‘नेपालको अन्तर्राष्ट्रिय नीतिका अन्तर्वस्तुहरू’ सम्बन्धी प्रवचन

June 23, 2022

मिति: २५ जेठ २०७९

स्थान: नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय, नारायणहिटी, काठमाडौँ ।

बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक तथा प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला अध्ययन केन्द्रका वरिष्ठ विधागत विज्ञ समूहका सल्लाहकार डा. सूर्य प्रसाद सुवेदी नेपालमा रहनु भएको अवसरमा नेपालको परराष्ट्र नीतिलाई अझ उन्नत र प्रभावकारी बनाउन के गर्नु पर्ला भन्ने जिज्ञासाको वरिपरि रही नीति अनुसन्धान प्रतिष्ठानले  एक प्रवचन कार्यक्रमको आयोजना गर्‍यो । प्रवचनमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णु राज उप्रेतीको अध्यक्षता र सहजीकरणमा आयोजित प्रवचनमा प्रा. डा. सुवेदीले आफ्नो विशिष्ट अवस्थिति (भूराजनीतिक अवस्थिति) र विशेषज्ञताको समेतलाई ख्याल गरी विश्वलाई नेपालले दिन सक्ने खास वस्तु/योगदान (युनिक सेलिङ्ग  पोइन्ट) के हुन सक्छ त्यसको निर्क्योल र निर्धारण गरी त्यसैको आधारमा परराष्ट्र नीति बनाइनु र सोहीअनुसार सञ्चालन गरिनु उपयुक्त हुने बताउनु भयो l तुलनात्मक रूपमा सानो र अल्पविकसित राष्ट्र भएकोले अन्तर्राष्ट्रिय क्षेत्रमा खासै केही गर्न नसक्ने मानसिकता (स्मल स्टेट सिनड्रोम) त्यागी नेपालले अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व लिन सक्ने क्षेत्र पहिचान गरी सोहीअनुसारको दक्षता र विशेषज्ञता विकास गर्नु अपरिहार्य रहेकोमा उहाँको जोड थियो l

डा.सुवेदीका अनुसार नेपालले आफ्नो युनिक सेलिङ्ग पोइन्टहरू निर्माण गर्न सक्ने दुई वटा क्षेत्रहरू छन् l ती मध्ये एक हो ‘क्षेत्रीय शान्ति अध्ययन केन्द्र’ को स्थापना र सञ्चालन l र, अर्को ‘स्थायी तटस्थता’ को नीतिको दृढ अनुसरण l क्षेत्रीय शान्ति अध्ययन केन्द्रले हिन्दु कुश क्षेत्रमा शान्ति प्रवर्द्धन गर्ने थिङ्क ट्याङ्कहरूको समूहको निर्माण गरी नेपाललाई शान्ति मध्यस्थकर्ता र शान्ति दूतको रूपमा चिनाउन सक्ने उहाँको मत थियो l यसका लागि नेपालले सानो, गरिब र दुई ढुङ्गा बिचको तरुल (पराश्रित) भएको मानसिकताबाट बाहिर निस्कन हिम्मत गर्नु पर्छ र नेपाली जनता र हिन्दु कुश हिमालय क्षेत्रका जनताको हितका लागि स्विजरल्याण्डले जस्तै स्थायी तटस्थताको नीति अपनाई दृढतापूर्वक उभिनु पर्छ, उहाँले जोड दिनु भयो l

प्रवचनपश्चात् प्रतिष्ठानका अनुसन्धानकर्ता र प्राध्यापक सुवेदीबिच नेपालको अन्तर्राष्ट्रिय कूटनीतिका विविध आयाम र विषयमा अन्तरक्रिया भएको थियो ।