नीति अनुसन्धान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय बीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर

April 18, 2021

नीति अनुसन्धान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय बीच २०७८ साल वैशाख ५ गते नीति अनुसन्धान र नवप्रवर्तनका क्षेत्रका विविध पक्षहरूमा आपसी सहकार्य गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।  

समझदारी अनुसार नीति अनुसन्धान, अनुगमन तथा मुल्यांकन, सार्वजनिक नीति र सम्बन्धित विषयहरूमा सम्वाद, संयुक्त अनुसन्धान र प्रकाशनको प्रवर्द्धन, विद्यार्थीहरूका लागि इन्टर्नशिप र अनुसन्धान अवसर, राष्ट्रिय महत्वका विषयहरूमा स्नातकोत्तर तह देखि विद्यावारिधि तहसम्म अनुसन्धान सहयोग, प्राज्ञिक स्रोतहरूको आदान-प्रदान, सम्बन्धित समसामयिक विषयहरूमा सेमिनार, गोष्ठी तथा छलफलहरूको आयोजना  लगायत विश्वविद्यालयको सार्वजनिक नीति तथा व्यवस्थापन कार्यक्रममा आपसी सहयोग जस्ता विषयहरूमा सहकार्य गर्ने समझदारी भएको हो । सूचना तथा स्रोतहरूको निरन्तर आदान-प्रदान, साझा चासोका विषयहरू र सिकाई सत्रहरूमा सहभागिता, नीति अनुसन्धान प्रतिष्ठानको सार्वजनिक नीति सम्वाद र सार्वजनिक नीति स्रोत केन्द्रमा प्राविधिक सहयोग लगायतका तरिका मार्फत सकहार्य गरिने विषय समझदारीमा छ भने धेरै समय र वित्तीय स्रोत लाग्ने अनुसन्धान परियोजनाहरूमा भने छुट्टै सम्झौता हुनेछन् ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्मा र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो भने प्रतिष्ठानका तर्फबाट १० सदस्यीय अनुसन्धान टोली र विश्वविद्यालयका तर्फबाट  २० जना प्राध्यापक, प्राज्ञ र अनुसन्धानकर्ताहरूको समेत उपस्थिति थियो ।