हाम्रो समूह | प्रोफाइल

डा. सुरेन्द्र सिंह रावल
अनुसन्धानकर्ता
Biography

सुरेन्द्र सिंह रावलले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी गर्नु भएको छ भने अमेरिकाको नेभल पोस्टग्रेजुएट स्कूल (मोन्टेरे) का साथै नेशनल वार कलेज (वाशिंगटन डीसी) मा पनि अध्ययन गरी सुरक्षा अध्ययन (नागरिक-सैन्य सम्बन्ध) र राष्ट्रिय सुरक्षा रणनीतिमा स्नातकोत्तर डिग्री प्राप्त गर्नुभएको छ । त्यस्तै, उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमपीए र मद्रास विश्वविद्यालय (भारत) बाट रक्षा र रणनीतिक अध्ययनमा एमएस्सी पनि गर्नु भएको छ । यसका साथै डा. रावलले नेपाल, भारत, चीन, बेलायत र अमेरिकाबाट विभिन्न सैन्य तालिम गर्नु भएको छ ।

नेपाली सेनामा बत्तीस वर्ष सेवा गर्नु भएको तथा राष्ट्रिय सुरक्षा र रणनीतिक मामिलामा अनुभवी हुनुहुन्छ । ब्रिगेडियर जनरलको हैसियतमा उहाँले नेपाली सेनाको मुख्यालयमा योजना तथा नीति निर्देशकको रूपमा काम गर्नु भएको थियो । त्यसअघि, नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज (ACSC) मा डाइरेक्टिङ्ग स्टाफको रूपमा कार्यरत रही उहाँले नेपाल र विदेशका सैनिक, गैरसैनिक, प्रहरी र सशस्त्र प्रहरी अधिकारीहरूलाई मिलिटरी अपरेसन, लजिष्टिक तथा रणनैतिक विषयहरूमा प्रशिक्षण दिनु भएको थियो । डा. रावलले २०७२ सालको गोरखा भूकम्पलगतै जङ्गी अड्डामा प्रमुख लजिष्टिक कोअर्डिनेटरको रूपमा खटिई लजिष्टिक र राहत वितरण कार्यमा योगदान दिनु भएको थियो । थुप्रै टास्कफोर्सहरूमा रही उहाँले राष्ट्रिय सुरक्षा, रणनीतिक मामिला र रक्षा नीति सम्बन्धी विषयहरूमा काम गर्नु भएको छ ।

डा. रावलसंग संयुक्त राष्ट्र संघीय मिसन (UNAMID) मा डेपुटी चीफ सर्भिस डेलिभरी (P5) र चीफ सर्भिस डेलिभरी (D1) को रूपमा काम गरेको अनुभव छ । उहाँले UNIFIL (लेबनान), ONUB (बुरुन्डी), MINUSTAH (हाईटी), UNMISS (दक्षिण सुडान), र UNAMID (दारफुर, सुडान) मा विभिन्न पदहरू जस्तै सैन्य पर्यवेक्षक (MILOB), न्यासनल सपोर्ट टिम (NST) टोली नेता, रणनीतिक योजनाकार (Strategic Planner) को रूपमा काम गर्नु भएको छ ।

उहाँ राष्ट्रिय सुरक्षा, रणनीतिक मामिला, परराष्ट्र नीति, शान्ति र सुरक्षा, नागरिक-सैन्य सम्बन्ध र राष्ट्रिय हितका विषयहरूमा लेख्नुहुन्छ । उहाँका दुई दर्जन लेखहरू सैन्य जर्नलमा र पाँच दर्जनभन्दा बढी लेखहरू राष्ट्रिय दैनिक पत्रिकाहरूमा प्रकाशित छन् ।