निर्वाचन प्रणाली सुधारसम्बन्धी सम्झौतामा हस्ताक्षर

December 18, 2020

०३ पुष २०७७
प्रतिष्ठानले नेपाल ल क्याम्पससँग निर्वाचनप्रणाली सुधारसम्बन्धी अनुसन्धान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यस अनुसन्धानको मुख्य उद्देश्य नेपालको विद्यमान निर्वाचन प्रणालीका संस्थागत, विधि, प्रक्रिया, संयन्त्र, कार्यान्वयन र व्यवस्थापन सम्बन्धमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन व्यवस्थापक र विज्ञलगायतका सरोकारवालाका अनुभव र धारणा एवं सान्दर्भिक विषयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी प्रणालीगत र व्यवस्थापकीय सुधारको लागि नीति सिफारिश गर्नु हो ।
पूर्व मुख्य निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती प्रमुख अन्वेषक र नेपाल ल क्याम्पसका सहायक प्राध्यापक तेजमान श्रेष्ठ, प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा शासकीय प्रबन्ध तथा सार्वजनिक सेवाप्रवाह समूहका संयोजक डा. मुक्तिराम रिजाल र राजनीतिक तथा सामाजिक मामिला समूहका संयोजक मधुप्रसाद रेग्मी सहअन्वेषक रहनु भएको छ ।
अनुसन्धानको सहज सञ्चालनका लागि प्रतिष्ठानका कार्यकारी अध्यक्षको संयोजनमा नेपाल ल क्याम्पसका प्रमुख डा. डी. एन. पराजुली, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, निर्वाचनविद् डा. गोपालकृष्ण सिवाकोटी, निर्वाचन आयोगका सचिव देव कुमारी गुरागाईं, कानूनका प्राध्यापक डा. लक्ष्मीप्रसाद मैनाली र डा. शशी अधिकारी रहेको एक अनुसन्धान सल्लाहकार समितिको व्यवस्था गरेको छ ।
यो अनुसन्धान सम्झौता नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती र कार्यवाहक कार्यालय प्रबन्धक तथा सूचना एवम् ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. मुकुन्द कट्टेल र नेपाल ल क्याम्पसका तर्फबाट क्याम्पस प्रमुखडा. डी. एन. पराजुली र सहायक प्राध्यापक तेजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।