कृषिमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी नीति सम्वाद

March 15, 2021

०२ चैत २०७७
प्रतिष्ठानले २०७७ साल चैत २ गते कृषकहरूका पेसागत सङ्घ गठन, कृषिविज्ञ, सम्बन्धित मन्त्रालयका अधिकारी संलग्न गरी कृषिमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सम्वाद आयोजना गरेको थियो । सम्वादबाट सो विषयमा सरोकारवालाहरूको चासो तथा अभिमत बुझ्ने र सोहीअनुरूप नीति अनुसन्धानको विषयसमेत पहिचान गर्ने उद्देश्य राखिएको थियो ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले सहजीकरण गर्नुभएको छलफलमा अर्थविद् श्री केशव आचार्यले उक्त विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो भने तत्पश्चात घनीभूत छलफल भएको थियो ।
सहभागीहरूले कृषिमा वैदेशिक लगानी सम्बन्धमा सुविचारित र सन्तुलित किसिमले निर्णय लिन सुझाव दिँदै प्रत्यक्ष लगानी स्पष्ट रूपमा चाहिन्छ वा चाहिँदैन भन्दा पनि नेपालको खाद्य सम्प्रभुतासम्बन्धी संवैधानिक प्रावधानको ख्याल गर्नुपर्ने विचारहरू व्यक्त गर्नुभएको थियो । उहाँहरूले वैदेशिक लगानी कृषिसम्बन्धी प्रविधि तथा पूर्वाधारमा भने उपयोगी हुने विचार व्यक्त गर्नुभएको थियो ।
लगभग सबै सहभागीहरूले कृषिमा प्रत्यक्ष लगानी भित्र्याउनुपूर्व बृहत् अध्ययन आवश्यक रहेको, कृषि क्षेत्रको वृद्धि र प्रगतिमा कसैको विमति नभएको तर वैदेशिक लगानीले यस क्षेत्रमा पार्ने दूरगामी प्रभावबारे अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित भई निर्णय लिनुपर्ने सुझाव दिनुभयो ।