अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति सम्बन्धमा अभिमुखीकरण

March 24, 2021

११ चैत २०७७
प्रतिष्ठानका अनुसन्धानकर्तालाई सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट हुने नेपालको स्तरोन्नति सम्बन्धी विषयमा प्रतिष्ठानको कार्यालयमा आधा दिने अभिमुखीकरण कार्यक्रम गत चैत ११ गते सम्पन्न गरियो । संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव एवम् कम विकसित, भूपरिवेष्ठित तथा सानाटापु राष्ट्रका प्रतिनिधि ज्ञानचन्द्र आचार्यबाट सो अभिमुखीकरण कार्य सम्पन्नभएको थियो ।
दोस्रो विश्वयुद्धपछि उपनिवेशको विघटनकै क्रममा सुरू भएको अतिकम विकसित मुलुकको अवधारणा र सन् २०६० पछि विश्वले गरेको प्रगति तथा प्राप्त उपलब्धिबारे छलफल गर्दै ज्ञानचन्द्र आचार्यले नेपालको स्तरोन्नतिलाई एक अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । कुनै पनि देश अतिकम विकसित मुलुकको रूपमा सधैँ रहिरहन नचाहने तर स्तरोन्नतिपश्चात फेरि पूर्ववत् अवस्थामै फर्किने परिस्थिति सृजना हुन नदिनका लागि नेपाललगायत सम्बन्धित सबै राष्ट्रहरूले नीतिगत तथा संरचनागत परिवर्तन गर्नुपर्ने उहाँको तर्क थियो ।
नेपालको स्तरोन्नतिबारे थप स्पष्ट पार्दै आय, मानव संसाधन र आर्थिक तथा वातावरणीय तीन मापदण्डमध्ये पछिल्ला दुई मापदण्ड नेपालले पूरा गरेकाले सन् २०२१ को २२ देखि २६ सम्म चलेको राष्ट्रसङ्घको विकास नीतिसम्बन्धी समितिको निर्णयले नेपाललाई पाँच वर्षको तयारी अवधि दिई सन् २०२६ देखि स्तरोन्नति गर्ने निर्णय गरेको बताउनुभयो । राष्ट्रसङ्घीय महासभा र आर्थिक तथा सामाजिक परिषद्बाट विकास नीति समितिले अतिकम विकसित मुलुकहरूको हरेक तीन वर्षमा सामीक्षा गरी सो समूहमा राख्ने वा स्तरोन्नति गर्ने सम्बन्धमा सिफारिस गर्ने कार्यादेश प्राप्त गरेको छ ।
स्तरोन्नति भएमा नेपालले अन्तर्राष्ट्रिय तहमा र विकास सहयोगको रूपमा पाउँदै आएको सहुलियतपूर्ण व्यवहार कटौती हुने हुनाले अतिकम विकसित मुलुकको समूहमा नै रहिरहनु पर्दछ भन्नेहरूका विचारसँग असहमति जनाउँदै उहाँले स्तरोन्नतिपश्चात हुने सम्भावित कटौतीलाई सम्बोधन गर्ने गरी अन्य मार्ग प्रशस्त हुने विचार व्यक्त गर्नुभयो ।