June 26, 2025
२०८२ असार १२
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले २०८२ असार १२ गते आफ्नो सभा हलमा “नेपालमा कृषि बिमा कार्यक्रम कार्यान्वयनको अवस्था, समस्या र समाधानको उपाय” विषयक नीति संवाद कार्यक्रम आयोजना गर्यो । नेपालमा कृषि बिमाको नीतिगत उपकरणहरूको कार्यान्वयन ढाँचा, अवस्था र चुनौतीहरूको विश्लेषण गर्ने; कृषि बिमामा साना कृषकहरूको सहभागिता, पहुँच र सुरक्षणका उपायहरूको खोजी गर्ने; अन्तर्राष्ट्रिय असल अभ्यासको समीक्षा र उपयुक्त सिकाइको पहिचान गर्ने र अनुदान व्यवस्थापन, बीमा दाबी-भुक्तानी प्रक्रियाको मूल्यांकन र नीतिगत सिफारिस गर्ने उद्देश्य लिई प्रतिष्ठानले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोधमा सम्पन्न गर्न लागेको अध्ययनको शिलसिलामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
संवादमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पदाधिकारीहरू, नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरू, कृषि विभाग, पशु सेवा विभाग, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका सरकारी निकायका प्रतिनिधिहरूका साथै किसान आयोग, बीमा कम्पनी, प्राज्ञिक विज्ञहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका सहअनुसन्धानकर्ता गोपाल आचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको औपचारिक सुरुआत गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले नेपालको समग्र विकासमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहे तापनि उचित हिसाबले राज्यको ध्यान केन्द्रित नभएको बताउँदै कृषि क्षेत्रलाई व्यवसायीकरण र व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । साथै, कृषि बिमा कार्यक्रमको दिगोपन विश्लेषण, बिमा कार्यक्रमको दायरा थप्नुपर्ने आवश्यकताजस्ता पाटाहरूसहितको अध्ययनसँगै विज्ञहरूले औँल्याउनुभएको राय सुझाव र सुधारका पक्षहरू समेटेर प्रतिवेदन थप प्रभावकारी र गुणस्तरीय हुने आशा प्रकट गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपाने र अध्ययन टोलीका विज्ञ सदस्य शिव सुन्दर घिमिरेले मस्यौदा प्रतिवेदनमा रहेका विषयहरूमा केन्द्रित रही प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँहरूको प्रस्तुतीकरणमा अध्ययनको सन्दर्भ र पृष्ठभूमि, कृषि बिमा प्रणालीको पूर्ण विकास नभएको अवस्था र कार्यान्वयनका चुनौती तथा समस्या समाधानका लागि नीतिगत पहल, प्रचलित बिमा मोडेलहरू र अन्तर्राष्ट्रिय अभ्यासहरू र नीतिगत व्यवस्थाहरूबारे छलफल गर्दै अध्ययनले प्रस्तुत गरेका निष्कर्ष र सिफारिसहरूबारे जानकारी दिनुभयो ।
संवादमा सहभागीहरूले मस्यौदा प्रतिवेदनमा आफ्नो राय सुझावहरू र सुधारका उपायहरू प्रस्तुत गर्दै तीन तहको सरकारहरूबिच नीतिगत सामञ्जस्य र व्यावहारिक सहकार्य आवश्यक रहेको र सहकार्यको अभावले भुक्तानी प्रक्रियामा ढिला-सुस्ती र जटिलता आएको बताउनुभयो । कृषि बिमालाई प्रभावकारी बनाउन र यसको व्यापक कार्यान्वयन र सफलताका लागी विशेष गरी स्थानीय सरकारलाईनै जिम्मेवार र सबल बनाउनुपर्ने कुरा धेरै सहभागीहरूले जोड दिनुभयो । अहिलेको सङ्घीयतामा आधारित सरकारी निकायमा कृषि बिमाका लागि विशेष संस्थागत र संरचनात्मक व्यवस्था नभएको र यसको संस्थागत विकासका साथै स्थानीय सरकारलाई बिमाको कार्यान्वयनका साथै अनुगमन र मूल्यांकनका निम्ति सबलीकरण गर्न आवश्यक रहेको उहाँहरूको राय थियो । त्यसैगरी, कृषि बिमामा नैतिक जोखिम उच्च रहेको र यसको न्यूनीकरणका उपायहरूमा जोड दिनुपर्ने भन्दै जोखिमहरूलाई वर्गीकरण गरेर, प्रिमियम शुल्कलाई वर्गीकरण गरेर र किसानहरूलाई क्षेत्रफल र आर्थिकस्तरमा वर्गीकरण गरेर बिमा नीति आउनुपर्नेमा सहभागीहरूको जोड रहेको थियो । साथै, भुक्तानी विधि र कागजी प्रक्रिया छिटोछरितो र झन्झटरहित हुनुपर्ने र यस प्रक्रिया पनि डिजिटल हुनुपर्ने पनि उहाँहरूको राय थियो । त्यस्तै, कृषि बीमाको २०७९ को निर्देशिका र २०८१ को कार्यविधिमा रहेको नीतिगत अस्पष्टता र बिमामा सरकारले दिने गरेको अनुदानको प्रभावकारिताजस्ता विषयहरू पनि अध्ययनमा समेटिनुपर्ने सुझावहरू सहभागीहरूले प्रस्तुत गर्नुभयो । प्रतिष्ठानले तयार गर्न लागेको यस प्रतिवेदनले बिमा क्षेत्रको स्तरोन्नति र विकासमा विशेष भूमिका निर्वाह गर्ने विश्वास पनि सहभागीहरूले प्रकट गर्नुभयो ।
