प्रतिष्ठानका अनुसन्धानकर्ताका लागि सार्वजनिक नीति प्रक्रियासम्बन्धी अभिमुखीकरण

March 9, 2021

२५ फागुन २०७७
सार्वजनिक नीतिसम्बन्धी अवधारणागत तथा सैद्धान्तिक पक्षमा आफ्ना अनुसन्धानकर्ता तथा कर्मचारीहरूलाई परिचित गराउने र सरकारी मन्त्रालय तथा अन्य निकायहरूसँग कसरी समन्वय गर्ने भन्ने उद्देश्यले प्रतिष्ठानले फागुन २५ गते आधा दिनको अभिमुखीकरण सत्र सञ्चालन गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले आफ्ना सङ्क्षिप्त भनाइसहित अभिमुखीकरणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
अभिमुखीकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. तीर्थ ढकाल र नेपाल सरकारका पूर्व सचिव प्रतापकुमार पाठकले क्रमशः मन्त्रालयहरू तथा अन्य समग्र सरोकारवाला निकाय र समुदायसँगको सहकार्य एवम् सार्वजनिक नीति–निर्माण प्रक्रियाको बारेमा आआफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । सचिव डा. ढकालले आफ्ना अनुभवसमेतलाई आधार बनाई नेपालको नीति–निर्माण प्रक्रिया र अभ्यासका बारेमा प्रस्ट पार्नुभएको थियो । साथै, उहाँले प्रतिष्ठानले प्राप्त कार्यादेशलाई कसरी प्रभावकारी तवरले पालन गर्न सक्दछ र सो प्रयोजनको लागि कसरी समन्वय र सहकार्य गर्ने भन्नेबारे विचार व्यक्त गर्नुभएको थियो । उहाँले मन्त्रालयका नीति मस्यौदा गर्ने अधिकारीलगायत योजनानिर्माण, अनुगमन, मूल्याङ्कन र ज्ञान व्यवस्थापन गर्ने अधिकारीसँग समेत सम्पर्कमा रही काम गर्न सुझाव दिँदै नीति प्रक्रियाका सबै चरणमा सम्बन्धित सरकारी पदाधिकारीको संलग्नता सुनिश्चित गर्न सुझाव दिनुभएको थियो । पूर्वसचिव पाठकले नीतिनिर्माण प्रक्रियाको सैद्धान्तिक पक्ष, नीति विरोधाभास, नीति प्रक्रिया र दृष्टिकोण, नीति कार्यान्वयन र मूल्याङ्कनलगायतका प्रमाणमा आधारित नीति–निर्माणका बारेमा धारणा राख्नुभएको थियो ।