‘नेपालको उच्च शिक्षामा अनुसन्धान आचारसंहिताको पालनाको अवस्था’ सम्बन्धी संवाद

June 24, 2022

मिति : १० असार २०७९
स्थान : नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, काठमाडौँ

पृष्ठभूमि

उच्च शैक्षिक संस्थाहरू शिक्षण-सिकाइका अतिरिक्त अनुसन्धानका केन्द्र हुन् l अनुसन्धानमार्फत नवीन, सृजनशील र रूपान्तरणमुखी ज्ञानको निर्माण गर्ने भएकाले उच्च शैक्षिक संस्थाहरूलाई शैक्षिक विशिष्टता केन्द्र (सेन्टर अफ एक्सलेन्स) को रूपमा हेरिन्छ l

रूपान्तरणमुखी ज्ञान निर्माणका लागि अनुसन्धान प्रवर्धन गर्ने वातावरणको आवश्यकता पर्छ l यस्तो वातावरण निर्माणमा अनुसन्धानका लागि आवश्यक धेरै अवयव र तत्त्वहरूको भूमिका हुन्छ l ती सबैमध्ये पहिलो र आधारभूत अवयव ‘अनुसन्धान आचारसंहिता’ हो, जसको अभावमा अनुसन्धान गर्न सकिन्न l कदाचित अनुसन्धान गरिएको भए तिनको नतिजा र सिफारिसहरूलाई विश्वसनीय मान्न सकिन्न l

यही पृष्ठभूमिमा नेपालका उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान आचारसंहिता, विद्यार्थी र अनुसन्धाताहरूमा आचारसंहिताको सचेतना; शैक्षिक निष्ठा र आचारसंहिताको सम्बन्ध; आचारसंहिता प्रवर्धन गर्ने नियमनकारी संयन्त्रको प्रभावकारिता; अनुसन्धान सुपरिवेक्षण र निर्देशनको अवस्था; र, अनुसन्धान संस्कृति र राजनीतिक प्रभावको अन्तरसम्बन्ध जस्ता प्रश्नमा केन्द्रित रही गरिएको अनुसन्धान मस्यौदामाथि सम्बन्धित विज्ञहरूको राय र पृष्ठपोषणका लिनका लागि उक्त संवादको आयोजना गरिएको थियो l

कार्यक्रम सञ्चालन विधि

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीको अध्यक्षता र सहजीकरणमा सञ्चालित उक्त संवादको सुरुमा अध्यक्ष उप्रेतीले आमन्त्रित महानुभावहरूलाई हार्दिक स्वागत गर्दै आफ्नो विचार, अनुभव र पृष्ठपोषण निर्भीकतापूर्वक राखी प्रतिष्ठानले गरेको अनुसन्धानलाई थप परिष्कृत गर्न सहयोगको लागि आग्रह गर्नु भयो l र, ‘नेपालको उच्च शिक्षामा अनुसन्धान आचारसंहिताको पालनाको अवस्था’ सम्बन्धी गरिएको अनुसन्धान मस्यौदाको सार प्रस्तुत गरी संवादलाई अघि बढाउन डा विक्रम आचार्यलाई समय दिनु भयो l डा आचार्यको प्रस्तुति पछि संवादमा आमन्त्रित विज्ञहरूले आ-आफ्नो टिप्पणी र सुझाव दिनु भयो l  

प्रा डा शिव लाल भुसाल, प्रा प्रमिला देवान, प्रा डा राम नाथ प्रसाद यादब, प्रा डा डिल्ली राज शर्मा, डा प्रदीप ज्ञवाली, डा ऋषिराम रेग्मी, प्रा डा दीपक सुबेदी, प्रा मोहन राज शर्मा, प्रा डा मोहन राज प्रसाईँ, श्री चिरञ्जीवी भण्डारी, डा माधव जोशी, श्री राजमणि दाहाल, डा अर्जुन कार्की, डा युवराज लुइँटेल, डा नारायण प्रसाद भट्ट, प्रा डा श्याम किशोर महतो, प्रा जुगेश्वर शाह, श्री प्रकाश थापा, श्री केशव राज पन्थी, श्री बिशु कुमार केसीलगायत वक्ताहरूले मस्यौदा प्रतिवेदनमाथि टिप्पणी गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो l वक्ताहरूको प्रस्तुतिमा मुख्यतः निम्न सुझावहरू समेटिएका थिए l

  • हाम्रो उच्च शिक्षाको इतिहास छोटो छ l यो इतिहासले प्राज्ञिक स्वतन्त्रताभन्दा बढी राजनीतिक प्रभावलाई झेलेको छ l ‘अनुसन्धान आचारसंहिता’ को अवस्थाको चर्चा गर्दा यो पृष्ठभूमिलाई नभुलौँ किनकि हाम्रो अनुसन्धानको संस्कृति र धरातलको जग यही हो l
  • हाम्रो सामाजिक-सांस्कृतिक परम्पराले प्रश्न सोध्न – अर्थात् अनुसन्धान गर्न – प्रेरित गर्दैन l हामीसँग अनुसन्धानसम्बन्धी ज्ञान, संस्कार र कानुनी संरचनाको पर्याप्तता नहुनमा यो परम्परागतता संस्कार पनि केही हद जिम्मेवार छ l
  • अनुसन्धान संस्कृतिलाई बलियो बनाउन उच्च शिक्षाको पाठ्यक्रममा अनुसन्धान प्रक्रिया, पद्धति र अनुसन्धान-निष्ठाका आधारभूत अन्तर्वस्तुका बारेमा वृहत् प्रशिक्षण तथा तालिमको अनिवार्य व्यवस्था गरिनु पर्छ l यसका साथै अनुसन्धान प्रक्रिया तथा अनुसन्धान गर्ने व्यक्ति र संस्थाको नियमनका लागि प्रभावकारी नीति तथा संरचनाको निर्माण गरिनु पर्छ l अहिले यी दुवैको अपर्याप्तता छ, जसको कारण अनुसन्धान आचारसंहिताको उलङ्घन भएको अवस्थामा (उदाहरण: साहित्यिक चोरी; प्रिडेटोरी जर्नल प्रकाशन; आदि) पनि केही गर्न सकिएको अवस्था छैन l  
  • उच्च शिक्षा नियामक संस्थाहरू (जस्तो कि त्रिभुवन विश्व विद्यालय) यो अवस्थाको बारेमा जानकार छन् र त्यसको निराकरणका लागि आवश्यक हुने नीतिगत र संरचनात्मक तयारी गरिरहेका छन् l निकट भविष्यमा नै यो तयारीले मूर्त रूप लिने अपेक्षा गरिएको छ l यो प्रतिवेदनमा यस्ता सूचनाहरू पनि समावेश हून ताकि यो प्रतिवेदन पढ्दा पुरै नकारात्मक चित्र नदेखियोस् l   
  • संवादको अन्तमा अध्यक्ष उप्रेतीले उपस्थित सबै महानुभावहरूबाट प्राप्त सुझाव र पृष्ठपोषणहरू प्रतिवेदनमा समावेश गर्ने बताउँदै उहाँहरूको महत्त्वपूर्ण समय र सुझावका लागि धन्यावाद ज्ञापन गर्नु भयो  l