नीति अनुसन्धान प्रतिष्ठान तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूबिच छलफल सम्पन्न

October 19, 2022

मिति: कार्तिक २, २०७९

स्थान: नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय, नारायणहिटी, काठमाडौँ ।

मिति २०७९ कात्तिक २ का दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री मधु मरासिनी, सहसचिव द्वय श्री शिवादेवी दाहाल र महादेव पन्थ तथा उपसचिव श्री ज्ञान हरि घिमिरेले नीति अनुसन्धान प्रतिष्ठानको भ्रमण गरी कार्यकारी अध्यक्षसँग नीति अनुसन्धान प्रतिष्ठानको संस्थागत अवस्था तथा नीति अनुसन्धान सम्बन्धी विविध समसामयिक विषयमा विचार विमर्श गर्नुभयो l

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष उप्रेतीले प्रतिष्ठानको संस्थागत विकास तथा यसको नीति अनुसन्धान सम्बन्धी रणनीतिक योजना लागू गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट आवश्यक सहयोगको लागि अनुरोध गर्नुभयो l प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री मधु मरासिनीले नीति अनुसन्धान प्रतिष्ठानले गरेका कामको सराहना गर्दै अनुसन्धानमा लगानी गर्ने मुलुकहरू तीव्र विकासतर्फ अघि बढेको र अनुसन्धानमुखी विकास अहिलेको आवश्यकता भएको तथ्यलाई कसैले नकार्न नसक्ने भन्दै नीति अनुसन्धान प्रतिष्ठानलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

अध्यक्षको कार्यालयमा आयोजित भेटघाटपछि सचिव मरासिनी तथा उहाँको टिमले नीति प्रतिष्ठानका अन्य कर्मचारीहरूसँग पनि छोटो परिचयात्मक छलफल गरेको थियो l छलफलमा प्रतिष्ठानले गरेका काम, तिनको परिणाम तथा प्रतिष्ठानको कामलाई अझ प्रभावकारी बनाउन आवश्यक स्रोत र सहयोगको बारेमा छलफल गरिएको थियो l

प्रतिष्ठानले मूलतः निम्न पाँच वटा विषयलाई प्राथमिकतामा राखी सम्बोधन गरिने वातावरण बनाइदिन सचिव मरासिनी तथा उहाँको टिमलाई अनुरोध गरेको थियो l

  • नीति अनुसन्धान प्रतिष्ठानको प्रभावकारी परिचालनको लागि यसको सङ्गठनात्मक संरचना, जनशक्तिको स्वरूप, कार्य विभाजन तथा कार्य विवरण आदिसहितको सङ्गठन तथा व्यवस्थापन अध्ययन (O & M Survey) गर्न आवश्यक भई प्रतिष्ठानको तर्फबाट सुरु गरिएको प्रक्रिया अघि बढाउन पहल गरिदिने ।
  • स्थापनादेखि ६ करोडमा सीमित प्रतिष्ठानको बजेटलाई बढाई कम्तीमा गत वर्ष बजेट छलफलको क्रममा भनिए जति (११ करोड) हुने व्यवस्थाका लागि आवश्यक पहलको लागि अनुरोध ।
  • प्रतिष्ठानका लागि छुट्टै बजेट उप-शीर्षक कायम गर्न सहयोगको लागि अनुरोध ।
  • प्रतिष्ठानको स्थापना भएको दिन – आश्विन १० गते – लाई राष्ट्रिय नीति दिवसको रूपमा घोषणा गर्न २०७८ कार्तिक १ मा प्रधान मन्त्रीज्यूलाई सम्बोधन गरी पठाइएको पत्र तथा तत्पश्चात्त् मुख्य सचिवज्यूलाई सम्बोधन गरी पठाइएका पत्रहरूमा अनुरोध गरिएअनुरूप आश्विन १० गतेलाई राष्ट्रिय नीति दिवसको रूपमा घोषणा गर्ने कार्यमा आवश्यक पहल गरिइदिनका लागि अनुरोध ।
  • प्रतिष्ठानसँग आफ्नै लेखा अधिकृत छैन । यसका कारण बेला-बेला कर्मचारीको तलबलगायत नियमित भुक्तानी, दैनिक हिसाब किताबको फरफारख तथा आर्थिक प्रतिवेदन तयारीमा ठुलो समस्या पर्ने गरेको छ । अतः प्रतिष्ठानमा आफ्नै लेखा अधिकृत नियुक्ति गर्नेतर्फ पहल गरिदिन अनुरोध ।