प्रा. शरद वन्त, पीएचडी

k|f=8f= z/b jGt

प्राध्यापक डा. शरद वन्तले पूर्व सोभियत संघबाट एमबिबिएस (१९८४), बेलायतबाट एमपिएच (१९९२) र डेनमार्कबाट पीएचडी (१९९९) गर्नु भएको छ । प्राध्यापक वन्त चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक (समुदाय चिकित्सा तथा जनस्वास्थ्य) र सहायक डीन (प्राज्ञिक) हुनुहुन्छ । उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव तथा नेपाल सरकारको एचआइभी नियन्त्रण बोर्डको कार्यकारी उपाध्यक्षको रूपमा पनि सेवा गर्नुभएको छ । हाल पिपल्स हेल्थ मुभमेन्ट नेपालको कन्ट्री कोअर्डिनेटर तथा सामाजिक उत्तरदायित्वको लागि चिकित्सक, नेपालको अध्यक्षको रूपमा कार्यरत प्राध्यापक वन्तका जनस्वास्थ्य सम्बन्धी थुप्रै लेखहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

पुष्पा भुषाल

पुष्पा भुसाल हाल प्रतिनिधी सभाको सदस्य, नेपाली कांग्रेसका सचेतक तथा वरिष्ठ अधिवक्ता हुनुहुन्छ । उहाँ पच्चीस बर्षभन्दा बढी समयदेखि कानूनको अभ्यास गरिरहनु भएको छ र विगत बीस बर्षदेखि नेपाल कानून समाजसँग सम्बद्ध हुनुहुन्छ । उहाँ महिला अधिकारकर्मी समेत हुनुहुन्छ भने संविधानसभाको पूर्व सदस्य हुनुहुन्छ । उहाँले दक्षिण अफ्रिकाको १९९४ को आम चुनावमा पर्यवेक्षकको भूमिका निभाउनु भएको थियो । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तहको अध्ययन गर्नुभएको छ ।

प्रा. विपिन अधिकारी, पीएचडी

डा. विपिन अधिकारी एक वरिष्ठ संवैधानिक विशेषज्ञ र नीति विश्लेषक हुनुहुन्छ । उहाँ काठमाण्डौ युनिभर्सिटी स्कूल अफ लमा कानूनका प्राध्यापक र संस्थापक डीन हुनुहुन्छ । संवैधानिक कानूनमा दिल्ली विश्वविद्यालयबाट पीएचडी गर्नु भएको डाक्टर अधिकारी वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ । डा. अधिकारीको संवैधानिक कानून र सार्वजनिक नीतिमा महत्वपूर्ण शैक्षिक र व्यावसायिक दखल छ । संवैधानिक कानून बाहेक, उहाँ संस्था निर्माण, मानव अधिकार, न्यायमा पहुँच, पूर्वाधार विकास, कानूनी सुधार, शासन र लोकतान्त्रीकरण प्रक्रियाको क्षेत्रमा एक विशेषज्ञका रूपमा चिनिनुहुन्छ ।

विन्दा पाण्डे, पीएचडी

डा. बिन्दा पाण्डेसँग लैंगिक न्याय, अधिकार र नीति निर्माण क्षेत्रमा दशकौं लामो कार्यानुभव छ । सन् २००२ देखि २००४ सम्म उहाँले राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य,  २००८ देखि २०१२ सम्म संविधान सभा सदस्य र सन् २०१७ देखि संघीय संसदको सदस्य भई कार्य गर्नुभएको छ । उहाँ हाल जिफन्ट ट्रेड यूनियन पोलिसी इन्स्टिच्युटको अध्यक्ष हुनुहुन्छ ।

उहाँले सन् २००२ मा लैंगिकता र विकास विषयमा एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाईल्याण्डबाट स्नातकोत्तर तह र सन् २०१७ मा काठमाडौँ विश्वविद्यालयबाट राजनीतिमा महिला सशक्तिकरण विवषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।

प्रा. मनप्रसाद वाग्ले, पीएचडी

नेपालका प्रख्यात शिक्षाविद् प्रा. वाग्ले विगत चार दशक देखि नेपालको उच्च शिक्षाको शैक्षणिक प्रक्रियामा संलग्न हुँदै आउनुभएको छ । उहाँले तीन दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र काठमाडौँ विश्वविद्यालय अन्तर्गत पाँच वर्ष डीन भई कार्य गर्नुभएको छ भने सोही विश्वविद्यालयमा दश वर्ष देखि प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ ।

प्राध्यापक वाग्लेले संयुक्त राज्य अमेरिकाको Southern Illinois University बाट एमएस र पीएचडी तह पूरा गर्नुभएको छ । उहाँ शैक्षिक नीति, STEAM शिक्षा, प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम र राष्ट्रिय योग्यता प्रारूप जस्ता विषयहरूमा विशेष रुचि राख्नुहुन्छ ।

नेत्रप्रसाद तिम्सिना, पीएचडी

डा. नेत्रप्रसाद तिम्सिनाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट अन्डरग्र्याजुएट तथा संयुक्त अधिराज्यको यूनिभर्सिटी अफ रीडिंगबाट राजनीतिक अर्थतन्त्र तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा पोस्टग्र्याजुएट तह पूरा गर्नु भएको छ ।

डा. तिम्सिनासँग राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय तहको विकासको राजनीतिक अर्थतन्त्र र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी नीति अनुसन्धानमा बृहत् ज्ञान र अनुभव छ । उहाँ तीन दशक देखि दक्षिण एसियाको सामाजिक आन्दोलन खासगरी गरिबीका संरचनागत कारणहरू, असमानता र अन्याय जस्ता विषयमा र समष्टि तथा सुक्ष्म तहको राजनीति र नीतिलाई जोडी अध्ययन अनुसन्धान कार्यमा संलग्न हुँदै आउनुभएको छ ।