प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सार्वजनिक नीति नवप्रवर्तन प्रशिक्षणमा प्रतिष्ठानको सहभागिता एवम् सहकार्य

२०८२ मङ्सिर २४ देखि पुस ०३ गतेसम्म
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर  

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आयोजना र नीति अनुसन्धान प्रतिष्ठानको सहकार्यमा सार्वजनिक नीतिमा नवप्रवर्तन: प्रमाणको प्रयोग (Innovating Public Policy: Use of Evidence [InnoPoLE]” विषयक सात-दिने पेसागत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शासकीय तथा विकास व्यवस्थापन सिकाइ समूह (Governance and Development Management Learning Group [GDMLG]) अन्तर्गतको विकास नीति तथा व्यवस्थापन केन्द्र (Center for Development Policy and Management [CDPM]) द्वारा सञ्चालन हुने यस प्रशिक्षण कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानबाट निरन्तर संस्थागत सहकार्य हुँदै आएको छ।

उक्त तालिममा नेपाल सरकारका सङ्घीय मन्त्रालयहरू: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; परराष्ट्र मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; सहरी विकास मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय लगायत अन्य निकायहरू: राष्ट्रिय मानव अधिकार आयोग; महान्यायधिवक्ताको कार्यालय; सशस्त्र प्रहरी बल नेपाल; खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड; कर्मचारी सञ्चय कोष; मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (कोशी प्रदेश); पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस; नेपाल विद्युत प्राधिकरण; नेपाल प्रहरी र बुढानीलकण्ठ नगरपालिकाका ३४ जना अधिकृत द्वितीय श्रेणी र सो सरहका कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रशिक्षण अवधिमा दुई-दिने सैद्धान्तिक कक्षा, दुई-दिने स्थलगत अध्ययन, दुई-दिने नीति मस्यौदाको तयारी र एक-दिने प्रस्तुतीकरण तथा पृष्ठपोषण कार्यक्रम सञ्चालन गरिएको थियो । 

वैज्ञानिक प्रमाणको प्रयोगमार्फत नीतिनिर्माणमा नवप्रवर्तनशील दृष्टिकोणहरू लागु गर्नका लागि मध्यम तहका सरकारी अधिकृत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित उक्त प्रशिक्षणमा नीति अनुसन्धान प्रतिष्ठानबाट वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी र सहअनुसन्धानकर्ता डा. झम कुमार विश्वकर्माले प्रशिक्षकको रूपमा प्रस्तुतीकरण दिनुभएको थियो । त्यसैगरी, प्रतिष्ठानका अध्येताहरू: अनुसन्धानकर्ताद्वय डा. प्रदिप पन्थी र डा. सुबास अधिकारी, तथा विश्लेषकहरू सोनिया बस्याल, प्राञ्जल रिजाल र सुधीर श्रेष्ठले प्रशिक्षार्थी तथा टोली सहजकर्ताको रूपमा सहभागिता जनाउनुभएको थियो ।

वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले सार्वजनिक नीतिको दर्शनशास्त्रसम्बन्धी विषयवस्तुमा केन्द्रित प्रस्तुतीकरण र अन्तरक्रियात्मक प्रशिक्षणका माध्यमबाट नीति निर्माणमा प्रमाण तथा सैद्धान्तिक ज्ञानको अपरिहार्यता रहने कुरामा जोड दिनुभयो । त्यसैगरी, नीतिनिर्माणको प्रणालीगत दृष्टिकोण र परिवर्तनको सिद्धान्तसम्बन्धी आधारभूत ज्ञानका साथै उपयोगी उदाहरणसहित प्रतिष्ठानका सहअनुसन्धानकर्ता डा. झम कुमार विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणका क्रममा सामूहिक कार्य, विस्तृत छलफल लगायत समालोचनात्मक विश्लेषणका लागि विभिन्न नीतिगत विषयमा अभ्यासहरू गरिएको थियो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तर्फबाट केन्द्रका निर्देशक त्रिलोचन पौड्याल र उपनिर्देशक ज्ञानलक्ष्मी श्रेष्ठले नीति निर्माणमा प्रमाणको वैज्ञानिकता र व्यावहारिकता किन आवश्यक छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणको तेस्रो र चौथो दिन, सहभागीहरू पाँच समूहमा विभाजन भई बुढानीलकण्ठ नगरपालिकाको लागि पहिचान गरिएका पाँच विभिन्न क्षेत्रमा नीतिको मस्यौदा तयारी गर्नका लागि स्थलगत भ्रमण, समस्या अध्ययन, सरोकारवालाहरूसँग अन्तर्वार्ता तथा छलफलमा संलग्न रहनुभयो । यस क्रममा नीति अनुसन्धान प्रतिष्ठानका अध्येताहरू डा. प्रदीप पन्थी, डा. सुबास अधिकारी, सोनिया बस्याल, प्राञ्जल रिजाल र सुधीर श्रेष्ठले क्रमश: अनुगमन नीति, मानव संशाधन नीति, स्वास्थ्य नीति, सार्वजनिक सम्पत्ति व्यवस्थापन नीति र पर्यटन नीतिको मस्यौदा तयार गर्ने समूहको नेतृत्व गर्दै समूहकार्यलाई सहजीकरण गर्नुभएको थियो ।

समस्याको पहिचान गरिसकेपछि नीतिको प्रारम्भिक रूपरेखा निर्माण गर्न तथा मस्यौदा तयारीमा मार्गदर्शन गर्न सहयोग पुर्‍याउने हेतुले विषयविज्ञहरू क्रमश: डा. तीर्थराज ढकाल, डा. तोयानारायण ज्ञवाली, डा. गुणनिधि शर्मा, डा. राजन खनाल, र दिपक राज जोशीले उल्लिखित समूहलाई अनुशिक्षण गर्नुभएको थियो । 

कार्यक्रमको अन्तिम दिनको नीति सङ्क्षेप प्रस्तुतीकरण र दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूले मस्यौदाको प्रस्तुतीकरण गर्नुभयो । उक्त कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका सहअनुसन्धानकर्ता डा. झम कुमार विश्वकर्मा तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक तुलसी शरण सिग्देलले नीतिको संरचना र विषयवस्तुमा आधारित पृष्ठपोषण र सुझाव प्रदान गर्नुभयो । एउटा समूहका प्रशिक्षार्थीहरूले तयार गरेका नीतिका मस्यौदाहरूको प्रस्तुतीकरणमा अन्य समूहका प्रशिक्षार्थीहरूले समेत पृष्ठपोषण प्रदान गर्नुभएको थियो । समापन मन्तव्यमा वरिष्ठ निर्देशक तुलसी शरण सिग्देलले सार्वजनिक नीति प्रवर्तन प्रशिक्षणको विस्तार र लोकप्रियताको बारेमा बोल्नुहुँदै नीति अनुसन्धान प्रतिष्ठानले गरेको सहकार्यप्रति आभार प्रकट गर्नुभयो ।

प्राप्त सुझावका आधारमा नीतिको मस्यौदाउपर थप सुधार गरी प्रशिक्षार्थी समूहका प्रतिनिधिहरूले २०८२ पुस १८ गते बुढानीलकण्ठ नगरपालिकाका पदाधिकारीहरूसमक्ष नीतिको प्रस्तुतीकरण गर्नुभयो । नीति दस्ताबेज हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक राम शरण पुडासैनीले प्रशिक्षार्थीहरूको प्रयासको प्रशंसा गर्दै बुढानीलकण्ठ नगरपालिकाले थप छलफल र परामर्श गरी यी नीतिलाई अन्तिम स्वरूप दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले नगरपालिकाको सर्वाङ्गीण विकासका लागि बलियो र प्रमाणमा आधारित नीति निर्माण अत्यावश्यक रहेकोमा प्रतिष्ठानको यो कार्यक्रम निकै फलदायी हुने आशा राख्दै प्राप्त दस्ताबेजहरूको सही उपयोग गर्ने आश्वासन दिनुभयो ।