केन्द्र ४: परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्र
राष्ट्रिय हितको आयामः अवधारणा, अभ्यास र नेपाली सन्दर्भ
Effective Use of Public Diplomacy in the Context of Nepal
श्री दुर्गा प्रसाद भट्टराई
भोजपुर जिल्लामा जन्मनु भएका श्री दुर्गा प्रसाद भट्टराई सन् २०११ देखि २०१३ सम्म नेपाल सरकारको परराष्ट्र सचिव हुनुहुन्थ्यो । सन् २०१३ देखि २०१८ सम्म उहाँले न्यूयोर्कमा रही संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि र इक्वेडर, पेरु र भेनेजुएलाका लागि सह-प्रमाणिकृत राजदूतको रूपमा कार्य गर्नुभएका श्री भट्टराईले सन् २००५ देखि २००९ सम्म श्रीलंका र माल्दिभ्सका लागि राजदूत र सन् २००५ देखि २००६ सम्म कोलोम्बो प्लान काउन्सिलको अध्यक्ष भई कार्य गर्नुभएको छ ।
तीन दशक भन्दा लामो नेपालको निजामती सेवामा रहँदा उहाँले राष्ट्रिय वायुसेवा, विश्वविद्यालय, मन्त्रिपरिषद् सचिवालय, योजना आयोग सचिवालय तथा स्वास्थ्य मन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा रही काम गर्नुभएको छ । श्री भट्टराईले कुटनीतिक तहका विभिन्न द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय वैठक र सम्मेलनहरूको प्रतिनिधित्व गर्नुभएको छ, नेपाललाई संयुक्त राष्ट्रसँगको साधारण सभामा एसिया प्रशान्त क्षेत्रको निर्वाचित प्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्नुभएको छ भने मानव अधिकार परिषद्, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, यातना विरुद्धको महासन्धि लगायतका नेतृत्वमा नेपाललाई पहिलो पटक निर्वाचित गराउन योगदान गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र संघको सुधारमा नेपालको दृष्टिकोण प्रस्तुतिमा समन्वय गर्नुका साथै दिगो विकासका लागि २०३० कार्यसूची ग्रहणमा समेत योगदान पुर्याउनु भएको छ ।
श्री भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक र वाणिज्य प्रशासनमा स्नातकोत्तर तह पूरा गर्नुका साथै नेदरल्यान्ड्सको Institute of Social Studies बाट क्षेत्रीय विकासमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ ।
प्रा.डा. खड्ग केसी
पूर्वरथी बालानन्द शर्मा
पूर्वरथी बालानन्द शर्मा सन् १९६९ मा नेपाली सेना (तत्कालिन शाही नेपाली सेना) मा भर्ना भई सैन्य क्षेत्रका विभिन्न पदमा ३९ वर्ष लामो अनुभव प्राप्त गर्नुभएको छ । सेनामा रहँदा उहाँले लेबनानका लागि संयुक्त राष्ट्र संघीय अन्तरिम बल (यूनिफिल) का लागि असिस्टेन्ट सिनियर मिलिटरी अफिसर, ब्रिगेडियर मेजर, सैनिक कमाण्ड तथा स्टाफ कलेजका कमान्डान्ट, सोभियत संघकालागि सैन्य सहचरी, नेपाली सेनाका तालिम निर्देशक, सम्भाररथी विभागका प्रमुख लगायतका पदमा कार्य गर्नुभएको थियो । उहाँले गोलान हाइटको संयुक्त राष्ट्र संघीय बलमा फोर्स कमान्डरको रूपमा समेत कार्य गर्नु भएको छ ।
२०७८ सालको जेठ महिनामा नेपाल सरकारले शर्मालाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ l
डा. लीला न्याइच्याई
लीला न्याइच्याईले चीनको युनान विश्वविद्यालयबाट नेपालमा चीनको सार्वजनिक कूटनीति विषयमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । हाल उहाँ पुस्तकालय तथा सूचना विज्ञान विषयको सहप्राध्यापकको रूपमा त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने चीन मामिला हेर्ने गरी नेपाल तथा एसियाली अध्ययन केन्द्रसँग पनि आबद्ध रहनु भएको छ । उहाँले नेपाल खुला विश्वविद्यालयमा समाजशास्त्र तथा राजनीतिशास्त्र विभागमा एमफिल तहका विद्यार्थीहरूको सोधप्रबन्धको सुपरिवेक्षण पनि गर्दै आउनुभएको छ ।
डा. न्याइच्याईले युनान विश्वविद्यालयले सन् २०१९ को अप्रिल महिनामा गरेको चीनका कम्पनीहरूमा कार्यरत कामदारहरूको सन्तुष्टी सम्बन्धी अध्ययन टोलीको र नेपाल तथा एसियाली अध्ययन केन्द्रले गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अध्ययन टोलीको सदस्य भई काम गर्नुभएको छ ।
जनरल हिमालय थापा
जनरल हिमालय थापाले सन् २००८ मा University of Westminster बाट कुटनीतिक अध्ययनमा स्नातकोत्तर र सन् २०११ मा संयुक्त राज्य अमेरिकाको National Defense University बाट राष्ट्रिय सुरक्षा रणनीतिमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ ।
