खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय नीति २०७८ उपर सुझावका लागि संवाद सम्पन्न

January 7, 2022

मिति: पुष २३, २०७८

स्थान: नीति अनुसन्धान प्रतिष्ठानको सभाहल, सानो गौचरन, काठमाडौँ

कार्यक्रमको उद्देश्य:

मौजुदा खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिको समीक्षा गरी आधारभूत खानेपानी तथा स्वच्छता सुविधाको लागि नेपाल सरकारले मस्यौदा गरिरहेको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रीय नीतिमा सुझाव लिने यस संवादको उद्देश्य थियो। यो संवाद खासगरी निम्न तीन प्रश्नहरूमा केन्द्रित रही सञ्चालान भएको थियो:

  • नेपालको मौजुदा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी नीतिहरूमा सुधार गर्नुपर्ने विषयहरू के हुन सक्छन्?
  • सहरी, ग्रामीण र राष्ट्रीय खानेपानी आपूर्ति नीतिहरूलाई कसरी एकीकृत गर्ने? र
  • खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालनमा देखिएका समस्या तथा व्यवधानहरूबारे जानकारी लिने ।

कार्यक्रम संचालन विधी:

कार्यक्रममा सहभागीहरूको स्वागत गर्दै नीति अनुसन्धान प्रतिष्ठान आर्थिक तथा पूर्वाधार नीति अध्ययन केन्द्रका अनुसन्धानकर्ता डा. राजेन्द्र खनालले कार्यक्रमको पृष्ठभूमी तथा उद्देश्यबारे खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा नेपालको संवैधानिक व्यवस्था, रणनीति र सङ्घीय परिवेशमा नेपालले गर्नुपर्ने आवश्यकताबारे दिनुभएको सङ्क्षिप्त प्रस्तुति पश्चात् प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले प्रतिष्ठानकोको उद्देश्य, मूल मान्यताहरू, कार्यादेश, प्रतिष्ठानले सम्पन्न गरेका कार्यहरू, नीति अनुसन्धान गर्ने प्रतिष्ठानको शैली तथा आधारबारे सहभागीहरूलाई जानकारी दिनुभएको थियो। नेपाल सरकार खानेपानी मन्त्रालयका सहसचिव तथा खानेपानी, सरसफाइ तथा स्वच्छता नीति निर्माण संयोजक मीना श्रेष्ठले मौजुदा खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिको सबल पक्ष, कमीकमजोरी, अवसर र चुनौति सहित नयाँ नीति निर्माण गर्नुपर्ने कारणबारे केन्द्रित भई दिनुभएको प्रस्तुति तथा सोही मन्त्रालयका वरिष्ठ विभागीय इन्जीनियर योगेन्द्र चित्रकारको मस्यौदा खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०७८ को रूपरेखा र सो मस्यौदा नीतिले अपनाएको रणनीतिबारेको छोटो प्रस्तुति पश्चात् सहभागीहरूबिच छलफल चलेको थियो भने प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले छलफलबाट प्राप्त सुझावहरूलाई एकीकृत गरी सम्बन्धित मन्त्रालयमा प्रमाणमा आधारित सिफारिस गर्ने प्रतिवद्धता जनाउदै र सहभागी सबैलाई धन्यवाद ज्ञापन दिंदै कार्यक्रमको समापन गर्नुभएको थियो ।   

वक्ताहरूको धारणा:

कार्यक्रममा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रञ्‍जित ओझाले नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिको पृष्ठभूमीबारे जानकारी दिनुभयो भने खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा सामुदायिक सहभागिता, आर्थिक सहयोग तथा पूर्वाधारको विश्लेषण हुनुपर्ने र मौजुदा नीतिको कमीकमजोरी बारे थप विश्लेषण हुनुपर्ने बताउनुभयो। सहरी, ग्रामीण र राष्ट्रीय खानेपानी आपूर्ति नीतिहरूलाई एकीकृत गर्नुपर्ने उहाँको धाराणा थियो । विश्व स्वास्थ्य संगठन, नेपालका सुदनराज पन्थीले स्वास्थ्य क्षेत्रका पदधिकारी, सहरी योजनाकार लगायत अन्य सरोकारवालाहरूसँग पनि यो विषयमा छलफल हुनुपर्ने भन्दै नीति अनुगमन औजारको प्रयोग गरी नीतिको अनुगमन हुनुपर्ने र नेपालका सबै तहका सरकारहरूबीच समन्वय आवश्यक हुने बताउदै जलवायु परिवर्तनलाई ध्यानमा राखी सोही अनुसारको खानेपानी सुरक्षा योजना आवश्यक रहेको बताउनुभयो । यूएनहाबिटाट नेपालका सुधा श्रेष्ठले यस क्षेत्रमा खासखास विषयमा छुट्टाछुट्टै नीति आवश्यक रहेको र एउटा मात्र नीतिले काम नगर्ने बताउदै स्थानीय तहहरूको क्षमता, स्रोत र पूर्वाधारको आधारमा उनीहरूले आफ्नै किसिमका खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी नीति बनाउनुपर्ने, यी क्षेत्रमा काम गर्ने सबै निकायहरूको संस्थागत क्षमता बढाउनुपर्ने, नयाँ बन्ने नीति तथ्यमा आधारित बन्नुपर्ने तथा यसमा अनुगमनको पाटो बलियो हुनुपर्ने बताउनुभयो। ढल र गैर-ढल फोहोर व्यवस्थापनको लागि छुट्टै नियामक निकाय रहनुपर्ने समेत उहाँको राय रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिंग अध्ययन संस्थानका विष्णु प्रसाद पाण्डेले मौजुदा नीतिको कमी र सबल पक्षको विश्लेषण गरी नयाँ बन्ने नीतिमा समयसीमा, लक्ष्य तथा परिसूचक, जिम्मेवारी र कार्ययोजना समेत समावेश गर्नुपर्ने बताउनुभयो भने यस नीतिमा नियमित सचेतना र संवादको प्रावधान रहनुपर्ने राय दिनुभयो। पूनर्जागरण समाज नेपालका मदनबहादुर थापाले नीति कार्यान्वयन कोष रहनुपर्ने र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्यांक थप मजबुत बनाउनुपर्ने बताउनुभयो ।

