प्रतिष्ठानका सल्लाहकारहरूसँगको अन्तक्र्रिया

March 1, 2021

१७ फागुन २०७७
प्रतिष्ठानको संस्थागत विकास र विस्तारको नियमित कार्यअन्तर्गत प्रतिष्ठानले कार्यसमिति र सल्लाहकारहरू बीच फागुन १७ गते एक अन्तक्र्रियाको आयोजना गरी प्रतिष्ठानले हालसम्म हासिल गरेका उपलब्धि, अब गर्नुपर्ने काम र लिनुपर्ने बाटोका बारेमा छलफल गरेको थियो ।
सो छलफलमा प्रतिष्ठानका सल्लाहकारज्यूहरू श्री सूर्यनाथ उपाध्याय, प्रा. डा. सुरेशराज शर्मा, प्रा. डा. योगेन्द्रप्रसाद यादव र प्रा. डा. मीना वैद्य मल्ल तथा कार्यकारी समितिका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती र सदस्य प्रा. डा. सुरेन्द्र लाभ कर्ण सहभागी हुनुहुन्थ्यो ।
प्रतिष्ठानले आफ्ना काममा सोचेअनुरूप प्रगति गर्दै गएकोमा खुसी व्यक्त गर्दै सल्लाहकार श्री सूर्यनाथ उपाध्यायले नीति अनुसन्धानको उद्देश्यलाई ध्यानमा राख्दै र सरकारले महत्वपूर्ण ठानेका विषयमा केन्द्रित भई काम गर्न सुझाव दिनुभएको थियो ।
प्रा. डा. योगेन्द्र यादवले जनसङ्ख्याको ठुलो समूहलाई प्रत्यक्ष प्रभाव पार्ने संवैधानिक तथा कानुनी प्रावधानसँग सरोकार राख्ने शिक्षा तथा संस्कृतिजस्ता विषयहरूमा पनि अध्ययन र नीति समीक्षा गर्न सुझाव दिनुभएको थियो । विज्ञान तथा प्रविधिका क्षेत्र आगन्तुक भाषामा भरपर्नु परेको सन्दर्भमा आफ्नो चासो व्यक्त गर्दै उहाँले यस क्षेत्रमा पनि नीति विश्लेषण हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्राध्यापक शर्माले उद्विकासमा आधारित नीति–निर्माणले मात्रै दिगो नीति बन्ने बताउँदै प्रतिष्ठानलाई बढी महत्वाकाङ्क्षी नबनी प्राथमिकतामा परेका विषयमा मात्र नीति अनुसन्धान गर्न र अनुसन्धानका विषयलाई बृहत्तर रूमपा राष्ट्र निर्माण प्रक्रियामा जोड्न सुझाव दिनुभयो ।
प्राध्यापक मीना वैद्यले प्रतिष्ठानले पछिल्लो समयमा गरेको प्रगतिप्रति सन्तोष प्रकट गर्दै अनुसन्धान कार्यमा व्यावसायिक तटस्थता र निष्ठा कायम राख्न तथा मुलुकको सामाजिक–आर्थिक वास्तविकतालाई ध्यानमा राखी नीति अनुसन्धान गर्न सुझाव दिनुभएको थियो ।
प्रा.डा. सुरेन्द्र लाभ कर्णले सल्लाहकारज्यूहरूको सहयोग तथा सुझावका लागि कार्य समितिको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्राप्त सुझावलाई कार्यन्वयनमा लाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले अनुसन्धानबाट आएका निष्कर्षहरू नीति सुधार तथा परिमार्जनमा प्रयोग हुने सुनिश्चतता गर्ने विषय सजिलो नभएपनि सल्लाहकारज्यूहरूको अनुभव, बुद्धिविवेक र प्रतिष्ठानको संस्थागत विज्ञताका कारण सो कार्य सम्भव हुने बताउनुभएको थियो ।