प्रतिष्ठानको अनुसन्धान विभागको काम नीति अनुसन्धान गर्ने हो। विभागले सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधारका लागि वा नयाँ नीति तर्जुमाका लागि आवश्यक प्रमाणहरू जुटाउने कार्य गर्ने भएकाले प्रतिष्ठानले गर्ने अनुसन्धानहरू अन्य अनुसन्धानभन्दा फरक छन्। प्रतिष्ठानका अनुसन्धानले राष्ट्रको नीति परिवर्तन र नवप्रवर्तनमा योगदान गर्दछन्। विभागले विश्वविद्यालय, नीति अध्ययन गर्ने संस्थाहरू र अन्य समान उद्देश्य भएका सार्वजनिक प्राज्ञिक संस्थाहरू समेतको सहकार्यमा अनुसन्धान गर्दछ भने सरकारका मन्त्रालयहरू, विभागहरू र अनुसन्धान संस्थाहरूको निकट सम्बन्धमा रहेर कार्य गर्दछ । यसरी गरिएका अनुसन्धानका आधारमा अध्ययन प्रतिवेदन, नीति सङ्क्षेप, नीति सिफारिस प्रतिवेदन र पुस्तकका रूपमा ज्ञान सामग्रीहरू प्रकाशित हुन्छन् । अनुसन्धान विभागमा विषयगत विधामा विशिष्ट ज्ञान र विज्ञता भएका वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता, सहअनुसन्धानकर्ता र विश्लेषकहरू रहने व्यवस्था छ । अनुसन्धान विभाग अन्तर्गत चार वटा अध्ययन केन्द्रहरू संचालनमा छन् ।