वाटरएड नेपालका आनन्द गौतमले पालिका तहहरूको समन्वय थप प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो भने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालका राजेन्द्र अर्यालले मौजुदा नीतिको कमीकमजोरीको सघन विश्लेषण गरी सोबाट प्राप्त निचोडको आधारमा नयाँ नीति बन्नुपर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका प्रकाश पोख्रेलले अब बन्ने नीतिले तथ्यांक तथा सूचना अनुगमन गर्ने संयन्त्रको समेत व्यवस्था गर्नुपर्ने राय राख्नुभयो भने पद्मकन्या क्याम्पसका भगवती सेढाईले खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमहरूमा खानेपानी सुरक्षा योजना रहनुपर्ने र खानेपानीजन्य कारणबाट भएका मृत्युको छुट्टै अभिलेखीकरण हुनुपर्ने बताउनुभयो। एकीकृत सहरी विकास केन्द्रका द्रोणप्रसाद कोइरालाले पूर्वाधार तथा भवन निर्माणको बेलामा नै खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी विषय प्राथमिकतामा पर्नुपर्ने र यो क्षेत्रको कार्यक्रमहरू एकीकृत रूपमा सम्पादन गरिनुपर्ने बताउनुभयो। गैरसरकारी संस्था महासंघ नेपालका हुम भण्डारीले नीति मस्यौदा सम्भव भएसम्म सबै सरोकारवालाहरूबीच छलफल हुनुपर्ने तथा नीति कार्यान्वयनको लागि स्थानीय तहसम्म नै योजना रहनुपर्ने बताउनुभयो ।

सोपहेनका अनिलभद्र खनालले नयाँ बन्ने नीति नेपालले हस्ताक्षर गरेका अन्तराष्ट्रीय प्रतिवद्धता अनुरूप हुनुपर्ने बताउदै ठोस तथा तरल फोहोर व्यवस्थापनका लागि जग्गाको व्यवस्थाको बारेमा समेत नयाँ नीतिले सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाल वाटर फोर हेल्थका उमेश पाण्डेले स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारहरूबिच समन्वय हुने गरी नयाँ नीति बन्नुपर्ने भन्दै नयाँ नीतिको तात्कालिक तथा दीर्घकालिन उद्देश्यहरू रहनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा उठेका साझा सवाल/सुझावहरू:

  • नयाँ बन्ने खानेपानी, सरसफाइ र स्वच्छता नीतिले सामुदायिक सहभागीतामा जोड दिनुपर्ने,
  • पानीको स्रोत संरक्षण, गुणस्तर र सरसफाइमा जोड दिनुपर्ने,
  • खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार र आवश्यक क्षमता विकासलाई समेट्नुपर्ने,
  • सबै सरकारहरूबिच समन्वय रहने प्रावधान रहनुपर्ने, अनुगमन र सुशासनमा ध्यान दिनुपर्ने
  • जलवायु परिवर्तनसँग जुध्नसक्ने नीति बन्नुपर्ने,
  • खानेपानी, सरसफाइ र स्वच्छता कोषको प्रावधान रहनुपर्ने,
  • खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी तथ्यांक व्यवस्थापनमा जोड दिनुपर्ने।  

सहभागीहरू:

क्रसनामप्रतिनिधित्व गर्ने निकाय/कार्यालय/संस्था
अनिल भद्र खनालसोपहेन
उमेश पाण्डेनेपाल वाटर फोर हेल्थ
प्रकाश घिमिरेत्रिभुवन विश्वविद्यालय
कपिल जोशीखानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल
यशमान कर्माचार्यएकीकृत सहरी विकास केन्द्र
द्रोणप्रसाद कोइरालाएकीकृत सहरी विकास केन्द्र
विष्णुप्रसाद पाण्डेइन्जिनीयरिंग अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय
श्रेया बजिमयनेपाल विकास अनुसन्धान प्रतिष्ठान
मदन बहादुर थापापुनर्जागरण समाज, नेपाल
१०आनन्द गौतमवाटरएड नेपाल
११मीना श्रेष्ठसहसचिव, खानेपानी मन्त्रालय
१२सुधा श्रेष्ठयूएन-हाबीटाट
१३कृष्णहरि जीसीएसएनभी-नेपाल
१४भोला शिवाकोटीईकार्ड्स् नेपाल
१५सुदनराज पन्थीविश्व स्वास्थ्य संगठन नेपाल
१६राजेन्द्र अर्यालखानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल
१७रंजित ओझाखानेपानी तथा ढल व्यवस्थापन विभाग
१८योगेन्द्र चित्रकारवरिष्ठ विभागीय इन्जिनीयर, खानेपानी मन्त्रालय
१९भगवती सेढाईपद्मकन्या क्याम्पस
२०हुम भण्डारीगैरसरकारी संस्था महासंघ, नेपाल
 प्रतिष्ठानका अनुसन्धानकर्ताहरू