logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

प्रस्तोता, ध्वनीअङ्कन उत्पादक र प्रसारण संस्थाहरूको अधिकार संरक्षणसम्बन्धी रोम महासन्धि, १९६१ को अनुमोदनबाट पर्न सक्ने प्रभावसम्बन्धी संवाद सम्पन्न

प्रस्तोता, ध्वनीअङ्कन उत्पादक र प्रसारण संस्थाहरूको अधिकार संरक्षणसम्बन्धी रोम महासन्धि, १९६१ को अनुमोदनबाट पर्न सक्ने प्रभावसम्बन्धी संवाद सम्पन्न

प्रस्तोता, ध्वनीअङ्कन उत्पादक र प्रसारण संस्थाहरूको अधिकार संरक्षणसम्बन्धी रोम महासन्धि, १९६१ को अनुमोदनबाट पर्न सक्ने प्रभावसम्बन्धी संवाद सम्पन्न

 June 23, 2025

२०८२ असार ०९

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले गरिरहेको “प्रस्तोता, ध्वनीअङ्कन उत्पादक र प्रसारण संस्थाहरूको अधिकार संरक्षणसम्बन्धी रोम महासन्धि, १९६१ को अनुमोदनबाट पर्नसक्ने प्रभावहरू” विषयक अध्ययनका लागि सान्दर्भिक सूचना सङ्कलन गर्ने उद्देश्यले प्रतिष्ठानको सभा हलमा नीति संवाद कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पदाधिकारीहरू, विभिन्न प्रसारण संस्था, सङ्गीत तथा चलचित्र उत्पादक संस्थाहरू, प्रस्तोता संघ-संस्था र समाजका प्रतिनिधिहरू, प्राज्ञिक र विषयविज्ञ व्यक्तिहरू र प्रतिष्ठानका अनुसन्धानकर्ता एवम् अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सुरुआत गर्दै प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले रोम महासन्धि, १९६१ अनुमोदनले प्रस्तोता, ध्वनीअङ्कन उत्पादक र प्रसारण संस्थाहरूलाई पर्नसक्ने असर र अनुमोदन गर्दा नेपालले गर्नुपर्ने नीतिगत सुधारका विषयहरूमा रहेर छलफल गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्ययन टोलीका विज्ञ सदस्य तथा अधिवक्ता राजकुमार सुवालले रोम महासन्धि, १९६१ सम्बन्धी नीतिगत व्यवस्था र आयामहरूको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँको प्रस्तुति नेपालको मौजुदा प्रतिलिपि अधिकार ऐन, २०५९ का व्यवस्था र रोम महासन्धिसँगको सम्बन्ध; बर्न महासन्धिले समेटेको प्रतिलिपि अधिकारका व्यवस्थाहरू; रोम महासन्धिका विषयवस्तु क्षेत्रहरू; रोम महासन्धिको परिभाषा खण्ड र रोम महासन्धिमा व्यवस्था भएका संरक्षणका आयामहरूमा केन्द्रित थियो ।

प्रस्तुतिपश्चात्, प्रतिष्ठानका सहअनुसन्धानकर्ता डा. झम कुमार विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूबाट रोम महासन्धि अनुमोदन नगरी रोकेर राख्नु आवश्यक नरहेकाले अब ढिला नगरी अनुमोदन गरिनुपर्ने सुझावहरू प्राप्त भए । केही सहभागीहरूले हाल सरकारी निकायले नै आफ्ना उत्पादनहरू सुरक्षित गर्न नसकेको अवस्थामा संस्थागत वा व्यक्तिगत रूपमा सिर्जित सामग्रीहरू अझ बढी जोखिममा रहेका धारणा राख्दै र राष्ट्रियस्तरमा सिर्जनाको संरक्षणमा रहेका कमजोरीहरू समेत औंल्याउँदै आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियो । हालको प्रतिलिपि अधिकार ऐनका केही प्रावधानका कारण प्रस्तोता र उत्पादकलाई अझै पनि कानुनी संरक्षणबाट बाहिर राखेको केही वक्ताहरूको राय थियो । तथापि, अन्य केही वक्ताहरूले भने नेपालका आन्तरिक कानुनी प्रावधानहरू रोम महासन्धिका प्रावधानहरूभन्दा पनि अघि रहेको उल्लेख गर्दै त्यसबाट लिन सकिने लाभबारे पनि विभिन्न सुझावहरू दिनुभएको थियो । त्यसैगरी, अनुमोदनले करलगायत राजस्वका क्षेत्रमा राज्यलाई सहयोग पुग्ने सन्दर्भमा पनि आफ्ना धारणा राख्नुभएको थियो ।

