमहरूको अध्यक्षता नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले गर्नुभएको थियो भने जनकपुरमा प्रदेश २ का माननीय भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव प्रमुख अतिथि र माननीय उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो विशेष अतिथि तथा पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती विशेष अतिथि रहनु भएको थियो । पोखरामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेल प्रमुख अतिथि र सोही प्रदेशका आन्तरिक मामिला मन्त्री माननीय डोबाटे विश्वकर्माविशेष अतिथि रहनुभएको थियो । नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्ति राम रिजाललेअध्ययनको वस्तुस्थिति तथा छलफलका लागि तय गरिएका बूँदाबारे संक्षिप्त जानकारी र अनुसन्धानकर्ता डा भोगेन्द्र मिश्रले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने नेपाल ल क्याम्पस प्रमुख प्रा. डी. एन पराजुलीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
छलफलबाट प्राप्त प्रमुख सुझाव र धारणाहरू
निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्त्वपूर्ण हुने भएकाले निर्वाचन आयोगलाई सरकारी हस्तक्षेप मुक्त राख्नुपर्ने र आयोगको प्रभावकारिताका लागि साधन स्रोत सम्पन्न र साँच्चिकै स्वायत्त बनाउनुपर्ने। यसका साथै निर्वाचन आयोगले निष्पक्ष तथा तटस्थ रूपमा निर्वाचन आचार संहिताको कार्यान्वयनमा कडाइ गरी आचार संहिताको उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने सम्मको अधिकार पाउनुपर्ने,
निर्वाचन आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति गर्दा स्वतन्त्र, सक्षम, बहुआयामिक र नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट छनोट गर्ने व्यवस्था हुनपर्ने तथा निर्वाचनलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र निर्वाचन अधिकृत फेरबदल गर्न नहुने,
निर्वाचन प्रणालीका कारणले राजनीतिक क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्नका लागि निर्वाचन खर्चलाई कम गर्नुपर्ने । निर्वाचनमा हुने गरेको खर्च घटाउनका लागि मनोनयनपत्र दर्ता देखि निर्वाचनको अवधि घटाएर अधिकतम १५ दिन राख्नुपर्ने, प्रचारप्रसार कम भड्किलो बनाई कागजमुक्त बनाउनुपर्ने तथा चुनाव प्रचारलाई प्रविधिसँग जोड्नुपर्ने ।
विद्युतीय मतदानको व्यवस्था गरी निर्वाचन खर्च घटाउने र वैदेशिक रोजगारीमा रहेका युवा-युवतीहरूलाई समेत मतदानमा सहभागी हुने व्यवस्था मिलाउने,
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था गर्नुपर्ने र स्थानीय तहको निर्वाचन दलरहित हुनुपर्ने ।
समावेशी, समानुपातिक प्रतिनिधित्वले समाजको विपन्न तथा पिछडिएको वर्गले स्थान पाएको तर पर्याप्त नभएकोले हाल संविधानमा गरिएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने । जातीय तथा क्षेत्रिय प्रतिनिधित्व सुनिश्चित गर्नको लागि निर्वाचन क्षेत्रलाई नै जातीय क्लष्टरको रूपमा आरक्षित गर्नुपर्ने । पालिकामा नै दलित, महिला, मधेसी आदि कोटाका लागि आरक्षण गर्नुपर्ने।