सहभागीहरूको महत्त्वपूर्णराय सुझावहरूका लागि धन्यवाद र कृतज्ञता ज्ञापन गर्दै अध्ययन टोलीका संयोजक डा. सुरज पोखरेलले अध्ययन प्रतिवेदनको अन्तिम प्रारूपले सहभागीहरूको सुझावहरू समेट्ने कुराको प्रतिबद्धता जाहेर गर्नुभयो । सम्पूर्ण उपस्थित सहभागीहरूलाई निमन्त्रणा स्वीकार गरी नीति संवादमा उपस्थित हुनुभएकोमा आभार प्रकट गर्दै प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपानेले कार्यक्रमको अन्त्य गर्नुभयो ।
आमन्त्रित सहभागीहरू:
सबनम सिवाकोटी (सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
डा. भीष्मकुमार भुषाल (सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
डा. रामनन्द तिवारी (महानिर्देशक, पशु सेवा विभाग)
डा. सुलोचना श्रेष्ठ (उपमहानिर्देशक, पशु सेवा विभाग)
जगन्नाथ तिवारी (उपमहानिर्देशक, कृषि विभाग)
हिक्मत कुमार श्रेष्ठ (परियोजना निर्देशक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना)
डा. फणिन्द्र राज देवकोटा (सदस्य सचिव, राष्ट्रिय किसान आयोग)
पञ्चकाजी श्रेष्ठ (अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ)
निशा घिमिरे (उपनिर्देशक, नेपाल बीमा प्राधिकरण)
दीपक ज्ञवाली (सहायक निर्देशक, नेपाल बीमा प्राधिकरण)
डा. रुद्र श्रेष्ठ (महाप्रबन्धक, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.)
दीपा देवकोटा (वैज्ञानिक एस.-२, राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्)
समय गैरे (वैज्ञानिक एस.-२, राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्)
ईश्वरप्रसाद घिमिरे (अधिकृत, गोदावरी नगरपालिका ललितपुर)
दीप प्रकाश पाण्डे (प्रमुख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स कम्पनी लि.)
उदित प्रसाद काफ्ले (महाप्रबन्धक, शिखर इन्स्योरेन्स कम्पनी लि.)
सेजन राज मरासिनी (प्रबन्धक, शिखर इन्स्योरेन्स कम्पनी लि.)
सार्थक राज पाण्डे (नायव प्रबन्धक, शिखर इन्स्योरेन्स कम्पनी लि.)
मनोज श्रेष्ठ (नायव प्रमुख कार्यकारी अधिकृत, एनएलजी इन्स्योरेन्स कम्पनी लि.)
उमेश ढकाल (अधिकृत, सालीको इन्स्योरेन्स कम्पनी लि.)
उद्धव अधिकारी (संयोजक, खाद्यका लागि कृषि अभियान)
शिवराम न्यौपाने (निर्देशक, फ्रेस केटीएम)
सुमन घिमिरे (प्रमुख कार्यकारी अधिकृत, प्लान्टस्याट)
निमेश ढकाल (प्रबन्ध निर्देशक, निर्जला सिड्स एण्ड अग्रो कलेक्सन)
डा. देवेन्द्र गौचन (कृषि अर्थशास्त्री तथा प्राध्यापक)
लोकराज सुवेदी (वरिष्ठ कृषि अर्थशास्त्री, स्वतन्त्र अनुसन्धाता)
डा. युगनाथ घिमिरे (स्वतन्त्र अनुसन्धाता)
अध्ययन समूह:
डा. सुरोज पोखरेल (पूर्वसचिव, नेपाल सरकार)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान)
शिव सुन्दर घिमिरे (अनुसन्धाता)
नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट सहभागीहरू:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. मनिता कुसी (सहअनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
डा. प्रभात राज दाहाल (सहअनुसन्धानकर्ता)
गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
रिजा मानन्धर (विश्लेषक)
डा. देजिना थापा (विश्लेषक)
प्राञ्जल रिजाल (विश्लेषक)
सोनिया बस्याल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
गीता न्यौपाने (वरिष्ठ सहायक)
आयुष्का के.सी.(इन्टर्न)
आशिष भण्डारी (इन्टर्न)
कुमारी अलिका (इन्टर्न)
धिरज भट्ट (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)
विजय कोइराला (इन्टर्न)
स्नेही रिजाल (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)