‘नीति सम्मान २०८१’ को छनोट प्रक्रियामा सामेल हुन सङ्घ-संस्थाहरूलाई आह्वान
२०८१ साउन ३०
नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध, वातावरण तथा जलवायु परिवर्तन, विज्ञान तथा प्रविधि, सुशासनलगायत नीति क्षेत्रमा अध्ययन अनुसन्धान गरी नीति निर्माण, नवप्रवर्तन र सुधारका लागि नेपाल सरकारलाई तथ्यमा आधारित नीति सिफारिस गर्न गठित नीति अनुसन्धान प्रतिष्ठानले आगामी २०८१ असोज १० का दिन स्थापनाको छैठौँ वार्षिकोत्सव मनाउँदै छ।
उक्त अवसरमा नीति अनुसन्धान, नीति अनुसन्धान मानव संसाधन तथा क्षमता विकास र नीति निर्माणमा योगदान मार्फत देशको नीति सुधार र नीति नवप्रवर्तनमा योगदान पुर्याएका सार्वजनिक, गैरसरकारी र गैरनाफामूलक लगायत सबै प्रकारका सङ्घ संस्थामध्ये बाट छनोट गरिएको संस्थाहरूलाई नीति सम्मान र प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।
यसै सम्बन्धमा नीति अध्ययन तथा अनुसन्धान, नीति समीक्षा, सार्वजनिक नीतिको पठनपाठन र तालिम, नीति निर्माणमा सहयोग र पृष्ठपोषण, नीति सुधार र नीति नवप्रवर्तनमा कम्तीमा विगत ५ वर्षदेखि योगदान गरिरहेका संस्थालाई निम्नलिखित सामग्रीसहित नीति सम्मान छनोट प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गरिन्छ।
- संस्था नीति सम्मानका लागि किन योग्य हो सो खुल्ने आवरण पत्र,
- नीति अनुसन्धानमा गरेको योगदानको विवरण (सम्पूर्ण अनुसन्धानको सूची, प्रमुख ५ अनुसन्धानले समेटेको विषय, शोधविधि, नीति सिफारिस र सोको प्रभाव खुल्ने गरी तयार गरिएको सार-सङ्क्षेप) – ४ पृष्ठमा नबढाई,
- नीति अनुसन्धान सम्बन्धित मानव संसाधन विकास र क्षमता अभिवृद्धिमा गरेको योगदानको विवरण – २ पृष्ठमा नबढाई,
- नीति निर्माण र कार्यान्वयनमा गरेको योगदान (मस्यौदा, पृष्ठपोषण, पैरवी, समीक्षा र मूल्याङ्कन) को विवरण – २ पृष्ठमा नबढाई,
- संस्थाको विवरण र प्रोफाइल झल्काउने प्रकाशन र वेबसाइटको लिङ्क
निवेदनसम्बन्धी सामग्री नीति प्रतिष्ठानको कार्यालयमा उपस्थित भई या निम्न इमेलमार्फत विद्युतीय रूपमा बुझाउन सकिने छ।
निवेदनसम्बन्धी सामग्री प्राप्त हुनु पर्ने अन्तिम मितिः २०८१।५।१३ (२९ अगस्ट २०२४)
निवेदन बुझाउने स्थानः नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, काठमाडौँ ।
इमेलः info@pri.gov.np
सम्पर्क फोनः ०१-४४३०५१७/४५३४९७९
नीति सम्मान २०८१ सिफारिस समिति
नीति अनुसन्धान प्रतिष्ठान