सन् १९७८ मा तत्कालिन शाही नेपाली सेनामा भर्ना भएपश्चात जनरल थापाले संयुक्त अधिराज्यको प्रतिष्ठित Royal Military Academy, Sandhurst बाट अफिसर्स क्याडेट तालिम प्राप्त गर्नु भएको थियो । उहाँले नेपाल, पाकिस्तान, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जर्मनीबाट विभिन्न पेशागत तालिम प्राप्त गर्नु भएको छ । जनरल कमाण्ड र स्टाफ कलेज सम्बन्धी जर्मनीको Fùhrungsakademie der Bundeswehr बाट र संयुक्त राज्य अमेरिकाको National Defense University अन्तर्गतको National War College बाट विशेष तालिमहरू लिनुभएका जनरल थापाले संयुक्त राष्ट्र संघ अन्तर्गत रही लेवनान, युगोस्लाभिया, सियरा लियोन र नेपालको शान्ति प्रक्रिया र कार्यमा संलग्न हुनुभएको छ । सन् २००५ देखि २००८ सम्म उहाँले संयुक्त अधिराज्य र फ्रान्सका लागि सैन्य सहचरी भई काम गर्नुभएको छ ।
हाल जनरल थापा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सल्लाहकार समिति सदस्य, स्नातकोत्तर तहको अतिथि फ्याकल्टी (अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति, त्रिभुवन विश्वविद्यालय) र नपाल उद्योग परिसंघको विज्ञ समूह (थिंक ट्यांक) सदस्य हुनुहुन्छ । उहाँ विभिन्न ट्रयाक_२ कुटनीति तथा सामाजिक क्रियालापहरूमा संलग्न हुनुहुन्छ ।
आफ्नो ३८ वर्ष लामो सैनिक जीवनमा उहाँले डाइरेक्टर जनरल अफ मिलिटरी अपरेशन, भ्याली डिभिजनको कमान्डर, एड्जुट्यांट जनरल, क्वार्टर मास्टर जनरल, र मिलिटरी अस्सिसटेन्ट टु चिफ अफ आर्मी स्टाफ लगायतका पदमा रही कार्य गर्नुभएको छ । जनरल थापा जनसेवाश्री लगायत नेपाल र अन्य देशका विविध पदक तथा विभूषणबाट सम्मानित हुनुहुन्छ ।
डा. दिनेश भट्टराई
सन् १९५३ मा अर्घाखाँची जिल्लामा जन्मनु भएका डा. भट्टराईले जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली, बाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि उपाधि हासिल गर्नु भएको छ भने वनारस हिन्दु विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह र नेदरल्यान्ड्सको Institute of Social Studies बाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमाको तह समेत पूरा गर्नुभएको छ ।
सन् १९८३ मा नेपालको परराष्ट्र मन्त्रालयमा सेवा थाल्नुभएका डा. भट्टराई सन् १९९१ देखि सन् १९९४ सम्म नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रथम सचिव (राजनीतिक मामिला) र सन् १९९८ देखि २००३ सम्म वाशिंगटन डीसी स्थित नेपाली राजदूतावासमा नियोग उपप्रमुख भई काम गर्नु भएको छ । सन् २००९ मा डा. भट्टराईले जेनेभास्थित संयुक्त राष्ट्र संघको लागि राजदूत/आवासीय प्रतिनिधिका साथै स्वीस कन्फेडेरेशन, इटाली र क्रोएशियाका लागि राजदूत भई काम गर्नुभएको थियो । जेनेभामा रहँदा उहाँले सन् २००९ देखि २०१२ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गतको अतिकम विकसित राष्ट्र समूहको नेतृत्व गर्नुभएको थियो ।
डा. भट्टराई सन् २०१४ देखि २०१५ र सन् २०१७ देखि २०१८ सम्म नेपालका प्रधानमन्त्रीहरूको परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्थ्यो ।
श्री केदारभक्त श्रेष्ठ
श्री केदारभक्त श्रेष्ठ सन् १९३८ मा काठमाडौँमा जन्मनु भएका श्री श्रेष्ठले सन् १९५९ मा University of Bombay बाट राजनीतिशास्त्र र अन्तराष्ट्रिय मामिलामा स्नातकोत्तर र सन् १९५५ मा नेपालको त्रिचन्द्र कलेजबाट स्नातक तह पूरा गर्नुभएको छ ।
सन् १९६४ मा नेपालको निजामती सेवाको परराष्ट्र मन्त्रालय अन्तर्गत प्रवेश गर्नु भएका श्री श्रेष्ठले सन् १९९७ देखि २००२ सम्म यूरोपियन यूनियन र बेल्जियम, नेदरल्यान्ड्स तथा लग्जेम्वर्गका लागि र सन् २००४ देखि २००६ सम्म संयुक्त राज्य अमेरिकाका लागि राजदूत भई काम गर्नु भएको छ । उहाँको पहिलो नियुक्ति सन् १९६५ मा जर्मनीको बन (Bonn) मा स्थापना हुन लागेको नेपाली राजदुतावासमा भएको थियो भने सन् १९७३ देखि १९७७ सम्म उहाँले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा प्रथम सचिव र सन् १९८० देखि सन् १९८४ सम्म संयुक्त राज्य अमेरिकाकाको वाशिंगटनस्थित नेपाली राजदूतावासमा नियोग उपप्रमुख तथा काउन्सेलर भई कार्य गर्नुभएको छ । मन्त्रालयमा रहँदा उहाँले विभिन्न विभाग प्रमुख तथा उत्तर-पूर्वी तथा दक्षिण-पूर्वी एसिया डिभिजनहरूको प्रमुख भई काम गर्नु भएको थियो । उहाँ सन् १९८७ देखि १९९२ सम्म सार्क सचिवालयमा नेपालको तर्फबाट सह-सचिव तहको पहिलो निर्देशक र सन् १९९४ देखि १९९७ सम्म परराष्ट्र सचिव हुनुहुन्थ्यो ।