माननीय विमला राई पौड्याल, पीएचडी

डा. बिमला राई पौड्याल संघीय संसद (राष्ट्रिय सभा) को सदस्य हुनुहुन्छ । उहाँले नेदरल्याण्डको Institute for Social Studies बाट विकास अध्ययनमा विद्यावारिधि गर्नुभएका साथै संयुक्त अधिराज्यको Manchester University बाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गर्नुभएको छ । त्यसैगरी उहाँले त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गर्नुभएको छ । उहाँले राष्ट्रिय योजना आयोगको पूर्व सदस्य भई काम गर्नुभएको छ भने हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयमा Adjunct Professor को रूपमा विकास अध्ययन विषय अध्यापनरत हुनुहुन्छ । डा. बिमला राई पौड्यालले नेपालका विभिन्न सरकारी निकाय लगायत, वहुपक्षीयआर्थिक सहायता निकाय र गैर-सरकारी संस्थाहरूमा काम गर्नुभएको छ । नेपालमा सन् २०१५ मा गएको भूकम्प पश्चात् उहाँ नेपालको विपद् पछिको आवश्यकता अध्ययन लैंगिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुख भई कार्य गर्नुभएको छ । उहाँ थुप्रै सार्वजनिक निकायहरूमा आवद्ध हुनुहुन्छ भने Centre for Peoples and Forest (रिकफ नेपाल) मा सन् २०११ देखि २०१७ र Open Society Foundation को सन् २०१६ देखि २०१८ सम्म Board of Directors मा रही कार्य गर्नुभएको छ । उहाँले सन् २०१६ देखि २०१८ सम्म UN Women in Nepal को लागि प्राङ्गारिक कृषि सम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको रूपमा काम गर्नु भएको छ । उहाँले लैंगिक मूलप्रवाहीकरण, सामाजिक समावेसीकरण, जलवायु अनुकुलित कृषि, प्राकृतिक स्रोत प्रशासन, प्रकोप जोखिम न्यूनीकरण र भूकम्प पछिको पुननिर्माण सम्बन्धी गहन अध्ययन गर्नु भएको छ भने सो विषयहरूमा उहाँका थुप्रै प्रकाशनहरू रहेका छन् ।

श्री लीलामणि पौड्याल

लीलामणि पौड्यालले नेपालको निजामती सेवामा विभिन्न पदमा रही ३२ वर्ष कार्य गर्नुभएको छ । पौड्याल नेपाल सरकारको पूर्व मुख्य सचिव हुनुहुन्छ भने चीनका लागि पूर्व नेपाली राजदूत र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्ययन मन्त्रालयको सचिव भई काम गर्नुभएको छ ।

उहाँले चीनको ल्हासामा समेत नेपालको महावाणिज्य दुत भई काम गर्नुभएको छ । हालसाल श्री पौड्याल नदी सरसफाई, सामाजिक कार्य, विश्वविद्यालयहरूमा सार्वजनिक नीति, परराष्ट्र नीति, सुशासन, नेतृत्व, सकारात्मक सोच जस्ता विषयहरूमा प्रवचन लगायत तालिमहरूमा संलग्न हुनुहुन्छ । उहाँले समय समयमा समसामयिक विषयहरूमा  पत्रपत्रिका मार्फत आफ्ना विचारहरू लेख्दै आउनु भएको छ भने सामाजिक संवाद गर्ने, अन्तर्वार्ता दिने र अन्तरक्रियामा संलग्न हुँदै आउनु भएको छ । पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर तहको अध्ययन गर्नु भएको छ । विश्ववन्धुत्व, भ्रमण, योगा र ध्यान उहाँका रुचिका विषयहरू हुन् ।

श्री कृष्ण ज्ञवाली

श्री कृष्ण ज्ञवालीले आफ्नो २९ वर्षे निजामती सेवाको अवधिमा अर्थ मन्त्रालयको सह-सचिव तथा स्थानीय विकास मन्त्रालय, वातावरण मन्त्रालय र उद्योग मन्त्रालयको सचिवको रूपमा काम गर्नुभएको छ । अर्थ मन्त्रालयमा रहँदा उहाँले अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख भई कार्य गर्नुभएको थियो । सन् २०१४ मा अवकाश प्राप्ति पश्चात उहाँलाई नेपाल सरकारले विकासशील देशहरूमा गरिबी निवारण र आर्थिक वृद्धि गर्ने कार्यादेश प्राप्त अमेरिकी सरकारको सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) को राष्ट्रिय संयोजकको रूपमा नियुक्त गरेको थियो । ज्ञवालीले राष्ट्रसंघीय स्वयम् सेवकको रूपमा कम्बोडिया, दक्षिण अफ्रिका, पूर्वी टिमोर र कोसोभोमा शान्ति कार्यमा सहभागी हुनुभएको छ भने सन् १९९५ देखि सन् १९९६ सम्म बीबीसी नेपाली सेवामा समेत कार्य गर्नुभएको छ ।

श्री ज्ञवालीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र जनप्रशासनमा र संयुक्त अधिराज्यको University of Birmingham बाट विकास प्रशासनमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । साथै उहाँले अमेरिकाको Michigan State University मा Hubert Humphrey Fellow को रूपमा आर्थिक विकास सम्बन्धि अध्ययन गर्नुका साथै Harvard Kennedy School मा “विकासमा नेतृत्व” सम्बन्धि अध्ययन समेत गर्नु भएको छ । सुशासन र राजनीतिक अर्थनीतिको विश्लेषण उहाँको मुख्य विज्ञताको क्षेत्र रहेको छ भने यी विधागत क्षेत्रमा उहाँका विभिन्न लेख रचनाहरू जर्नल र पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।