इन्जिनियरिङ अध्ययन संस्थान तथा नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

April 24, 2022

मिति: २०७९ वैशाख ९
स्थान: नीति अनुसन्धान प्रतिष्ठानको कार्यालय, नारायणहिटी

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुर तथा नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, काठमाडौँबिच सार्वजनिक नीति, विकास, प्रविधि र अनुसन्धानका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने उद्देश्यका साथ एक समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ l

आआफ्ना संस्थाहरूका नियमहरूको अधीनमा रही यो समझदारी पत्रअन्तर्गत पूर्वाधार विकास क्षेत्रका निम्न विधा र क्षेत्रमा यी दुई संस्थाले सहकार्य साझेदारी गर्ने छन्: सार्वजनिक नीतिसम्बन्धी सान्दर्भिक अनुसन्धानहरू; पूर्वाधार विकास क्षेत्रसम्बन्धी नीतिहरूमा प्राज्ञिक संवाद; पूर्वाधार विकाससम्बन्धी अनुसन्धान, प्रकाशन, प्रसार र जनपहुँच; वैज्ञानिक सभा सम्मेलन; संस्थागत अनुसन्धानको क्षमता विकास; पूर्वाधार विकास क्षेत्रको अनुसन्धान-सूचना, तथ्याङ्क, पुस्तकालय तथा बौद्धिक सम्पत्तिको परस्पर र सार्वजनिक उपयोगिताका लागि आदानप्रदान; पूर्वाधार विकास क्षेत्रको अनुसन्धान गुणस्तर, मानक र आचारसंहिताको संवर्द्धन; पूर्वाधार विकास क्षेत्रको प्राज्ञिक अनुसन्धान र नीति अनुसन्धानको संयोजन र नवप्रवर्तन र पूर्वाधार विकास क्षेत्रका राष्ट्रिय महत्त्वका अन्य कार्यहरू l

आवश्यकता अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका अनुसन्धान केन्द्र र आङ्गिक क्याम्पससँग छुट्टै सम्झौता, लिखित सहमति वा पत्राचार गरी पूर्वाधार विकास क्षेत्रका सहकार्यहरू सञ्चालन गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।

हाललाई पाँच वर्षका लागि मान्य हुने उक्त समझदारी पत्रमा नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थानका तर्फबाट प्राध्यापक डा शशिधर राम जोशीले हस्ताक्षर गर्नु भएको छ l