डा. सुरोज पोख्रेल

डा. सुरोज पोख्रेल कृषि विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तहबाट अवकाश-प्राप्त उच्च अनुभवी प्रशासक र विज्ञ हुनुहुन्छ । उहाँले कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपालबाट कीट विज्ञानमा विद्यावारिधि र वनस्पति संरक्षणमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।

जापानको कोबे विश्वविद्यालयबाट सन् १९९३ मा एकीकृत कीट व्यवस्थापन सम्बन्धी तालिम लिनुभएका उहाँले बिरुवा क्वारेन्टाइन जाँच चौकीमा प्लान्ट क्वारेन्टाइन अधिकृत, बागवानी फार्म र क्षेत्रीय बिरुवा संरक्षण प्रयोगशालामा बिरुवा संरक्षण अधिकृत, जिल्ला कृषि विकास कार्यालयमा कृषि विकास अधिकृत, बाली विकास निर्देशनालयमा कार्यक्रम निर्देशक, राष्ट्रिय आईपीएम संयोजक, बिरुवा संरक्षण निर्देशनालयमा कार्यक्रम निर्देशक, वातावरण विभागमा महानिर्देशक, सहसचिव (विदेशी सहायता सहयोग) र कृषि विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवको जिम्मेवारीमा ३४ वर्ष सेवा गर्नुभएको छ । कृषि विज्ञानको विस्तृत दायराका विषयहरूमा उहाँका सयौं मौलिक अनुसन्धान लेखहरू र समीक्षा-लेखहरू विज्ञ-समीक्षित जर्नलमा प्रकाशित भएका छन् भने मौरी व्यवस्थापन र सङ्कलित कार्यहरूका बारे तीन पुस्तकहरू प्रकाशित छन्। उहाँले विश्वविद्यालयका विद्यार्थीहरूको विद्यावारिधि र स्नातकोत्तर शोधपत्रको सुपरिवेक्षण गर्नुभएको छ । उहाँ हाल कृषि र वनविज्ञान विश्वविद्यालयमा एडजङ्क्ट प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ।

संगीता कौशल, पिएचडी

डा. संगीता कौशल मिश्र हाल परोपकार मातृ तथा स्त्री अस्पतालको निर्देशक र वरिष्ठ चिकित्सक तथा राष्ट्रिय चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा प्रजनन तथा स्त्रीरोगको सह-प्राध्यापक हुनुहुन्छ । वहाँसँग सरकारी संस्था, मेडिकल कलेज, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्य गरेको व्यापक अनुभव छ । सँयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट एमडी र जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको वहाँले स्नातक तथा स्नातकोत्तर तहमा प्राध्यापन सक्रिय हुनुहुन्छ र स्वास्थ्य मन्त्रालयका शीर्ष सङ्गठनहरूमा रही कोभिड-१९ को नियन्त्रणको लागि नीति, अनुसन्धान र कार्यान्वयन तहमा प्रमुख नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । वहाँले फूलब्राइट विद्वतवृत्ति प्राप्त गर्नुभएको छ । लैङ्गिक मामिला तथा स्वास्थ्य समन्यायिकताको बारेमा विशेष रूची राख्ने वहाँले महिला स्वास्थ्यको बारेमा सबल पैरवी गर्नुहुन्छ ।

प्रा. जीवराज पोखरेल,पीएचडी

प्रा. जीवराज पोखरेलले बेलायतको योर्क विश्वविद्यालयबाट वास्तुकला संरक्षणमा स्नातकोत्तर र विद्यावारिधि गर्नु भएको छ । वहाँ इन्जिनियरिङ अध्ययन संस्थानका सेवानिवृत्त प्राध्यापक र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको पूर्व उपकुलपति तथा प्राज्ञ हुनुहुन्छ । प्रा. पोखरेलसँग प्राध्यापन, अनुसन्धान, डिजाइनिङ, प्रविधि विकास, र उच्चशैक्षिक संस्था र पेशागत सङ्गठनको नेतृत्व गरी दशकौँको कार्य अनुभव छ । वहाँले लुम्बिनीको मायादेवी मन्दिरको डिजाइनिङमा र जयवागेश्वरी मन्दिर, चापागाउँ क्षेत्र र भक्तपुरको दत्तात्रय मन्दिर परिसरको संरक्षण कार्ययोजनामा योगदान पुर्‍याउनुभएको छ । प्रा. पोखरेलले अग्नि-रोधक फुसको छानोको प्रविधि र पहिरो रोकथामको रैथाने विधि विकास गर्नुभएको छ । वहाँले दर्जनौँ स्नातकोत्तर र विद्यावारिधि शोधप्रबन्धको सुपरिवेक्षण र थुप्रै प्राज्ञिक एवम् लोकप्रिय प्रकाशनहरू गर्नुभएको छ ।

अजय दीक्षित

बेलायतको स्ट्राथक्लाइड विश्वविद्यालयबाट हाइड्रोलिक्स विषय र भारतको क्षेत्रीय इन्जिनीयरिङ विश्वविद्यालय उडिस्साबाट सिभिल इन्जिनीयरिङ विषय अध्ययन गर्नुभएका श्री अजय दीक्षितले नेपालमा स्थानीय जल व्यवस्थापन, बाँध, प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रभाव विश्लेषण र अन्तर्देशीय जल व्यवस्थापनमा अनुसन्धान गर्नुभएको छ । वहाँका अनुसन्धानका अन्य क्षेत्रमा जलवायु परिवर्तन अनुकुलन र बाढीको विरुद्ध उत्थानशीलता, सुख्खा, राजनैतिक-आर्थिक विश्लेषण, नीति र संस्थागत अध्ययन आदि रहेका छन् । युवा पुस्ताका पेशेवरहरूको क्षमता विकास र मार्गदर्शनमा सेवा पुर्‍याइरहनुभएका श्री दीक्षितले अहिले दक्षिण एशियाको जल चुनौतीमा संवाद कार्यक्रम, साउथ एशिया नदी संवाद (SoANaS), को क्युरेट गरिरहनुभएको छ । वहाँले दक्षिण एशियाका १४ वटा थिङ्क ट्याङ्कका टोलीको नेतृत्व गरेर “नीति अनुसन्धानको सबलीकरण: दक्षिण एशियामा थिङ्क ट्याङ्क पहलको भूमिका” शीर्षकको पुस्तक प्रकाशन गर्नुभएको छ ।

दिनेश भुजु, पीएचडी

डा. दिनेश भुजु नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ तथा मध्य-पश्चिम विश्वविद्यालयका सम्मानार्थ प्राध्यापक हुनुहुन्छ । सन् १९९८ मा इकोलोजीमा विद्यावारिधि गर्नुभएका वहाँले चुरे पर्वतको इकोलोजिकल तथ्याङ्क आधारको निर्माण (सन् २००३), नेपालको हिमालयको वृक्ष-रेखामा जलवायु परिवर्तनको प्रभावको लेखाजोखा गर्न डेन्ड्रो-ल्याब र प्लटको स्थापना (सन् २००८), नेपालमा विज्ञानको लोकप्रियकरणको नेतृत्व (सन् १९८५) र राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७४ को मस्यौदा तर्जुमाको संयोजन गर्नुभएको छ । कोभिड-१९ महाव्याधीको परिप्रेक्षमा वहाँले एक स्वयंसेवी बहस मञ्चको रूपमा “वैज्ञानिक नेपाल” को स्थापना गर्नुभएको छ ।