नेपालको प्रतिलिपि ऐनले समेटिसकेको विषयहरूलाई सुदृढ गर्दै सिर्जनाको स्वामित्व र अधिकार सुरक्षित गर्ने उपायहरू, सर्जक र प्रवर्द्धकले आफ्नो अधिकार सुनिश्चित गर्नेतर्फ रोम महासन्धि अनुमोदनको भूमिका र असरबारे छलफल गर्दै नेपालले रोम महासन्धिमा पक्षराष्ट्र बनेपछि गर्नुपर्ने कार्यहरूलाई प्राथमिकतामा राख्ने विषयमा पनि सहभागीहरूले आफ्ना राय दिनुभएको थियो । उत्पादन, प्रसारण, पुनः प्रसारण, पुनरुत्पादन र वितरणजस्ता विषयहरूमा स्पष्टता आवश्यक रहेको एवम् यी पक्षहरूमा नेपालले अनुमोदनपश्चात् प्राप्त गर्ने स्वीकृति सूचना (communication) समेतमाभरपर्ने बताउँदै सहभागीहरूले त्यस सम्बन्धमा पनि सुझावहरू दिनुभएको थियो । त्यसैगरी, महासन्धिको अनुमोदनका सन्दर्भमा बोल्दै वक्ताहरूले नेपालमा विदेशीले सिर्जना गरेका सामग्रीहरूको संरक्षण तथा सिर्जनाको प्रवर्धन गर्ने विषयमा रिजर्भेसनको विषय आधुनिक समयमा गौण हुन गएको पनि बताउनुभयो ।

सन्धिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीति, कानुनी र संरचनागत पूर्वाधारहरू निर्माण गर्नुपर्नेमा सहभागीहरू सहमत हुनुहुन्थ्यो । नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको सन्दर्भमायदि हालको कानुनमा रोम महासन्धिको आवश्यक प्रावधानहरू छुटेका छन् भने तिनलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँहरूले सन् २०२६ मा नेपाल विकासशील राष्ट्रको श्रेणीमा पदोन्नति हुने सन्दर्भमा रोम महासन्धिका सबै प्रावधानहरू पूर्णरूपमा लागु गर्ने अवस्था आउने र अनुमोदनपछि महासन्धिसम्बन्धी प्रशासनिक पक्षहरू,जस्तै सहभागिता आदिबाट आर्थिक दायित्व थपिन सक्ने सम्भावनालाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले सम्बन्धित थप सुझावहरू आवश्यक संस्थागत छलफल, कानुनी समन्वय र सहकार्यका आधारमा थप सुझावहरू पनि प्रतिष्ठानलाई पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

आमन्त्रित सहभागीहरू:
कृपाल गौतम (वरिष्ठ सहायक सम्पादक, कान्तिपूर टेलिभिजन)
इश्वर चन्द्र झा (संवाददाता, गोरखापत्र दैनिक)
शशि गुरुङ (उपाध्यक्ष, एम.एफ.पी.एस.एन.)
अर्जुन भट्टराई (प्रशासन अधिकृत, प्रस्तोता समाज नेपाल)
रेवन्त ओली (प्रमुख समाचार सम्पादक, नेपाल टेलिभिजन)
जानकी थापा मगर (कार्यालय सचिव, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल)
सपना थामी (संवाददाता, गोरखापत्र अनलाइन)
डा. सूर्यबहादुर मगर (अध्यक्ष, संगीत तथा चलचित्र समाज नेपाल)
निर्णय श्रेष्ठ (उपाध्यक्ष, प्रस्तोता समाज नेपाल)
चन्द्र शर्मा (पूर्वअध्यक्ष, लोक दोहोरी प्रतिष्ठान)
राजेन्द्र बजगाईं (अध्यक्ष, राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठान)
सबिता कार्की (रजिस्टार, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
सुनिता अर्याल (कानुन अधिकृत, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
लीला देवी रेग्मी (नायब सुब्बा, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
उत्तम प्रसाद दवाडी (कम्प्युटर अधिकृत, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
कमल राज पौडेल (लेखापाल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
सुशिला के.सी. (नायब सुब्बा, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय)
राजकुमार सुवाल (कार्यकारी निर्देशक, सी.आई.पी.एन.)
मुरारी घिमिरे (क्यामेरा, कान्तिपूर टेलिभिजन)

नीति अनुसन्धान प्रतिष्ठानका सहभागीहरू:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
प्राञ्जल रिजाल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
जुना श्रेष्ठ (इन्टर्न)
आयुष्का के.सी.(इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)



यस कार्यक्रमको फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला