‘सार्वजनिक कुटनीति’ बारेमा अनलाइन गोष्ठी सम्पन्न

September 6, 2021

नेपाल सरकारको विद्वत् निकाय नीति अनुसन्धान प्रतिष्ठानले २१ भाद्र २०७८ मा अन्तर्राष्ट्रिय कानून र कुटनीतिक क्षेत्रका विद्वान, नेपाल सरकारका पूर्व कुटनीतिकर्मी तथा राजनीतिशास्त्रीहरूको बीचमा “सार्वजनिक कुटनीति” शीर्षक अन्तर्गत एक दिने अनलाईन गोष्ठीको आयोजना गरेको थियो ।

नेपालमा कमै चर्चा हुने “सार्वजनिक कुटनीति” को महत्वउपर सार्वजनिक बहस तथा पैरवीको पहल गर्नु गोष्ठीको मुख्य उद्देश्य थियो l त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पुस्तकालय तथा सूचना विज्ञान विभागकी सहायक प्राध्यापक डा. लीला न्याइच्याईले “सार्वजनिक कुटनीतिको परिचय” (Understanding Public Diplomacy) शीर्षकको कार्यपत्रको प्रस्तुतीकरणमार्फत छलफलको पृष्ठभूमि निर्माण गर्नुभएको थियो । प्रस्तुतीकरणको विषयवस्तु आम रूपमा “चीनको सार्वजनिक कुटनीति” र विशेष रूपमा “नेपालमा चीनको सार्वजनिक कुटनीति”मा केन्द्रित थियो । प्रस्तुतिमा डा न्याइच्याईले भन्नुभयो – उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान, जनस्तरमा नियमित सम्पर्क तथा सम्वाद, साँस्कृतिक सम्पदाको प्रचारप्रसार, शैक्षिक आदानप्रदान तथा मानवीय सहायता सार्वजनिक कूटनीतिका माध्यम हुन् भने राम्रो छवी निर्माण गरी आफ्नो देशको प्रभाव विस्तार र्गनु सार्वजनिक कुटनीतिको लक्ष । डा. लीला न्याइच्याईद्वारा प्रस्तुत कार्यपत्रउपर डा. दिनेश भट्टराई, प्राध्यापक डा. खड्ग के.सी. र डा. राजन भट्टराईले टिप्पणी गर्दै आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

सार्वजनिक कुटनीतिको संचालन र यसमार्फत राष्ट्रिय हितको प्रवर्द्धन गर्ने सन्दर्भमा नेपालको राजनीति र व्यवहारमा रहेको खाडल पुर्न अति जरुरी भएको चर्चा गर्दै विज्ञहरूले नेपालका विभिन्न साँस्कृतिक सम्पदालगायत सगरमाथा तथा अन्य पर्यटकीय क्षेत्रलाई सार्वजनिक कुटनीति विस्तारका माध्यमको रूपमा प्रयोग गर्न सुझाव पेस गर्नुभएको थियो । त्यसैगरी, गोष्ठीका अन्य सहभागी तथा टीप्पणीकर्ता सूर्यनाथ उपाध्याय, दुर्गाप्रसाद भट्टराई, चांदनी जोशी र गौरव भट्टराईले नेपालले क्षेत्रीय र विश्वव्यापी स्तरमा सार्वजनिक कुटनीति विस्तारको विषयवस्तु तथा माध्यम र क्षेत्र पहिचान गर्न जाड दिनुपर्ने बताउनुभएको थियो । अनलाइन गोष्ठीको अध्यक्षता प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा विदेश नीति र सामरिक मामिला केन्द्रका प्रमुख डा. खागनाथ अधिकारीले गर्नुभएको थियो ।

अनलाइन गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुअघि परराष्ट्र सचिव श्री भरत राज पौडेलले सार्वजनिक कुटनीतिका आयाम तथा सञ्चालनका आधारहरू, यसको महत्व तथा नेपालले सार्वजनिक कुटनीति सञ्चालनमा गरिरहेको अभ्यासको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यत्तित्व र प्रतिष्ठानका अनुसन्धानकर्तासहित ९५ जनाभन्दा बढीले सहभागिता जनाउनु भएको थियो ।